सतही कुरा नगरौं शिक्षालाई गम्भीरताका साथ लिउँ

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२८ जेष्ठ २०७७, बुधबार

कोभिड–१९ को घनचक्करमा सम्पूर्ण संसार परेको वर्तमान सन्दर्भमा दिनहुँ नयाँ नयाँ विरामी थपिने र उचित स्वास्थ्य परीक्षण र व्यवस्थापनको अभाव नेपाली जनताले झेल्नुपरेको पीडा वर्णन गरि साध्य छैन । सम्पूर्ण क्षेत्र भयत्रस्त छ यस्तो अवस्थामा आर्थिक एवम् अन्य क्षेत्रमा हुने हानी त केही वर्षमा क्षतिपूर्ती हुन सक्ला तर शैक्षिक रुपमा हुने हानीले एउटा पिढी नै दुर्घटनामा पर्ने सम्भावना बढेको छ । अहिलेको सन्दर्भमा शिक्षाका वारेमा विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा अभिभावकका विभिन्न धारणाहरु पढ्न र सुन्न पाइन्छ ।

जसले जे भनेपनि जस्तो सुकै पक्ष वा विपक्षमा बाँडिएपनि हामीले बोल्ने र गर्ने कार्य विद्यार्थीलक्षित हुनुपर्छ तर यहाँ सबै आ आफ्नो स्थान बनाउने नाममा व्यक्तिगत स्वार्थमा लिप्त हुँदा विद्यार्थीको भविष्य अन्धकारमा त धकेलिने होइन भन्ने प्रश्न खडा भएको छ । त्यसैले तर्क गरेर को भन्दा को कम भन्ने जुहारी खेल्नुभन्दा गम्भीर हुनु आजको आवश्यकता हो । बेलाबेलामा उत्पन्न हुने यस्ता विषम परिस्थितिले प्रणाली परिवर्तन गर्ने मात्र होइन उपलब्धता र आवश्यकताका आधारमा नीति नियम भन्दा माथी उठेर सोच्ने क्षमता अभिवृद्धि गर्नपनि सहयोग पुर्याउँछ । हो यही हाम्रो आजको आवश्यकता हो । शिक्षा क्षेत्रमा यस्ता आवश्यकता सम्बोधन गर्ने विधीहरु के हुन सक्लान त?

अनलाइन कक्षा
अहिले दिनहुँ सामाजिक सञ्जालमा नछुटने समाचार अनलाइन शिक्षा हो । जति यस विधिको पक्षमा वकालत गर्ने समुह देखिन्छ त्यति नै यसको विपक्षमा पनि देखिन्छ । जसरी कुरा गरेपनि बन्दाबन्दी शुरुभएदेखि नै कतिपय विद्यालयले यसको प्रयोग गरिसकेका छन् र सफलता प्राप्त पनि गरेका छन् यो सकारात्मक पक्ष नै हो । यहि कुरालाई अगाडि बढाउने क्रममा कतिपयले नेपाल जस्तो सबै स्थानमा इन्टरनेटको सुविधा नभएको ठाउँमा यस्को प्रयोग गर्नु गलत हो भन्ने धारणा राखेको पाइन्छ तर वास्तविक कुरा त पहुँच भएको ठाँउमा प्रयोग नगर्ने र नभएको ठाउँमा प्रयोग गर्छु भन्नु गलत मात्र नभइ मुर्खता हो । यस कुरालाई मध्यनजर गर्दै आवश्यकतालाई प्राथमिकता दिउँ । यसैपनि नेपाल टेलिकमको सुचना अनुसार ७५ प्रतिशत जनता इन्टरनेटको पहुँचमा देखिन्छ किन यसको सदुपयोग नगर्ने त ?

दूर शिक्षा कार्यक्रम
अत्यन्तै विकट तथा इन्टरनेटको पहुँच नभएको स्थानमा यो विधि उपयुक्त हुन सक्छ । रेडियो र टेलिभिजनको पहुँच सबै स्थानमा रहेको छ त्यसैले रेडियो र टेलिभिजन मार्फत विद्यार्थीलाई सेवा दिन सक्यौं भने निश्चित रुपमा लाभदायी हुनेछ जसले गर्दा विद्यार्थीहरु सिकाइको निरन्तरतामा क्रम भङ्ग हुन बाट जोगिन्छन नै र उज्ज्वल भविष्य निर्माणको बाटोबाट पछाडि पनि हट्ने छैनन्  ।

अभिभावकको भूमिका
विद्यार्थीको पहिलो पाठशाला घर नै हो र अभिभावक नै पहिलो शिक्षक पनि, यतिबेला विशेष गरेर कक्षा ३ देखि माथिको विद्यार्थीहरु मानसिक रुपमा विचलित हुन सक्छन् त्यसैले उनीहरुलाई पर्याप्त समय दिउँ अभिभावक मात्र होइन उनीहरुको सहपाठी साथी बनौँ । जबरजस्ति पढन लगाउने कार्यपनि रोक्नु पर्छ किनकि अहिले कसरी समय बिताउँ भन्ने अवस्थामा रहेका विद्यार्थीलाई पढ्न रमाइलो लाग्छ नै बरु उनीहरुको रुचीको क्षेत्र पहिचान गरि सहयोग गरौँ । अर्को महत्वपुर्ण कुरा भनेको विद्यार्थीका लागि विद्यालयले गरेको हरेक प्रयासबारे सकारात्मक होऔँ नकारात्मक कुरा त उनीहरुको अगाडि गर्दै नगरौँ ।

आर्थिक पक्षलाई लिएर नकारात्मक हुनुभन्दापनि परिस्थितिको सामना गर्नको लागि के कुरा उपयुक्त हुन्छ भन्ने सोचौँ, छलफल गरौँ तर अनावश्यक हल्लाको पछि लागेर कागको पछि दौड्ने काम नगरौँ विद्यार्थी हाम्रै हुन असल अभिभावक हामी नै हौ भन्ने कुरा मनन गरौं आजको सानो स्वार्थले आफ्नै सन्तानको भविष्य अध्यारो नबनाऔं । साना बालबालिकालाई आफै घरमै शिक्षकहरुको सल्लाह लिइ उपयुक्त मार्गनिर्देशन गरौं । यसै गरि संक्रमण बढ्दै गयो भने के थाहा अझै कति महिना घरमै थुनिनुपर्ने हो, त्यसैले समय खेर नफालौं ।

अहिलेको समय भनेको बाहिर अनावश्यक कुरामा अल्झिने होइन सम्हालिने समय हो चाहे सरकारी होस वा निजी सम्पूर्ण शैक्षिक प्रतिष्ठानले उपलब्धता र आवश्यकताका आधारमा काम गर्ने हो । तराई क्षेत्र र ग्रामीण भेगका विद्यालयहरु क्वारेन्टिनको रुपमा प्रयोग भएका छन् क्वारेन्टिन हटाइ विद्यालय सञ्चालन गर्नु झन् ठूलो समस्या हुन सक्छ ।

रह्यो एसईईको कुरा पहिले देखिनै भन्दै आएको हो विद्यालय शिक्षा १२ सम्म भएपछि यसको कुनै औचित्य नै छैन केवल विद्यार्थीलाई मानसिक तनाव दिनुबाहेक । यहि मौकामा यसको पनि विधिवत् अन्त्य हुनु जरुरी छ । सरकारबाट यो कार्य छिटै होला पनि आशा गरौं ।

प्रतिकृया दिनुहोस्