काठमाडौं । कक्षा ११ को परीक्षा अब विद्यालयस्तरमै सञ्चालन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रियस्तरमै सञ्चालन गर्दै आएको परीक्षा विद्यालय स्तरमै सञ्चालन गर्ने निर्णय गरेको हो ।
शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कक्षा ११ को परीक्षा विद्यालयतहमै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गर्ने निर्णय गरिएको जानकारी गराएका छन् ।
विज्ञप्तिमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा असार १९ गते बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले कक्षा ११ को परीक्षा विद्यालयतहमै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गर्ने निर्णय गरेको हो ।
महामारीको विषम परिस्थितिको समसामयिक विश्लेषण र विद्यालय शिक्षाको दीर्घकालिन दिशा समेतलाई ध्यानमा राखी उक्त निर्णय गरिएको जनाइएको छ ।
यसअघि एकपटककका लागि मात्रै कक्षा ११ को परीक्षा विद्यालय तहबाट गरिनेखालका खबर सार्वजनिक भएको भएपनि विज्ञप्तिमा अबदेखि कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन र प्रमाणिकरण विद्यालयतहबाटै हुने स्पष्ट पारिएको छ ।
यसअघि कक्षा १० को एसईई परीक्षा पनि यसपटक विद्यालयस्तरमै हुने निर्णय भएपनि आगामी वर्षहरुमा के हुने स्पष्ट थिएन । विज्ञप्तिमा एसईई परीक्षाका सन्दर्भमा भने केही बोलिएको छैन ।
हेर्नुहोस् शिक्षामन्त्रीको स्वकीय सचिवालयको विज्ञप्ति
प्रेस विज्ञप्ति
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ ले सिर्जना गरेको विषम परिस्थितिको कारणले शिक्षा क्षेत्र पनि प्रभावित भएको हामी सबैलाई सर्वविदितै छ । यो रोगको संक्रमण दिनानुदिन बढ्दै गएको परिप्रेक्षमा शैक्षिक सत्र सुरु हुन सकेको छैन भने विद्यालय तह देखि उच्च शिक्षा सम्मका परीक्षाहरु स्थगित भएका छन् ।
यस अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको पठन पाठन र सिकाईलाई विभिन्न माध्यम प्रयोग गरी सुचारु राख्ने तथा स्थगित भएका परीक्षाहरु सञ्चालन गर्ने सम्बन्धमा आवश्यक र उपयक्त निर्णय लिदै आइरहको कुरा यहाँहरु सबैलाईलाई जानकारी नै छ । यसै सम्बन्धमा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा कक्षा ११ को परीक्षा, सिटिइभिटि र उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइलगायतका विषयमा भएका निर्णयहरु सवैको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ।
१. कक्षा १२ को बाह्य परीक्षा केन्द्रीयतहमा राष्ट्रिय परीक्षा बोर्डबाट हुने स्पष्ट कानूनी व्यवस्था रहेको भएपनि पाठ्यक्रम प्रारुप र पाठ्यक्रममा परिवर्तन समयमै नहुँदा कक्षा ११ मा पनि बाह्य परीक्षा केन्द्रीय तहबाटै सञ्चालन गर्दै आइरहेको थियो । महामारीको यस विषम परिस्थितिको समसामयिक विश्लेषण र विद्यालय शिक्षाको दीर्घकालिन दिशा समेतलाई ध्यानमा राखी २०७७ असार १९ गते माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले कक्षा ११ को परीक्षा विद्यालयतहमै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गर्ने निर्णय गरेको छ ।
२. उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुको सिकाइ निरन्तरताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारुप, २०७७ स्वीकृत गरी आवश्यक कार्यार्थ विश्वविद्यालय अनुदान आयोगमा पठाइ सकेको छ । साथै विश्वविद्यालय अनुदानआयोगले २०७७ असार १९ गते परिषदको बैठक बसी उक्त प्रारुपलाई निर्देशिकाको रुपमा विश्वविद्यालयहरुले कार्यान्वयनको लागी जारी गरिसकेको छ । यस प्रारुपले परम्परागत औपचारिक पद्धति अनुसार सञ्चालन भइरहेका विश्वविद्यालय तथा उच्च शिक्षाका संस्थाहरूका पठन पाठन, अनुसन्धान, परीक्षा र मूल्यांकनका सम्बन्धमा कोभिड–१९ का कारण सिर्जित अवरोध हटाउन उपयुक्त एवम् सान्दर्भिक वैकल्पिक व्यवस्था गरेको छ। त्यसैले सम्पूर्ण विश्वविद्यालय तथा उच्च शिक्षाका शिक्षण संस्थाहरुले यस प्रारुपलाई नीति निर्देशक दस्तावेजको रुपमा ग्रहण गरी बैलल्पिक पद्धतिबाट सिकाइ निरन्तरताका लागि आवश्यक र उपयुक्त तरिकाहरुको अवलम्बन गर्ने छन् ।
३. प्राविधिक तथा व्यावसायिक शिक्षामा सिकाइ निरन्तरता सम्बन्धमाः प्राविधिक शिक्षा तथाव्या व्यवसायिक तालिम परिषद् अन्तर्गत सञ्चालनमा रहेका बिभिन्न प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रममा अध्ययनरत विद्यार्थीको पठन पाठनमा आएको अवरोधलाई हटाउदै वैकल्पिक पद्धतिबाट प्रशिक्षण कार्य अघि बढाउन आवश्यक रहेको सन्दर्भमा २०७७ असार १९ गते माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को बैठकले वैकल्पिक पद्धतिबाट प्रशिक्षण सञ्चालन कार्यविधि, २०७७ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।
अन्तमा, उपर्युक्त निर्णयहरु कार्यान्वयनमा ल्याई शिक्षण, प्रशिक्षण, परीक्षा तथा मूल्यांकनमा देखिएको विद्यमान गतिरोध अन्त गर्ने कार्यमा सहयोग पुयाउन र आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण शिक्षक, प्रशिक्षक, प्राध्यापक, विद्यार्थी, अभिभावक, शैक्षिक व्यवस्थापक, सञ्चार जगत लगायत सरोकारवालाहरुमा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको सचिवालय हार्दिक अपील गर्दछ।
पुरन केसी
स्वकीय सचिव