नेपाल कम्युनिष्ट पार्टीका एक जना वरिष्ठ नेताले भने ‘प्राविधिक तथा व्यवसायिक शिक्षा र समाजवादी शिक्षा प्रयायबाची हुन’ । अर्का विद्यार्थी नेताले ‘सैद्धान्तिक शिक्षा बुर्जुवा शिक्षा हो र सीप भएको प्रयोगात्मक र व्यावसायिक शिक्षा समाजवादी शिक्षा हो’ भनी चर्को स्वरमा भाषण दिए स्रोेताले भरर ताली पड्काए ।
काँग्रेसका एक जना वरिष्ठ नेताले ‘समाजवादी शिक्षा होइन गरिखाने शिक्षा चाहिन्छ, समाजवादी शिक्षाले विद्यार्थीलाई उच्छृङ्खल बनाउँछ, सबैलाई माक्र्सवादी बनाउने भन्छ, यसले लोकतन्त्र मास्छ’ भनी दनक दिए त्यहाँ पनि पटटट ताली पड्काए । अर्का अति क्रान्तिकारी पार्टीका एक नेताले ‘यो समाज दलाल पूँजीवादी चरित्रको छ यहाँ समजवादी शिक्षा लागू हुन सक्दैन, सबै भन्दा पहिले समाजवादी राज्य व्यवस्था ल्याउनु पर्छ’ भनीे घेत्रो सुकाए यहाँ पनि जोडसँग ताली बज्यो ।
यी परस्पर विरोधी विचारले जनता भुलभुलैयामा परे अनि जहाँ पनि ताली ठोक्ने भए । यो अहिलेको मात्र सिनारियो होइन । दशकौंदेखि यस्तै चक्र चलिरहेको छ । नेताले खोक्ने, कार्यकर्ताले बोक्ने । तर दुबैले नबुझ्ने । के समाजवादी र प्राविधिक तथा व्यवसायिक शिक्षा प्रयायवाची हुन ? सैद्धान्तिक शिक्षा बुर्जुवा हो ? समाजवादी शिक्षा लागू गर्न समाजवाद कुर्नु पर्छ ? के समाजवादी शिक्षा लोकतन्त्र विरोधी हो ? यी प्रश्नको उत्तर खोज्न जरुरी छ ।
प्राविधिक तथा व्यवसायिक शिक्षा र समाजवादी शिक्षा एकै होइनन् । प्राविधिक शिक्षा हुँदैमा समाजवादी हुने भए स्वीट्जरल्याण्ड, दक्षिण कोरिया, फिनल्याण्ड समाजवादी हुन्थे । हाम्रो सिटिइभिटि समाजवादी शिक्षाको नमूना हुन्थ्यो । प्राविधिक तथा व्यवसायिक शिक्षा मूलतः पूँजीवादीहरुको प्राथमिकताको विषय हो । लेनिन् भन्छन्–पूँजीवादीहरु हातको विकास गर्न चाहन्छन् दिमागको होइन । सीप सिकाउन चाहान्छन् ज्ञान होइन । किन भने सिप सिके कम्पनीमा काम गर्छन्, अनि उत्पादन बढ्छ र मुनाफा त्यहि पुँजीवादीलाई हुन्छ । सीप भएकाले त श्रम वापत ज्याला पाउँछ । उसले अतिरिक्त मूल्यमा हिस्सा पाँउदैन । अहिले पनि पूँजीवादीहरु प्राविधिक तथा व्यवसायिक शिक्षाको नाममा गरिबमाथि राजनीति गर्दैछन् । यसो हेर्दा यो गरिबमुखी शिक्षा भए जस्तो लाग्छ । तर गरिबका दयाले होइन अतिरिक्त मुनाफाको लालचाले सीप सिकाउन खोज्छन् । छोटा अबधीका सीप सिकेर बजारमा गएकाहरु त्यहि पेशाबाट गुजरा चलाएका त छन् तर अपवाद बाहेक कोहि पनि मध्यम वर्गमा प्रवेश पाएका छैनन् ।
अर्कातिर किन धनाढ्यका छोरा छोरीले व्यावसायिक शिक्षा पढ्दैनन् ? किन गरिबले मात्रै यहि शिक्षा पढ्नु पर्ने ? त्यस्तै विद्यालयमा राम्रो पढ्न नसक्नेहरुले यहि क्षेत्रमा जाने परम्परा किन बस्यो ? किन कि वोड्युले भने जस्तो धनी परिवारको सास्कृतिक पूँजी र कोलम्यानले भने जस्तो सामाजिक पूँजीको कारण उनीहरुका बच्चा विद्यालयमा पनि राम्रो अंक ल्याउँछन् । उनीहरुलाई अगाडि जाने बाटो खुला गरिन्छ ।
पाउलो फ्रेरेले भने जस्तो भविष्यको आशा देखाइन्छ र उनीहरु माथिल्लो कक्षा तिर लाग्छन् । तर गरिबलाई छाक टार्ने सपना देखाइन्छ । तत्कालिक आम्दानीको लोभ देखाइन्छ । उसको सामाजिक र सास्कृतिक पूँजी पनि कमजोर हुन्छ जसको कारण छिटो श्रम बजारमा छिर्न प्रोत्साहन गरिन्छ । यो शिक्षाबाट विद्यार्थीले काम गरी जिविकोपार्जन गर्छ, बाच्न सक्ने हुन्छ तर धनी बन्न सक्दैन । यसले आफुना बालबच्चालाई सोचे जस्तो शिक्षा दिन सक्दैन र पूनः यसको परिवार छाक टार्ने चर्कमा भासिन्छ । फड्को मार्न सक्दैन । त्यसैले यो पूँजीवादी शिक्षा हो । पूँजीवादी शिक्षाले गरिबलाई बचाइ राख्ने तर स्तर उकास्न नदिने गर्छ ।
व्यवसायिक र प्राविधिक शिक्षा हुँदैमा त्यो पूँजीवादी हुन्छ भन्ने पनि होइन । यो त एउटा माध्यम मात्रै हो । समाजवादी शिक्षा एउटा प्रणाली हो । समाजवादी शिक्षालाई पूर्णतामा हेर्नु पर्छ, आंशिक होइन । नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा पुँजीवादी हो, समाजवादी होइन । यहाँ रुची र क्षमता अनुसार अध्ययन गर्ने अवस्था छैन । राज्यले एउटै प्रणाली बनाएर रोजेर क्षमता र रुची अनुसार अध्ययन गर खर्चको चिन्ता नगर भनेको छैन ।
स्वीट्जरल्याण्ड, फिनल्याण्ड पूँजीवादी देश हुन तर शिक्षामा समाजवादी मोडलसँग नजिक छन् । सबै भन्दा महङ्गो छ यो शिक्षा । गरिबकालागि छोटा अवधीका कार्यक्रम ल्याएको छ । तालीम पाए पछि ढोका बन्द छ । पैसा हुनेहरु माथिल्लो तहका प्राविधिक शिक्षा पढ्छन जुन अति महङ्गो छ । जहाँ गरिबले सपना समेत देख्दैन । गरिबका बच्चा पनि डाक्टर, इञ्जिनियर बन्ने क्षमता त थियो होला तर पैसा भएन, राज्यले वातावरण बनाएन त्यसैले यो पुँजीवादी भयो ।
अहिले विश्वबैँकले प्राविधिक शिक्षामा बढि लगानी गरेको छ । के विश्वबैँकमार्फत् अमेरीकालगायतका पूँजीवादी देशहरुले नेपालमा समाजवाद ल्याउन खोजेका हुन ? तीन महिने, छ महिने सीपविकास तालीम लिएर विदेश जान हौसाउनेहरु समाजवादका पक्षपाती हुन ? प्राविधिक सीप सिकेका तर समाजको प्रकृति, शोषणको स्वरुप, शोषकको चलाकी, श्रमको दोहन, असमान वितरणको अवस्था आदि प्रति चेत नहुने गरी दिइने सीपले वर्गीय मुक्तिमा योगदान गर्ला ?
नेपाली मौलिकताको खिलाफमा आयातित प्रविधिमात्रै सत्य हो भनी लादिएको सिपले नेपाली मौलिकता रहला ? मौलिकता हराए कसरी समाजवादी हुन्छ ? अहिलेको व्यवसायिक शिक्षाले जुत्ता सिलाउने परम्परागत सीप भएको समुदायलाई जुत्ता फ्याक्ट्रीको सञ्चालक बनाउला ? फलामका काम गर्ने समुदायलाई भाँडा उद्योगको व्यवस्थापक बनाउला ? हस्तकलाका धनी, काष्ठकलाका विधाताको समुदायले काष्ठ उद्योगको नेतृत्व गर्न पाउलान् ? उल्टो हुँदै छ ।
दलालपूँजीपतिहरु यस्ता उद्योगमा लगानी गर्दैछन् । सरकारले हात झिक्दैछ । परम्परागत सीप भएकाहरु आफ्नो सीपबाट अलग्गीँदै छन् । स्वतन्त्र व्यवसायबाट आश्रित जागिरे हुँदैछन् । ति सीप नभएका लगानीकर्ता भनाउँदाहरु झन् धनी बन्दै जाने सीप भएकाहरु पेटमात्रै पाल्ने तर समृद्ध हुन नसक्ने अवस्था दोहोरिरहन्छ । अब सीप भएका र लगानीकर्ता वा दलाल वा अन्य व्यवस्थापकहरुका वीचको खाडल झन बढ्दै जाने भयो । जव धनी र गरिबका वीचको खाडल पुर्न प्राविधिक शिक्षा असमर्थ हुन्छ भने यो कसरी समाजवादी हुन्छ ?
अर्कातिर राज्यबाट अलग्गिएको, निजी हावी भएको व्यवस्थापन कहिल्यै पनि रुपान्तरणकारी हुँदैन । गरिबका नामको लगानी प्राविधिक तथा व्यवसायिक शिक्षाका नाममा विचौलीयाका हातमा पुगे पछि यसले कसलाई फाइदा पुर्यायो ? यी विचौलियाले यस्ता गरिब देखाइरहन चाहन्छन् र आफ्नो पेट भर्ने दिर्धकालिक बाटो खोजी रहन्छन् । यस्ता विचौलियाहरु पार्टीका नेता देखि पछि लाग्ने कार्यकर्तासम्म छन् । भोको मुखमा पर्नलागेको माड बीचैमा खोसेर आफ्नो झोलामा थुपार्ने नेतारुपी दालालहरुबाट क्रान्ति होेला र समाजवाद आउँला ? अझ यीनै भतुवाहरुले समाजवादी शिक्षाको वकालत गरेको देख्दा वास्तविक श्रमजिवी प्रति खिल्लि उढाएको आभाष हुन्छ ।
प्राविधिक र व्यवसायिक शिक्षा पूँजीवादीहरुको नारा हो । यो गरिब मुलुकमा निकै बिक्रि हुन्छ । समाजवादी शिक्षाले यस्तो सीपमात्रै भएको जनशक्ति होइन पूर्णमानव बनाउन चाहन्छ । पेटकालागि सीप, दिमागकालागि ज्ञान, राज्यकालागि राष्ट्रियताको भावना, समुदायकालागि रुपान्तरणकारी चेत, अधिकारप्रति सचेत र कर्तव्यप्रति दृढ जनशक्ति उत्पादन गर्छ । यसले व्यवसायिक शिक्षाको विरोध होइन, चेतनाको मिलान खोज्छ । यो लोकलान्त्रिक हुन्छ तर प्रतिश्पर्धी होइन । राज्य निर्मीत सामाजिक पूँजीमा आधारित हुन्छ, धन निर्मित सास्कृतिक पुँजीमा होइन । यो निरङ्कुश हुँदैन बरु सामाजिक न्यायमा आधारित हुन्छ ।
वितरणात्मक न्यायमा केन्द्रित हुन्छ । राज्य खास अभिभावक बन्छ । यसकालागि समाजवादी राज्य व्यवस्था पूर्वसर्त होइन । नर्वे, फिनल्याण्ड, स्वीट्जरल्याण्डमा शिक्षा क्षेत्रमा समाजवादी फ्लेवर छ तर चीनको शिक्षामा पूँजीवादी गन्ध छ । हामीलाई नेपालीपनको समाजवादी शिक्षा चाहिएको छ । सिद्धान्त र सीपको मिलान चाहिएको छ ।