शिक्षाकर्मीहरुले आशा गरेको शिक्षावजेट

Avatar photo

Byएजुकेशन पाटी

२८ जेष्ठ २०७७, बुधबार

पृष्ठभूमि
समाज विकासको चरणमा विभिन्न प्रकारका परिवर्तन देखा पर्छन्  । एउटा निश्चित स्थानमा पुगेर रोकिन्छ । संकटका स्वरुपहरु समय, स्थान र निश्चित प्रकृति अनुरुप पृथक हुन्छन् । संकट कृत्रिम र प्राकृतिक दुई प्रकारका हुन्छन् भने प्राकृतिक संकट कृत्रिम संकट भन्दा अकल्पनीय तथा भयावह हुने गर्छ । कृत्रिम संकट भन्नाले मानव निर्मित हुन्छन् जहाँ निश्चित मानवहरुको आफ्नो स्वार्थ तथा लक्ष्य प्राप्तिकालागि गरिएको एक आन्दोलन तथा अभियान हो ।

जुन आमरुपमा मानिसहरु यसको पक्षमा देखिदैनन तर आफ्नो अस्तित्व जोगाउनको लागि केहि हदसम्म निष्क्रिय रहन्छन् । प्राकृतिक संकट कुनै पनि पूर्व तयारी बिनै हुने गर्दछ, जसले गर्दा मानवजातीमा कुनै तयारी हुन पाउँदिन र स्थिति नियन्त्रण भन्दा बाहिर जान्छ । वर्तमान समयको संकटपनि कुन प्रकारको हो भन्ने कुरा विभिन्न शक्तिशाली देशहरु आरोप प्रत्यारोपमा देखिएका छन् ।

अहिले मानव समाज कोरोना भाईरसको विश्वव्यापी महामारीले चरमोत्कर्षमा पुगेको छ, जबकी, अब विश्वको जुनसुकै ठाँउमा यसको असर नपुगेको छैन । मानव ईतिहासमा फर्किएर हेर्ने हो भने विभिन्न कालखण्डमा यस्ता खालका भाइरस पटकपटक देखा परेका छन् । करोडौं मानिसहरु मारीएका छन् भने अर्बौं डलर आर्थिक अवस्था खस्कने गरेको देखिएको छ । आखिर किन हुन्छ यस्तो खालको विभिन्न भाईरसको आगमन ? यस्तो हुनुको वैैज्ञानिक आधार के हो ? यस किसिमका संकटबाट बच्ने उपाए के हुन सक्छन् ? आदि कुराहरु यो आलेखमा विस्तृत छलफल गरिएको छैन किनकि यो आलेखमा वर्तमान संकटमा रहेको शिक्षा र शिक्षकहरुका समस्याहरुमा केन्द्रित हुने प्रयास गरिएको छ ।

वर्तमानको संकट
कोरोना भाइरस सम्बन्धि राष्ट्रिय दैनिकमा प्रकाशित एउटा लेखमा प्राडा संजीव उप्रेतीका अनुसार– यसका पछाडि प्रकृतिमा भएको असन्तुलन तथा विश्वमा पुँजीको अत्यधिक प्रयोग जहाँ कार्बनको उत्सर्जनमा वृद्धि र यसका कारण बिश्व तापमानमा प्रभाव भई ग्लोबल वार्मिङका कारण प्रत्येक वर्ष १ डिग्री सेल्सियसका दरले विश्व तापक्रम बढिरहेको छ । यो वृद्धिदर सन् २१०० सम्म २ डिग्री सेल्सियस पुग्ने र यो विस्तारै ३, ४ गर्दै बढ्दै जाने छ । यसले हिउँ क्षेत्र (Snow Zone)बिस्तारै पग्लदै जानेछ र असंख्य भाइरस बिस्तारै बाहिर देखा पर्दछन् । बदलिँदो बाहिरी तापक्रमले मानबहरुमा संक्रमण भएपछि यस्ता खालको महामारीले भयावहरुप लिने गर्दछन् । तसर्थ विभिन्न विज्ञका भनाईबाट पनि के थाहा हुन्छ भने जब मानव र प्रकृति बिचको सन्तुलनमा समस्या हुन्छ यस्ता खालका महामारीहरु देखा परिरहन्छन् ।

शैक्षिक अवस्था
समाज विकासमा सभ्यताको पथमा डोराउन शिक्षा नै प्रमुख अस्त्र हो जसले परिस्थितिको सहि विश्लेषण गर्न सहयोगी बन्न सक्दछ । जब यस्ता खालका महामारी देखा पर्छन् अनि त्यसको अध्यन अनुसन्धान तथा रोकथामको उपायबारे बुझ्नको लागि पनि शिक्षा क्षेत्रकै प्रमुख दायित्व हुन आउँछ । हाम्रो देशको शैक्षिक अवस्था त्यसै पनि सन्तोषजनक होइन, अब यस्ता खालका महामारी तथा कुनै पनि विपत्तिको कारण शैक्षिक अवस्था अन्योलग्रस्त देखिएको छ ।

कुनै पनि देशमा जब जुनसुकै प्रकारको विपत्ति वा महामारी हुन्छ त्यति बेला त्यो देशको कमजोरी पक्षहरु छरपस्ट देखिन्छ । अहिले जब कोरोना महामारीले विस्तारै च्याँप्दै जादै छ अनि यसको मुख्य असर विशेषगरी स्वास्थ्य र शिक्षामा देखियो ।

हाम्रो देशमा स्वास्थ्यमा सुधारको आवस्यकताको बारेमा धेरै पक्षहरुमा विभिन्न समयमा विभिन्न रुपमा अनेक आन्दोलनहरु गरिए यद्वपि सम्बन्धित पक्षहरुको अदूरदर्शीताका कारण अहिले यो कोरोना भाइरसको प्रभाव सुरु भएको ६ महिना भन्दा बढी हुँदा पनि देश भरि अत्याबश्यक मानिएको भेन्टिलेटरको संख्या जम्मा १५६ मात्र उपलब्ध रहेको छ ।

जबकी यो ६ महिनामा १२ ओटा थापिएछ जुन ९ ओटा विभिन्न सहयोगबाट तथा ३ ओटा टेकु अस्पतालमा खरिद भयो भनेपछि स्वास्थ्यको क्षेत्रमा सरकारी तहबाट कतिसम्मको लापरबाही रहेको छ भन्ने कुरा प्रस्टै भयो । यसबारे अब अन्य परीक्षण किट्सको बारेमा धेरै भन्नु परेन किनकि यो आलेखको मूल विषय शिक्षा सम्बन्धित रहेको छ । अब स्वास्थ्य जस्तो गम्भीर क्षेत्रमा त यति सम्मको उदासिन रहेको राज्य शिक्षाको सवालमा धेरै अपेक्षा गर्नु पक्कै पनि सहि नहोला ।

दोश्रो विश्वयुद्धपछी सन् १९६० को दशक सम्म जापानको भन्दा नेपालको कुल ग्राहस्थ उत्पादन धेरै थियो तर अहिले आएर हेर्ने हो भने जापान पहिलो विश्वको सूचीमा रहेको छ । यसको पछाडि जापानमा त्यहाको वजेटमा शिक्षा क्षेत्रमा सबै भन्दा धेरै प्रतिशत बजेट बिनियोजन गरियो । देशमै सिपमुलक तथा प्राबिधिक शिक्षाको शुरुवात गरियो र आज विश्वमै सक्षम राष्ट्र बन्न सफल भयो । हाम्रो देश साच्चै भन्नु पर्दा गौतम बुद्ध २६०० वर्ष अघि जन्मेको ईतिहास छ भने देशको अस्तित्त्व धेरै पहिले देखिको हो यसमा कुनै संकोच रहेन । अमेरिका कोलोम्वसले १४९२ तिर पत्ता लगाएका हुन् । जुन ६०० वर्षकोमात्र ईतिहास छ भने पछि हामी कुन ठाउँमा छौं । हामीले के गर्यौं त भन्दा ब्रिटिश साम्राज्यसँग लडियो, राणासँग लडियो, पञ्चायतसँग लडियो, प्रजातन्त्रको लागि लडियो वा गणतन्त्रकोलागि लडियो अनि उपलब्धि के भयो त ? विचारणीय प्रश्नहरु हुन् ।

चाहे त्यो मलेसिया होस् अथवा सिंगापुर वा दक्षिण कोरियालगायत धेरै देशहरुको विकास मोडेल अध्ययन गरेर अगाडि बढ्ने नेतृत्व नहुँदा यो महामारीको बेलामा आफ्नै देशमै रहेर राज्यले तयार गरेको शिक्षा नीति र त्यस अन्तर्गत सम्बन्धित निकायको मातहतमा रही आफ्नो कर्तव्यलाई प्रमुख रुपमा अगाडि बढीरहेका शिक्षकहरु नै आफुलाई सुरक्षित महसुश गर्न सकेका छैनन् । हाम्रो देशमा विभिन्न कारणले झन्डै डेढ दर्जन प्रकारका शिक्षकहरु कार्यरत रहेका छन् । हाम्रो देशको शिक्षाको आमुल परिवर्तनको लागि विभिन्न समयमा भएका अनेक आन्दोलनमा धेरै निर्दोषहरुले सहादत प्राप्त गर्नु पर्यो । यद्वपि हाम्रो शिक्षा नीति अझै पनि उही शिक्षा ऐन २०२८ को संसोधन भन्दा बाहिर आउन सकेको छैन । हाम्रो देशको शिक्षाको अवस्था हाम्रो शिक्षानीति तथा पाठ्यक्रमको छनोट जबसम्म यहाँको भू–वनोट अनुरुप निर्माण हुन सक्दैन फलस्वरुप दक्ष जनसक्ति देश बाहिर पठाउने तथा रोजगारीको अवसर पनि तेस्रो देशमा पठाई रेमिटेन्सबाट देशको अर्थतन्त्र चलाउने भन्दा अरु कुनै दूरदर्शीता तत्कालकालागि देखिँदैन ।

अहिले विश्व महामारीले जनजीवन थिलो–थिलो भएको छ यो अवस्थाको सहि विश्लेषण गर्ने बेला भएको छैन, यद्वपि कतिपय विद्यालयले यहि महामारीको कारण देखाउँदै केहि शिक्षकहरुलाई आफ्नो पेशाबाट हटाउने जस्तो निष्किृट कार्य सार्वजनिक हुदाँसम्म राज्यको तर्फबाट केहि सम्बोधन भएको छैन । यसैगरि राज्य पक्ष मौन बस्ने हो भने पेशागत सुरक्षाको ग्यारेन्टी कसले गर्छ ? राज्यको दायित्व के हो ?

जब कुनै महामारी अथवा बिपत्ति देखा पर्दछन् भने पक्कै पनि त्यो सँग–सँगै नयाँ आशाका किरणहरु पक्कै आउँदछन् । युरोपमा स्पेनिस फ्लु पछी त्यहाँको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन देखा पर्यो भने अफ्रिकामा पनि ईबोला भाइरसको प्रकोप पछाडि त्यहाँ स्वास्थ्यमा निकै राम्रो परिवर्तन भएको पाइएको छ ।

यसैगरि हाम्रो देश नेपाल यहाको भू–वनोट तथा प्राकृतिक पक्षहरुको सहि विश्लेषण गरि यहाँको कृषि क्षेत्रमा राज्यको बजेटको मात्र २–३ प्रतिशत छुट्टाउने गरिन्छ भने शिक्षा जस्तो सम्वेदनशील क्षेत्र जसले भविष्यको मार्ग निर्माण गर्न सक्दछ । जम्मा ८–१० प्रतिशत मात्र बजेट छुट्टाउने कार्यले हामी कहिले पनि आत्मा निर्भर बन्न सक्ने खालको जनशक्ति तयार गर्न सक्दैनौ । के ति जनशक्ति जसले देशमै बसेर आफ्नो क्षमताको समुचित प्रयोग गरि राज्यले निर्माण गरेको शिक्षा नीति अन्तर्गत रही निरन्तर शिक्षण गर्नु अपराध भयो ? जब राज्य संचालन गर्नका लागि जनताबाट चुनिएर गएका जिम्मेवार व्यक्ति नै राज्य प्रति गम्भीर नहुँदा आजको यो समस्या देखिएको छ । जुन भविष्यमा पनि यस्तै किसिमबाट जाने हो भने कहिले पनि अगाडि बढ्न सक्दैन । अहिले हाम्रो देशमा बजेट भाषण हुदै छ अहिले सम्मको तयारी हेर्दा, नीति तथा कार्यक्रमको रुपरेखाबाट पनि परम्पराको निरन्तरता भन्दा अरु केहि छैन ।

तत्कालका लागि केहि सुझाबहरु
– शिक्षामा कुल बजेटको कम्तिमा २० प्रतिशत वजेट विनियोजन गरिनुपर्ने,
– साविक उमाविलगायत राहत शिक्षकहरुलाई प्रक्रिया मिलाएर दरबन्दी सिर्जना गर्ने,
– इसिडि देखि साविकको उमावि, राहत देखि द्वन्द्वपीडितसम्म सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुको पेशागत सुरक्षाको प्रत्याभूति हुनुपर्ने,
– संघिय शिक्षा ऐन जारी गर्नुपर्ने,
– उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्र्वजनिक गर्नुपर्ने,
– श्रम ऐन २०७४ अनुसार न्युनतम तलबमान शिक्षामा पनि लागु गरिनुपर्ने,
– नेपालमा आफ्नो पेशागत अधिकारको सबालमा धेरै पटक सडकमा आएर आन्दोलन गरि धेरै सम्झौता भएका छन् ती जाहेज माग तत्काल पुरा गरियोस ।

शिक्षक वर्ग शासक वर्गको सत्ता प्राप्तिकोलागि प्रयोग हुने भर्याङमात्र नभएर नयाँ समाज निर्माणको लागि सदैव सक्षम र योग्य सिपाही हुन् । जो सँग राज्य सञ्चालन गर्नका लागि आवश्यक विधि योजना कार्यक्रम तथा कार्ययोजना हुन्छन् तसर्थ शिक्षक वर्ग सन्तुष्टि हुने वातावरण भयो भने मात्र समृद्ध नेपालको भविष्य सुनिश्चित हुन सक्दछ ।

अहिले ८० लाख विद्यार्थी लकडाउनका कारण प्रत्यक्ष्य प्रभावित भएका छन् भने लाखौ शिक्षक आफ्नो पेशागत सुनिश्चितताको अन्योलमा रहेका छन् । संस्थागत विद्यालय जुन मूलतः भाडामा सञ्चालित छन् पूर्ण रुपमा बैंकको ॠणबाट चलिरहेका छन् । उनीहरुको समस्या आफ्नो ठाउँमा छ भने त्यस्ता विद्यालयअन्तर्गत रही आफ्नो आर्थिक निर्भरमा रहेका शिक्षक वर्ग झनै विकराल अवस्थामा देखिएको छ ।

यस्तो समयमा पनि शिक्षक वर्ग कसरी विद्यार्थीहरुलाई आफ्नो ज्ञान दिन सकिन्छ भने एकातिर अनलाइन कक्षा सञ्चालन भइरहेका छन् । यस्तै, अर्कोतिर आफ्नो पेशागत दक्षतालाई थप बलियो बनाउन अनलाइन तालिमहरु पनि भई रहेका छन् । हाम्रो देशको बजेट पनि यहि समयमा सार्वजनिक हुँदै छ । देशको नेतृत्व समाजवादी व्यवस्था हुँदै साम्यवादसम्म पुग्ने महान लक्ष्य लिएका महान व्यक्तिहरु भएको यो समयमा साच्चै यो देशलाई नया ढंगबाट लैजान सुनौलो मौका आएको छ आशा गरौं नीति तथा कार्यक्रममा केहि नपरेनी बजेटमा विशेष सम्बोधन हुनेछ र अब रेमिटेन्सबाट होइन देश आफ्नै स्वविवेक प्रयोग गरि देशमै राम्रो गर्न सकिन्छ भन्ने सन्देश बोकेको बाकस संसदमा खोलिनेछ र समग्र शिक्षासेवी, शिक्षाप्रेमी शिक्षा अनुयाई ढुक्कसँग आफ्नो कार्य गर्ने वातावरण बन्ने छ आशा गरौं ।

(भुसाल जनकल्याण मावि बौद्ध काठमाडौंका शिक्षक हुन्)

प्रतिकृया दिनुहोस्