काठमाडौं  । परीक्षा र नतिजाकै बहसमा अल्झिदा विद्यार्थीको सिकाइ अनिश्चित बन्ने भन्दै बागमती प्रदेश बालबालिकाको सिकाइ निरन्तरतामा केन्द्रित देखिएको छ ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले परीक्षा अहिलेको मूल मुद्दा नभएको भन्दै शिक्षण सिकाइ सुचारुमा आफूहरुको ध्यान केन्द्रित रहेको बताए ।  केही विषयका शिक्षण सिकाइ स्थानीय एफएम रेडियोमार्फत सञ्चालन गर्ने र स्थान र परिवेश अनुसार अनलाइन र अफलाइनमार्फत् सिकाइका अवसरहरु प्रदान गर्ने गरी प्रदेशले तयारी गरिरहेको उनले जानकारी दिए ।

शिक्षा पत्रकार समूहले आयोजना गरेको भर्चुअल प्रेस मिटमा बोल्दै मन्त्री दुलालले वैकल्पिक माध्यमबाट बालबालिकाको सिकाइ निरन्तरताको लागि संघीय र स्थानीय सरकारसँग समन्वय भइरहेको बताए ।

विभिन्न पक्षहरुसँगको छलफल र सुझाबका आधारमा प्रदेश भरीको शैक्षिक गतिविधिमा एकरुपमा गराउन साथै सिकाइ क्रियाकलापलाई निरन्तरता दिन पत्रचारमार्फत स्थानीय तहहरुसँग समन्वय गरिएको उनले जानकारी दिए ।

प्रदेश सरकारले निर्णय गरी वैकल्पिक माध्यमबाट भर्ना शुरु गर्न, विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहहरुलाई पत्राचार गरिएको मन्त्री दुलालले जानकारी दिए ।

उनका अनुसार पाठ्यपुस्तक ढुवानी र वितरणलाई सहज बनाउने, नियमित कक्षा सञ्चालन नहुँदासम्म बालबालिकालाई घरमै बसेर सिक्ने अवसर सुनिश्चित गर्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमबाट प्रशारण भइरहेको दूर शिक्षा कार्यक्रम तथा अन्य वैकल्पिक अनलाइन, अफलाइन  सिकाइका अवसरमा सहभागी हुने व्यवस्था मिलाउन पत्रचार गरिएको छ ।

यस्तै प्रदेशले केन्द्रबाट दूर शिक्षाको सामग्री ल्याएर विद्यार्थीसम्म पुर्याउन लागेको उनले स्ष्ट पारे ।

केन्द्र, प्रदेश र स्थानीय तहले आफ्नै तरिकारले दूर शिक्षा सञ्चालन गर्दा विद्यार्थीहरु अन्योलमा परेका भन्दै मन्त्री दुलालले त्यसमा एकरुपमा कायम गरिने बताए ।

अब संघीय, प्रदेश र स्थानीय सरकारले निश्चित–निश्चित विषय, समय र माध्यमबाट अध्ययन अध्यापनमा सहजीकरण गर्ने उपायहरुको अवलम्वन गर्न पनि प्रदेशबाट समन्वय अगाडि बढाइएको उनले जानकारी दिए ।

विद्यालयतहका सबै पाठ्यपुस्तक विद्यालयले नै व्यवस्थापन गरि विद्यार्थीको घरघरमा पुर्याउने तथा कक्षा ६ देखि १० सम्मका अङ्ग्रेजी, गणित र विज्ञान विषयका कक्षाहरु रुटिन मिलाएर स्थानीय एवं केन्द्रिय टेलिभिजनबाट सञ्चालन गर्ने तयारी भएको उनले सुनाए ।

अनलाइनको पहुँच सबैस्थानमा नपुगेको र यसका लागि चाहिने उपकरणको व्यवस्थापन सजिलो नभएकाले पुरै अनलाइन शिक्षामा जान नसकिने यसकालागि विभिन्न दूर शिक्षाका विधिहरु अपनाउनुपर्ने प्रदेशको दृष्टिकोण रहेको मन्त्री दुलालले स्पष्ट पारे ।

लकडाउन पछि दूगर्म र विकट क्षेत्र जहाँ बाहिरी व्यक्तिहरुको आगमन हुँदैन त्यस्ता स्थानहरु प्हिचान गरेर जिल्ला विपद व्यवस्थापन समितिसँगको समन्वय र स्वास्थ्य कार्यालयको सिफारिसमा  स्थानीय तहबाट विद्यालय खोली विद्यार्थी संख्याका आधारमा आलोपालो गरी अध्ययनअध्यापन गर्न सहजीकरण गर्ने प्रदेशको तयारी रहेको उनले बताए ।

२०७७ बैशाख १८ गते १७:०३मा प्रकाशित

प्रतिकृया दिनुहोस्