कोभिड १९ का कारण लकडाउन लम्बिदै जाँदा विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन विभिन्न विकल्पहरुको प्रयोग भईरहेका छन् । यस्तै विकल्पको खोजी गर्दै रोल्पाको एक गाउँपालिकाले एसईई दिने विद्यार्थीहरुलाई रेडियो वितरण गरेको छ ।

जिल्लाको लुंग्री गाउँपालिकाले एसईई लक्षित दूर शिक्षा रेडियो कार्यक्रम सञ्चालन गर्ने भन्दै विद्यार्थीहरुलाई रेडियो वितरण गरेको हो । रेडियो वितरणसँगैउक्त गाउँपालिकाले आफ्ना विद्यार्थीहरुलाई लक्षित गरि स्थानीय सामुदायिक रेडियो मार्फत दुरशिक्षा कार्यक्रम समेत सुरु गरिसकेको छ । हरेक दिन १ घण्टा अंग्रेजी विषयको दुर शिक्षा रेडियो कार्यक्रम संचालन भइरहेको गाउँपालिकाले जनाएको छ ।

एसइइ परीक्षाको तयारीमा रहेका विद्यार्थीहरु लकडाउनका कारण लामो समय देखी पठन पाठनमा सहभागि हुन नसकेको भन्दै रेडियो मार्फत दुरशिक्षा कार्यक्रम संचालन गरेको गाउँपालिका अध्यक्ष दुर्गावहादुर खड्काले जानकारी दिए । ‘एसईई तयारीमा रहेका विद्यार्थीहरुले लकडाउनको समयमा पनि दूर शिक्षामार्फत पठनपाठन गर्न पाउन भन्ने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेका हौं’– अध्यक्ष खड्काले भने ।

शैक्षिक सत्र २०७६ सालको एसइइ परीक्षा लुंग्री गाउँपालिकामा ७ वटा माध्यमिक विद्यालयका ३३५ जना विद्यार्थी सहभागि हुने तयारीमा छन । परीक्षाको अन्तिम तयारी स्वरुप परीक्षा केन्द्र पुगेका उनीहरु गत चैत्र ५ गते बेलुका सरकारले एसईई परीक्षा स्थगित गरेसँगै उनीहरु घर फर्किएका थिए ।

कोभिड १९ र यसले सिर्जना गरेको मनोवैज्ञानिक असर तथा लामो समयको लकडाउनले उनीहरुले पठनपानलाई समेत निरन्तरता दिन सकेका थिएनन । ‘दूर शिक्षाका लागि विद्यार्थीलाई मनोवैज्ञानिक रुपमा तयार गर्न हरेकको हात हातमा रेडियो हस्तान्तरण गरेको हौं’–अध्यक्ष खड्काले भने ।

लकडाउनले विद्यार्थी समुहगत रुपमा हिडडुल गर्न नमिल्ने भएकाले विद्यालयका प्रधानाध्यापकहरुलाई रेडियो हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुले सामजिक दुरी कायम गर्दै उक्त रेडियो हरेक विद्यार्थीको हात हातमा वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ ।

जिल्लामा यस अघि सत्प्रयास समूहले समेत जिल्लाका ७ वटा रेडियो र युट्यूव च्यानल मार्फत दूर शिक्षा कार्यक्रम संचालन गरिसकेको छ । अंग्रेजी, विज्ञान र गणित विषयको उक्त दुर शिक्षा कार्यक्रममा सत्प्रयास समूहमा आवद्ध युवाहरुले स्वयमसेवी ढंगले सञ्चालन गरेका थिए ।

२०७७ बैशाख १७ गते २१:३२मा प्रकाशित

प्रतिकृया दिनुहोस्