काठमाडौं । सरकारले संघीय संरचनासहितको नयाँ राष्ट्रिय पाठ्यक्रम प्रारुप जारी गरेको छ । विद्यालय तहको शिक्षा विद्यार्थी केन्द्रित बनाउन भन्दै प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मै प्रयोगात्मक कार्यको व्यवस्थासहित पाठ्यक्रम प्रारुप तयार पारिएको हो । नयाँ संविधान, शिक्षा ऐनको आठौं संशोधन, संघीय संरचना र कक्षा ११–१२ पनि विद्यालय शिक्षामा समाहित भएपछि नयाँ पाठ्यक्रम जारी गरिएको हो । २०७६ भदौ २० गते स्वीकृत भएसँगै यो कार्यान्वयनमा गएको छ ।

प्रारुपमा, आधारभूत शिक्षा (कक्षा ६–८) मा विद्यार्थीहरूलाई भाषा, गणित, विज्ञान तथा प्रविधि, सामाजिक तथा मानवमूल्य, वातावरण, जनसंख्या, स्वास्थ्य शारीरिक र स्थानीय विषयका सिकाइ क्षेत्रहरू नै प्रदान गरिने उल्लेख छ ।

स्थानीय आवश्यकतामा आधारित अध्ययनअन्तर्गत विद्यार्थीलाई मातृभाषा वा स्थानीयय कला, संस्कृति, सीप, इत्यादिमा आधारित विषयवस्तु समावेश गर्न सकिने छ । साधरण जीवनका लागि आवश्यक अन्तरवैयक्तिक सीपहरू, स्वसचेतना सिपहरू, समालोचनात्मक तथा सिर्जनात्मक सोचाइका सिपहरू, निर्णय गर्ने सिपहरू, सूचना प्रविधिसम्बन्धी सिपहरू र द्वन्द्व तथा तनाव व्यवस्थापनसम्बन्धी सिपहरू एकीकृत गरी पाठ्यव्रmम विकास गरिने छ । कक्षा ६ देखि ८ सम्मपनि  वार्षिक १ हजार २४ घण्टा पठनपाठन गर्नेगरी पाठ्यक्रम संरचना तयार पारिएको छ  ।

स्थानीय विषयअन्तर्गत मातृभाषा, स्थानीय कला, संस्कृति, ज्ञान, सिप, प्रविधि, पेसा तथा व्यवसाय अभिमुखीकरणसम्बन्धी विषयवस्तुसमेत समेट्न सकिने जनाइएको छ । यसतहमा साधरण शिक्षा तर्फ नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान तथा प्रविधि र सामाजिक अध्ययन मानवमूल्य शिक्षा विषयको वार्षिक पाठ्यघण्टा १६० घण्टाको र स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला ९६ र मातृभाषा तथा स्थानीय विषय को वार्षिक पाठ्यघण्टा १२८ रहनेछ ।

२०७६ माघ २४ गते २०:३६मा प्रकाशित

प्रतिकृया दिनुहोस्