काठमाडौं । सरकारले यसैवर्ष भित्र सवै सार्वजनिक माध्यमिक विद्यालय र क्याम्पसमा सूचना प्रविधि प्रयोगशाला र उच्च गतिको इन्टरनेट सेवा पुर्याइने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विधुतीय शिक्षण सामग्री उत्पादन गरी अनलाइन शिक्षण गर्ने व्यवस्था मिलाउने सरकारको योजना रहेको बताइन् ।

विद्यालय तहमा विज्ञान शिक्षणलाई प्रभावकारी र रुचीकर बनाउन बैज्ञानिक शिक्षण विधिलाई जोड दिने सरकारको योजना रहेको छ । साथै, विज्ञान अध्ययन केन्द्रहरुको स्थापना गरिने जनाइएको छ ।

प्राविधिक जनशक्तिको अभाव हटाउन प्राविधिक शिक्षाको विस्तार गरिने राष्ट्रपति भण्डारीले बताइन् । ६०७ स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षाको पहुँच विस्तार गर्न सरकार सफल भएकोसमेत उनले बताइन् ।

आगामी तीनवर्षमा सबै सामुदायिक विदालय तथा प्राविधिक शिक्षालयहरुलाई पूर्वाधार सम्पन्न शिक्षण संस्थाकोरुपमा विकास गर्ने सरकारको कार्यक्रम रहेको छ ।

विद्यालय तहको पाठ्यक्रममा नेपालको गौरव, संस्कृति, सभ्यता र मूल्यमान्यता राष्ट्रिय एकताको सम्बद्र्धन एवं नागरिक कर्तव्यबोधका विषयहरु समेत समावेश गर्ने सरकारको कार्यक्रम रहेको भण्डारीले बताइन् ।

पाँच वर्ष मुनिका बालबालिकाहरुको सर्वागीण विकासका लागि स्थानीय तहमा प्रारम्भिक बालविकास कार्यक्रम सञ्चालन गर्ने सरकारको कार्यक्रम देखिन्छ ।

२०७७ जेष्ठ २ गते १७:१९मा प्रकाशित

प्रतिकृया दिनुहोस्