प्रिय मित्र,
सप्रेम सम्झना !
यहाँ म र मसँग सम्बन्धित सबै कुराहरू ठीकठाक छन् । त्यहाँ तपाईं र तपाईंसँग गाँसिएका कुराहरू पनि ठीकै छन् भन्ठान्छु । चिठ्ठी नलेखिकनै नहुने त्यस्तो कुरा त केही थिएन तर जीवनका उकाली/ओरालीका अनुभवहरू बाँडचुड गर्नाका निम्ति लेख्न बसेको छु ।
लगभग सात वर्ष पछि सम्झनाका ती समयहरूलाई लिपिबद्ध गर्दैछु । म तपाईंसँग हिजो थिएँ, सायद भोलि हुनेछु तर आज छैन । मलाई लागिरहेछ–वर्तमान निष्ठुर भयो र मसँग तपाईंलाई छुटायो । एकै ठाउँमा सधैं–सधैं बस्न नमिल्ने रहेछ । एक्लाएक्लै हुँदा एउटै कोठामा बसियो, एउटै ओछ्यानमा सुतियो र एउटै भाँडाको खाना खाइयो । मेरा भाइबहिनी थपिँदा तपाईंको पनि भाइ थपियो । भिन्नाभिन्नै डेरा नलिइकन धरै पाइएन । त्यसमा पनि शिक्षकको जागिर । एक्लाएक्लै बस्नैपर्ने अवस्था पनि आएकै हो । टिउसन नपढाए धर नपाइने, गौंडागौंडामा डेरा लिएर नबसे स्कूलले स्पष्टिकरण सोध्ने । त्यसबेला बोर्डिङ्गका शिक्षकहरूले साह्रै चर्को मूल्य चुकाउनुपथ्र्यो ।
प्रिय मित्र ! मलाई झैं तपाईंलाई पनि सम्झना नै हुनुपर्छ । बिर्सनु नै भएको भए एउटा लामो लहरो तान्दैछु । यसमा को–को आए, को–को कहाँ गए ? विचार गर्दै गर्नुहोला । पत्रको अन्तिमतिर पुग्दा नपुग्दै एउटा सानोतिनो इतिहास बन्ला भन्ठान्छु ।
बाह्र बजेको खरो घाम, चुइँकिने साइकलमा चढेका छन् दुईजना । उत्तरतिर हाकिँदा छन् । बाटाभरी विद्यार्थीहरू भेटिन्छन् । एक किसिमको गुञ्जायमान वातावरण फेला पर्छ–बाई, बाई ! सर….बाई…!! आफूले पनि नफर्काएमा पाखे भइएला भन्ने त्रास छ, साइकल यात्रीहरूमा । उनीहरूका पनि ओठ खुल्छन्– बाई–बाई स्टुडन्टस्…बाई…!
दुबै बोर्डिङ्गका शिक्षकहरू हुन् । दुबैमा युवा जोश छ, नयाँ रगत दगुरिरहेको छ तर नयाँ सोंच उम्रन सकिरहेको छैन । दुबै आफू तालिम अप्राप्त काँचा, कलिला शिक्षक मानिन तयार छन् । तर, उनीहरूका प्रिन्सिपल भने शिक्षकलाई शिक्षकका रूपमा होइन, एक रेलका यात्रुका रूपमा सम्झन्छन् । स्कूललाई रेल्वे स्टेशन सम्झन्छन् । यात्री त रेल्वे स्टेशनमा कत्ति आउँछन् र जान्छन्, यस्तो क्रम निरन्तर चलिरहेकै हुन्छ । जसले थोरै तलब स्वीका¥यो र गोरु जोताइ जोतियो, ऊ ‘टिकाऊ सर’ भयो । तर, जसले यथोचित पारिश्रमिक लिएर श्रम बेच्न खोज्यो, उसका लागि छोटोभन्दा छोटो समय प्राप्त हुने भयो । उनीहरूका बीचमा यस्तै–यस्तै कुरा हुन्थे ।
प्रिय मित्र ! म लहरो तान्दैछु । हिजो उम्रेर, हिजै ढाकिएको लहरो तान्दैछु । आजसमेत त्यसले शैक्षिक क्षेत्रलाई हल्लाउन सक्छ । हुन पनि हो, हिजोको लहरो नतानिकन आजको लहरो झ्याङ्गिने वातावरण तयार पार्न सकिन्न । मलाई त पूरापूरी थाहा छ– भोलिको शैक्षिक धरातलको पूर्वानुमान गर्न पनि वर्तमानमा विगतलाई राम्ररी केलाउनु जरुरी छ ।
हजुर, म धेरै ठाउँमा बहकिन सक्छु । त्यो त्यस्तै कुरा हो । अहिले भने म दुईजना साइकल चुइक्याउने शिक्षकका कुरा गर्दै थिएँ । तिनीहरूकै स्वरूपको, चरित्रको संक्षिप्त चर्चामा शब्द खर्च गर्दैछु ।
साइकलको पछिल्तिर बस्ने गहुँगोरो थियो, सिकुटे थियो, फुँङ्ग उडेको मुहार थियो । जे बोल्थ्यो, त्यो गथ्र्यो । जे गथ्र्याे, त्यो बोल्थ्यो । हण्डर खान जानेको थियो । पीडा भोग्नेलाई नै सुखको आनन्दानुभूति प्राप्त हुने कुरामा ऊ विश्वस्त थियो । विद्यार्थीमाझ ऊ ‘पातर सर’का नामले चिनिन्थ्यो । अर्को साइकल चालक सरचाहिँ खरो अङ्ग्रेजी बोल्थे । सेतो भेष्ट लगाउँथे । मंगोलियन आकृतिका रातोपीरो मुहारका थिए । थोरै बोल्ने र धेरै काम गर्ने उनको विशेषता थियो । सैनिकले आफ्नो जीवनमा आमाबाबु पनि नभनी कर्तव्य निर्वाह गरेझैं उनी पनि त्यस्तै कर्तव्य निर्वाहमा कटिबद्ध थिए । पढ्ने बेलामा पढेनन् भने, दुईतीन पटक राम्ररी सम्झाउँदा पनि पढाइमा रूचि देखाएनन् भने, उनलाई छक्याउने काम गरे भने ती विद्यार्थीहरूले उनको कडा दृष्टिभित्र फँस्नै पथ्र्यो । उनीहरूले नैतिक रूपमा गिर्नै पथ्र्यो । शारीरिक पीडाले नभए पनि मानसिक पीडाले रन्थनिनु पथ्र्यो । आँखाभरी आँसु पार्नै पथ्र्यो । हायलकायल हुनै पथ्र्यो । त्यसैले विद्यार्थीहरूले उनको नाम ‘कडगर सर’ राखेका थिए ।
पातर र कडगर दुबै सरको गाढा मित्रता थियो । तिनीहरूको एक मन थियो, शरीर मात्र दुई । सोंच एक थियो, मस्तिष्क मात्र दुई । पेट एक थियो, मुख मात्र दुई । यसरी दुईभित्र एक भएर बाँचेका ती दुबै प्राणीको बोर्डिङ्ग स्कूले शिक्षण क्षेत्रमा नाम थियो ।
राजदेवी मन्दिरमा घण्टहरू बज्न सुरु हुनासाथ पातर सर जुरुक्क उठेर दैनिक कार्य गरी स्कूलका लागि तयार हुन्थे । सडकमा उभिन्थे र कडगर सरलाई कुर्र्थे । घरिघरि भुक्के घडी हेर्र्थे । प्रार्थनाको समय ढिलो हुन लाग्यो भन्दै हतारिन्थे । कडगर सर साइकल चुँइक्याउँदै आइपुग्थे । ‘बुढियाले मुराई तरकारी नखाइकन आउनै दिइन, ढिलो गर्दिई,’ उनी स्पष्टिकरण दिन्थे । त्यसबेला उनी मलेठ गाउँमा बस्थे । उनका कुरा सुनेर पातर भने मुख मिठ्याउँथे । कारण मुराई तरकारी उनलाई पनि मन पथ्र्यो ।
साइकलको पछिल्तिर पातर सर बस्थे । फेरि साइकल चुँइकिन थाल्थ्यो । बाटाभरी फेरि विद्यार्थीहरूकै लावालस्कर भेटिन्थ्यो । ‘गुड मर्निङ्ग सर… !,’ ‘गुड मर्निङ्ग सर…!!,’ स्वर गुञ्जिरहन्थ्यो । हरेक विद्यार्थीलाई अभिवादन फर्काउनु सम्भवै थिएन । केही विद्यार्थीहरूलाई भने ‘गुड मर्निङ्ग स्टुडन्टस्…!, गुड मर्निङ्ग …!!’ भन्दिन्थे । केहीलाई भने टाउको हल्लाएरै अभिवादन स्वीकार गरेको जनाऊ दिन्थे ।
नयाँ शैक्षिक सत्र शुरु हुनासाथ प्रिन्सिपल राम्रा शिक्षकका नजिक–नजिक हुन्थे । उनीहरुलाई रिझाउन हरसम्भव प्रयत्नमा रहन्थे । कडगर सर सबैका आँखाका नानी भइसकेका थिए । हुन त, स्कूल प्रवेश गर्नेहरूको सुविधा मासिक नौ सयदेखि पन्ध्र सयसम्म थियो । राजविराज शहरमा एकजना मान्छेलाई सामान्य रूपले बाँच्न कम्तिमा मासिक तेह्र सय लाग्थ्यो । त्यो समयको कुरा हो । कडगर सरको कडा विचार देखेर नै उनको तलब मासिक सोह्र सय तोकिएको थियो । उनको यस लोकप्रियतामा डाहा गर्ने अन्य पुराना शिक्षक मित्रहरूको कमी थिएन । ‘कडगर चौधरी टिचर जकाँ नहि लागैत अछि मुदा निक टिचर अछि,’ (कडगर चौधरी शिक्षक जस्तो लाग्नुहुन्न तर असल शिक्षक हुनुहुन्छ ।) अभिभावकहरूको आवाज सुनिन्थ्यो ।
उनी बोर्डिङ्ग स्कूलका शिक्षक मात्र नभएर महेन्द्र विन्देश्वरी क्याम्पसमा पढ्ने विद्यार्थी पनि थिए । क्याम्पसको कक्षा छुटाउनु आफ्नो धर्मविपरित ठान्थे । सारा अङ्ग्रेजी विभागमै उनको नाम थियो । त्यहाँ भने उनको नाम ‘मिष्टर एभिट’ थियो । सायद उनी होचो कदका र आफ्ना कुराहरू निर्धक्क राख्ने भएकाले ठट्यौलो पाराको नाम रोजिएको हुनसक्छ । शेक्सपियरका नाटक वा नाट्यकारिताका कुरा हुन् या ‘अ कम्पेनियन टु लिटेरेचर’का कुरा हुन्, उनका जिज्ञासा कडाखालका हुन्थे । जवाफ दिन नसकेर उनलाई पढाउने कतिपय शिक्षकहरू कहिलेकाहीँ विलखबन्दमा समेत पर्थे । गम्भीर समीक्षकले पर्गेल्न नसक्ने प्रसङ्गहरू उनले तेर्साएका हुन्थे । कक्षामा प्रवेश गर्नासाथ सबैको ध्यान उनीतिर खिचिन्थ्यो । उनको उपस्थिति देखेमा प्राध्यापकहरू बढी सचेत भएर पढाउँथे ।
बोर्डिङ्ग स्कूलमा शिक्षकहरूको तलब बढाउने दिन आयो । उनको तलब भने सोह्र सयबाट बत्तीस सय पु¥याइयो । त्यसबेला प्रिन्सिपलले उनलाई भनेका थिए, ‘एभिट सर ! आजसम्म मैले अङ्ग्रेजी विषयको तपाईंजस्तो शिक्षक पाएको छैन । तलब पनि तपाईंलाई जस्तो कसैलाई दिएको छैन । सप्तरी जिल्लाकै श्रेष्ठ शिक्षकमध्ये एक ठानेर तपाईंलाई श्रेष्ठ दर्जामा राखेको छु ।’ शिक्षकको प्रशंसामा एक शब्द पनि राम्रो कुरा गर्न नरुचाउने प्रिन्सिपल उनीबाट भने पग्लिएका देखिन्थे । नपग्लून् पनि कसरी ! उनलाई नै कतिपय मामलामा सिकाउने, बाटो देखाउने काम एभिट सरबाट हुन्थ्यो । वार्तालापकै क्रममा प्रिन्सिपलको अन्तिम वाक्य थियो, ‘शतप्रतिशत तलब वृद्धि गरिदिएको छु । अर्को वर्ष भने केही प्रतिशत मात्र तलब वृद्धि हुनेछ । आफ्नो कार्यमा यस्तै जागरुकता रहोस् ।’ नयाँ शैक्षिक सत्र सुरु हुनासाथ कतिपय शिक्षकलाई केही हदमा वास्ता गर्ने र कतिपयलाई वेवास्ता गर्ने बानी पुरानै हो भन्ने सबैलाई थाहा थियो । त्यसबेला एभिट सर भने मौन रहे । यी शब्दहरु केवल उनीहरू दुई जनाले सुने, अरू कोही साक्षी थिएन ।
सबै शिक्षकलाई व्यक्तिगत रूपमा बोलाएर तपाईंको यत्ति र उत्ति प्रतिशत तलब वृद्धि भयो भनिन्थ्यो । समय महंगिँदै थियो । ट्यूशन नपढाए शहरमा टिक्न गाह्रो हुन्थ्यो । प्रायः सबै शिक्षकहरू क्याम्पस पढ्ने विद्यार्थीहरू नै थिए । धेरैजसो चाहिँ घरबाट चामल ल्याउँथे । डेरा भाडासमेत ल्याउँथे । स्कूलले दिएको तलबले केवल तरकारी किन्न र सामान्य पकेट खर्च गर्न पुग्थ्यो । नयाँ शिक्षक सबैको दिनचर्चा त्यसरी नै चल्थ्यो । तलब वृद्धि सम्बन्धमा प्रिन्सिपलका अगाडि बोल्न कोही सक्दैनथे । उनी जे जति तलब बढाउँथे, सबैजसो शिक्षकहरू त्यसैलाई स्वीकार्थे । दश प्रतिशतदेखि माथि सबैको तलब बढाएको छु भनेर मख्ख पार्थे । हजार रुपैयाँ तलब पाउने शिक्षकको तलब कत्ति नै बढ्थ्यो र ?
करिव छ वर्ष पछि एभिट सरलाई रामजानकी माध्यमिक विद्यालयले निजी स्रोतको शिक्षकका रूपमा काम गर्न बोलायो । सरकारी स्कूलमा पसिना बगाइयो, खुन सुकाइयो भने भोलिको लागि राम्रो हुने ठानेर उनी त्यतातिर हानिए । एक महिना बित्दानबित्दै उनले राम्रो लोकप्रियता कमाए । निजी विद्यालयमा पेलिएर काम गरेका उनी त्यहाँ पेलिनु परेन । ज्यादै हल्का लाग्यो । उनलाई बरोबर आफू शिक्षक हुँ कि होइन भन्ने लागिरह्यो । उनी बेला–बेलामा प्रधानाध्यापकहरूसँग भन्ने गर्थे, ‘यसरी शैक्षिक स्तर कहाँ उक्सन्छ र ? यस्तो काइदाले शिक्षकको जिम्मेवारी कहाँ पूरा हुन्छ र ?
विद्यार्थीका दैनिक आवश्यकता र यथोचित चाहनाविपरीत हिँड्दा अभिभावकको जिम्मेवारी कसरी पूरा भयो र ?’ उनले त्यहाँ विद्यालय व्यवस्थापन, शिक्षक र अभिभावक तीनैथरिको कमजोरी देखे । सबैजसो शिक्षक शिक्षण क्षेत्रमा सुधारभन्दा पनि समय कटाउन र तलब–भत्ता पकाउनमा नै मख्ख र मस्त भएको देखे । जसरी भएपनि कक्षा चढाउनु पथ्र्यो विद्यार्थीलाई । उनले पचहत्तर प्रतिशत विद्यार्थीलाई अनुत्तीर्ण पार्नुपर्ने अवस्था देखे । त्यहाँ भएकाहरूमध्ये अधिकांश स्थानीय शिक्षक–शिक्षिका थिए । कसैका नानीहरू अनुत्तीर्ण भइहाले भने चौतर्फी गुनासाका स्वरहरू गुञ्जिन्थे । ‘यी माष्टर सब सालभर कि करैछै ? हमरा बच्चाके फेल क्या देलकै । हम किताबकापी किन्देने चिए । सब दिना स्कूल भेज्ने चिए । आब हम कि करबै ?’ (यी शिक्षकहरू सालभर के गर्छन् ? मेरो बच्चालाई फेल गरिदिए । मैले किताबकापी किन्दिएको छु । सधँै दिन स्कूल पठाइदिएको छु । अब म के गरूँ ?) अभिभावकहरूको स्वरले स्कूल थर्कन्थ्यो ।
बोर्डिङ्ग स्कूलमा यसखाले समस्या नदेखिने भने होइनन् तर विरलै । एभिट सरको मनले मनसँग कुरा गरिरह्यो । विचरा विद्यार्थीको मात्रै के दोष ? उनीहरू त अग्रजको लापर्वाहीका शिकार भएका मात्रै हुन् । सबै शिक्षक वर्गमा अघोषित नीति थियो परीक्षाको कापी जाँच्नुस् या नजाँच्नुस्, त्यसको त्यत्रो अर्थ छैन तर विद्यालयको रिपोर्टमा परीक्षा दिएजति सबै उत्तीर्ण हुनै पर्छ । यहाँ शिक्षक भएर होइन, तलब–भत्ता पाक्ने काम गरे पुग्ने रहेछ ।
देश अनुसारको भेषमा रहनु पर्छ भन्ने कुरा एभिट सरलाई पनि राम्ररी थाहा थियो । नेपालका शैक्षिक ऐन÷नियम र नियमावलीहरूको पनि राम्रो अध्ययन थियो । जनताको नुन खाएपछि काम गर्नैपर्छ भन्ने ठोस निष्कर्षमा उनी पुगेका थिए । एक्लो वृहस्पति बन्छु भन्ने भय उनमा रत्तिभर थिएन । त्यसैले, उनी आफ्नो कर्तव्यको बाटोमा डटेर लागे, लागि नै रहे । कक्षाकोठामा अनुशासन कायम गर्न होस् या नियमित पार्न होस् वा पढाइप्रति अभिरूचि जगाउने काममा होस्, उनले हरसम्भव प्रयत्न गरे र विद्यार्थीमा आमूल परिवर्तन ल्याइदिए ।
उनले त्यहाँ एउटा प्रणालीको विकास गरिदिए । अरू शिक्षकहरूमा पनि धेरै परिवर्तन आयो । उनी माथिल्ला कक्षाका विद्यार्थीहरूलाई भन्ने गर्थे– ‘हेर बाबु–नानी हो ! म आफ्नै कुरा भनेर तिमीहरूलाई सोंच विचारेर काम गर्न प्रेरित गर्दैछु । म अहिले एक माध्यमिक तहको अङ्ग्रेजी शिक्षकको रूपमा तिमीहरूको सामुमा छु । यहाँसम्म आइपुग्न मैले धेरै–धेरै भेलहरू तर्नुपरेको छ । अनगिन्ति कराल पहाडहरू फोर्नुपरेको छ । कक्षा पाँचको विद्यार्थी छँदादेखि नै मैले अर्काको घरमा बसेर स–साना बच्चालाई पढाएर पढाइको खर्च बटुलेँ । ट्यूशनको मुख देखिनँ । अरूलाई पढाएर धेरै जान्ने भएँ । आफूले जानेको जति धेरैलाई बाँड्न सक्यो उत्ति जान्ने भइँदो रहेछ । मनमा भएका जिज्ञासाहरू शिक्षकसामु राखी समाधान पाउन सके पढाइप्रति अभिरूचि जाग्छ । मनमा अँध्यारो पाटो नरहनु भनेको उज्यालोको राज्य स्थापित हुनु हो । सोंच ठूलो राखी कर्ममा डटेर लाग । आजको समयले भोलिको जीवन सुनिश्चित पार्छ । गफले संसार हाँक्छु भन्न छाडिदेओ । कर्मले संसारलाई रिझाउन सक्नु पर्छ । कर्मशील हातपाखुरीलाई संसारले चुम्छ । आज बाबुआमाको पाखुरीमा नाच्ने काम गरेमा त्यसकै असरले जीवनभर रुनुपर्ने अवस्था आउन सक्छ । आजलाई मनमा राख र कर्ममा विश्वस्त बन ।’
उनले शिक्षण पेशालाई उत्तम ठानिसकेका थिए । ‘म शिक्षक बनेर नै मान्छेको मनमन्दिरमा उज्यालो छर्न जन्मेको हुँ’ भन्न पनि उनी छाड्दैनथे । स्थायी जागिरको बाउन्न साले परीक्षा दिएका थिए । अन्ठावन्नको अन्तर्वार्तामा समेत खरोसाथ प्रस्तुत भएका थिए । कतै प्राथमिक तहकै भएपनि शिक्षक बन्न सकिएला कि भन्ने झिनो आशा थियो । सप्तरी जिल्लामा शिक्षक बन्नु थियो । ‘वैधानिक प्रक्रियामा अघि–अघि भएपनि सोर्स, फोर्स, दानदक्षिणाका मामलामा पछि हुनुहुन्छ, आश गर्दै नगर्दा वेस हुन्छ, अमितजी !’ भनेर नजिकका साथी र छरछिमेकीहरू उनलाई भन्दथे । जे देख्छन् अरूहरू त्यही भन्छन्, स्थायी शिक्षक बन्ने सपना देख्नु मेरो नाजायज सोंच होइन भन्ने उनको ठहर थियो ।
पछिको कुरा जान्ने को छ र यहाँ ? नभन्दै रिजल्ट भयो । उनी सफल भएछन् । उनको पोष्टिङ्गको सवाललाई लिएर प्रधानाध्यापकहरूमा तँछाड् मछाड् भएछ । सबैको आ–आफ्नैखाले स्वार्थ । उनी थिए स्नातक डिग्री पाएका तालिमप्राप्त शिक्षक । कतिपय स्कूलमा माध्यमिक विद्यालयमा पढाउने शिक्षक पाउनै गाह्रो थियो । पछि थाहा पाए, उनले आफ्नै गाउँको स्कूलमा प्राथमिक शिक्षकको रूपमा माध्यमिक तहमा पढाउनुपर्ने भएछ । ठीकै छ भन्दै उनी आफ्नै गाउँतिर हान्निए । २७ असार, २०६१ को निर्णयबमोजिम भदौ १ गतेदेखि तलब भत्ता पाउनेगरी उनी नियुक्त गरिए । अनवरत रूपमा उनी पढाइनै रहेका छन् र लोकप्रियता कमाउने उनको इतिहासलाई त्यहाँ पनि निरन्तरता दिएकै छन् ।
प्रिय मित्र ! लामा कुरा सुनाएँ । तपाईंलाई पट्यार लाग्यो होला । विद्यार्थीसामु कडगर सर, प्रिन्सिपलसामु एभिट सर, अभिभावकका सामु कडगर चौधरी, प्राध्यापकहरूबीच मिष्टर एभिट र मित्रहरूसामु अमितजी भनेर पुकारिने व्यक्ति अरू कोही नभएर तपाईं नै हुनुहुन्छ । सबैले सबै प्रकारका नाम दिए । म भने जीवनका महत्वपूर्ण क्षणहरू साथै बिताएको मित्रको नाताले र पातर सर भनेर विद्यार्थी माझ परिचित भएको हैसियतले तपाईंलाई तपाईंकै प्रमाणपत्रको नाम दिन्छु– अभितकुमार चौधरी ।
प्रिय मित्र ! बोलेरभन्दा लेखेर नै धेरै कुरा जाहेर गर्न सकिने रहेछ । बोल्दा हराइने डर हुँदो रहेछ, लेख्दा समेटिन सकिने रहेछ । फेरि जीवन कहाँबाट कहाँ पुग्दो रहेछ । कसैको घोषणा र अनुमानभित्र जीवन कहाँ गुम्सदो रहेछ र ? मैले देखेका, सुनेका, भोगेका र अनुभव गरेका कुराहरू रिठ्ठो नबिराइकन प्रस्तुत गरेँ । हिजो बिताएको त्यो स्कूल (निजी) र आज जीवनरथ हाँकिरहेको यो स्कूल (सरकारी)का बीच फरक के–के पाउनुभयो ? म पनि तपाईंबाट आफ्नो स्वभावअनुकूलको खरो प्रतिक्रियासहितको जवाफ पाउने प्रतिक्षामा हुलाकीको बाटो कुरेर बसिरहनेछु । धन्यवाद !