चितवन । माडी नगरपालिकाले छात्राहरुलाई कक्षा १२ सम्म निशुल्क पढाउने भएको छ । दुई छोरी मात्र भएकालाई परीवारलाई प्रोत्साहनस्वरुप दुवै छात्राहरुलाई कक्षा १२ सम्म निशुल्क पढाउने व्यवस्था गर्न लागिएको हो ।

बुधबार नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख ठाकुर ढकालले दुई छोरीहरु मात्रै भएका परीवारका छोरीहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गरिएको बताए । तर त्यो सुविधाका लागि माडीमै रहेका कलेजहरुमा अध्ययन गर्नुपर्ने उनले स्पष्ट पारे ।

उनले भने– ‘दुई छोरी मात्रै जन्माई बन्ध्याकरण गर्ने दम्पतीलाई विशेष सम्मान गर्ने र छोरीहरुलाई माडी नगर भित्र प्लस टु सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाइने छ ।’

बुधबार पाचौँ नगर सभामा नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख ताराकाजी कुमारी महतोले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरेकी थिइन् ।

उपप्रमुख महतोले आर्थिक वर्ष २०७७–७८ को लागि ८८ करोड ७० लाख ३८ हजार बजेट विनियोजन गर्दै शिक्षाका लागि २१ करोड ९३ लाख ९२ हजार विनियोजन गरिएको जानकारी दिइन् ।

नगरले शिक्षाको विकास नै वास्तविक विकास हो भन्ने नारासहित माडीलाई शैक्षिक हब बनाउनेगरी शैक्षिक पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधारमा आवश्यक बजेट विनियोजन गरेको उपप्रमुख महतोले बताइन् ।

छात्राहरुका लागि निशुल्क सेनेटरी प्याडको व्यवस्था, अति विपन्न बालबालिकाका लागि निशुल्क शिक्षा र विज्ञान शिक्षा कार्यक्रम सञ्चालन गरिने उनले बताइन् ।

प्रतिकृया दिनुहोस्