संसारलाइ मुठ्ठिमा राख्ने अभिलाषामा
अगाडि बढ्ने दौडमा कहिले नथाक्ने
हो त्यही मानिस, आज थकित छ
तर सुस्केरा हाल्न सकेको छैन
किनकी उ भाइरस भित्र छ ।
प्रकृतिलाई ठाडो चुनौती दिने
अदम्य साहस बोकेर
ठूलाठूला आविष्कारमा तल्लिन
हो त्यहि मानिस
जसले भगवानलाई भगवान बनायो
तर आज सूक्ष्म जीवाणुभित्र
रुमलिएको छ केवल
दुईमुुठी सासको आशमा
संघर्षरत छ ।
अनेकौं सपनाको तिलाञ्जलि दिँदै
मार्न र मर्न नभई केवल बाँच्नका लागि
युद्ध गरिरहेको छ ।
आफै बनाएका बम, बारुद र
मिसाइल थन्काएर निहत्था ।
देख्दै नदेख्ने शत्रुसामु त्रसित छ
न त धन चाहेको छ
न आफन्त नै केवल एउटै स्वार्थ
भोलि कसरी बाँच्ने छ ?
न कुनै जात, धर्म परिवेशले
रोक्न सक्यो न विज्ञानले
मात्र कठपुतलि बनेर
आफैले आफैलाई पिंजडामा थुनेर
बाँच्ने आशालाई बरकरार राख्दै
मृत्युलाई गन्दै, आफु जोगिएकोमा
खुशी मनाउन विवश छ
अदृश्य शक्तिसँग दयाको भिख माग्दै
निस्तब्ध धरणीलाइ हेरी
न सुस्ताउन सक्छ
न कारुण्यता दर्शाउन नै किनकी
ऊ न आज कसैको शत्रु छ
न कसैको मित्र छ
छ त केवल भाइरस भित्र छ ।।