सिमकोट । शिक्षा तथा मानव स्रोत केन्द्रले असार १ गतेबाट भर्चुअल विधिबाट शिक्षण सिकाइ सुरु गरेपनि हुम्लाका अधिकांश विद्यार्थी छुटेका छन् । अधिकांश विद्यार्थीको प्रविधि(टेलिभिजन र रेडियो)मा पहुँच नहुँदा उनीहरु भर्चुअल शिक्षा लिनबाट बञ्चित हुनुपरेको हो ।

सिमकोट गाउँपालिकाको बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा दशमा अध्ययनरत विद्यार्थी प्रतिक भण्डारीले प्रविधिको पहुँच नहुँदा आफुहरु सरकारले शुर गरेको टेलिभिजन र रेडियो कक्षा लिन नपाएको गुनासो गरिन् । आफ्ना धेरै साथीहरु त्यो कक्षा लिन असमर्थ भएको उनको भनाइ थियो ।

सदरमुकामका विद्यालय र केही हुने खानेका छोराछोरीले टेलिभिजनबाट हुने शिक्षा प्राप्त गर्न सकेपनि धेरै त्यो पहुँच भन्दा बाहिर रहेको कारण अन्य विकल्प दिन भण्डारीले आग्रह गरिन् ।

यस्तै, अभिभावक मधु बस्नेतले हिमाली जिल्लाका लागि टेलिभिजन शिक्षा उपयोगी नभएको भन्दै हुनेखानेलाई सहज भएपनि हुँदा खाने विद्यार्थी यसबाट बञ्चित भएका बताइन् ।

घरमा टेलिभिजन हुनेले असार १ गतेबाटै पठन–पाठन सुरु गरेको भएपनि सबैको घरमा टेलिभिजन नहुँदा नहुने विद्यार्थीहरु बिच विभेद भएको उनले आरोप लगाइन् । ‘कि यो विधि बन्द गर्नुपर्यो होइन भने सबैलाई समेट्ने विधिको प्रयोग गर्नुपर्यो’– बस्नेतले भनिन् । जिल्लामा पछिल्लो शिक्षण पद्धति बारे धेरैलाई जानकारी पनि नभएको अवस्था रहेको उनले दाबी गरिन् ।

मानसरोवर नमूना माविका प्रधानाध्यापक अमर बहादुर शाहीले टेलिभिजनबाट शिक्षण गर्ने पद्धति हुम्लाका लागि उपयोगी नभएको बताए । पछिल्लो भर्चुअल शिक्षण पद्धतिबाट हुम्लाका असी प्रतिशत बढी विद्यार्थी छुटेको उनले स्पष्ट पारे ।

हुम्ला जस्ता जिल्लाका लागि रेडियो शिक्षण विधि केही रुपमा उपयोगी देखिएको कारण स्थानीय एफएमको रिले स्टेशन स्थापना गरी विद्यार्थीको हातहातमा रेडियो दिने हो भने यसबाट पठन–पाठन गर्न सकिने उनको सुझाब छ ।

प्रतिकृया दिनुहोस्