सुन्दै छु म
नेपालमा बाढी आयो
आशुहरु झरे ।
डाँको छोडी रुँदै
भन्नुहुन्छ फोनमा आमा
छोरा भेट्न पाइन्छ कि पाइँदैन ।
छिमेकीको
घरखेत बगायो रे,
आफ्नो मुटुको टुक्रा
छोरा गुमाउनु भो रे ।
हाम्रो पनि आँगनको डील,
पानी पसेर भत्किन
थालेको छ रे ।
गाईगोठमा छानोबाट
पानी चुहेको छ रे ।
साहुको ऋण तिर्न र
हातमुख जोर्नको लागि
म परदेश आएको थिए ।
अभावबाट टाढा हुन
परिवारका चाहनाहरु पूरा गर्न र
एउटा सुन्दर परिवारको कल्पना गर्दै
आमाका आँखाहरुमा–
खडेरी ल्याउन
परदेश आएको थिए ।
तर,
आज आमाका आँशुहरु
वर्षातको भेलसरी बगिरहेछन् ।
बाढी संगै बगिरहेछन् ।
सुन्दै छु म
शहरमा सडक
जताततै जलमग्न,
गाउँघरका घर पाखापखेरामा
पहिरोको तमासा
दशगजा क्षेत्रमा–
भारतले बाधको ढोका खोल्न नमान्दा
रौतहटको गौर डुबानमा पर्न थाल्यो ।
बकैया नदीको बाध फुट्यो
कमला नदीको तटबन्ध भत्कियो,
सयौं घरपरिवार विस्थापित भए
तीस जना जतिको मृत्यु भयो ।
कोशी नदी–
शक्तिशाली भएर आयो ।
सारा सपनाहरु लैजान,
सारा इच्छाहरु पानीले बगाउन ।
सुन्दै छु म
सरकार उद्धारको तयारी गर्यो
संघसस्थाहरु उद्धारमा जुटे।
कोही राहत सामग्री बोकेर
मानवीय सेवामा लागिरहे ।
तर,
वर्षा रोकिएन
बाढी रोकिएन
पहिरो रोकिएन ।
खराब मनहरु रोकिएनन्
आशुहरु रोकिएनन्
मुहार उज्यालो भएन ।
वस्तुभाउ कठाङग्रीए
चराहरु रुझेर,
निथ्रुक्क भएर
चिर्विर चिर्विर गर्दै
आफ्नो आवाजमा
वेदनाहरु पोखिरहे।
अब,
एकसरो लाउन र
हातमुख जोर्न धौधौ परेकाहरुलाई
उनीहरुको झुपडीमा,
पहिरो नजाओस्
बाढी नआओस्
आशु नझरोस् ।
वनका चरीहरु
खुशीले आफ्नै संसारमा,
रमाएर नाचुन।
अनियन्त्रित रुपमा
नदी दोहन रोकियोस् ।
बाढी सम्भावित क्षेत्रको
पहिचान र नक्सांकन गरियोस् ।
छिमेकी देशको हामीप्रति
मानवीय व्यवहार,
टर्च बालेर खोज्न नपरोस् ।
वस्
यहि सुन्न परोस् ।
म
परदेश भए नि
मेरो मन प्यारो देश
तिमिप्रति छ।
म आज मसीले होइन आँशुले लेख्दै छु,
मेरो प्यारो देश
तिमिलाई यतिबेला
बाढीले डुबाएको छ।
गौतम बुद्धको देश तिमि,
सगरमाथाको देश तिमी,
तिमिलाई–
कहिले बाढी पहिरो
कहिले हत्या हिंसा,
कहिले बलात्कार
त कहिले भ्रष्टाचारले छाडेन।
तिम्रो मुहारमा–
गुम्न लागेको खुशी,
खोसिन लागेको खुसी
अब फर्काउनुछ ।
म मातृभुमि फर्कनुछ,
आफ्नै माटोमा अन्न उब्जाउनु छ।
आफ्नै माटोमा–
स्वाभिमानी भइ बाँच्नु छ।
अनि आफ्नै माटोमा मर्नु छ।
(थापा रिडी माध्यमिक विद्यालय,रुरु–१,गुल्मीका शिक्षक हुन् ।)