बहुभाषिक शिक्षा किन ?

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२८ जेष्ठ २०७७, बुधबार

शिक्षामा मातृभाषारूको प्रयोग माध्यम भाषाका रूपमा गर्नुको मुख्य र पहिलो उद्देश्य बालबालिकाहरूको शैक्षिक जग बलियो बनाउनु हो। दोस्रो शिक्षामा भाषाहरूको प्रयोग बढाएर भाषिक/सांस्कृतिक/धार्मिक विविधताको संरक्षण सुनिश्चित गर्दै सम्बन्धित समुदायको पहिचान स्थापित गर्नु हो । तेस्रो समुदायमा रहेको मौलिक ज्ञान, विज्ञान, सीप, कला र भाषालाई एउटा पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण गर्नु हो । चौथो संवैधानिक व्यवस्थाबमोजिम नेपालमा बोलिने सबै मातृभाषाहरूलाई सरकारी कामकाजको भाषा बनाउने बलियो आधार तयार गर्नु हो । तर औपचारिक तथा अनौपचारिक शिक्षामा मातृभाषालाई प्राथमिक तहमा माध्यम भाषाका रूपमा प्रयोग गर्नु भनेको विद्यार्थीहरूको अन्तरनिहित क्षमता प्रस्फुटित गराउने र सिकाइ उपलब्धि विशिष्ट बनाउनु नै हो । जसलाई हामीले बहुभाषिक शिक्षा भन्यौं ।

पूर्व प्राथमिक तहदेखि प्राथमिक तहको पाँच कक्षासम्म प्रयोग हुने मुख्य माध्यम भाषा मातृभाषा नै हुनुपर्छ भन्ने मान्यतामा बहुभाषिक शिक्षाको परिकल्पना गरिएको हो । आफूले घरमा बोल्ने भाषामा पठनपाठन सुरू गर्न पाएभने विद्यार्थीहरूले विद्यालयमा घरको वातावरण अनुभव गर्न सक्छन् । उनीहरूमा संकोच र डर भाव हट्न गई आत्मविश्वास पनि बढ्छ । कुरो वा पढाइ नबुझेर विद्यालय छोड्ने विद्यार्थीको संख्या नगण्य हुनेछ । भाषिक समस्याका कारणले विद्यालय बाहिर रहेका बालबालिकाहरू औपचारिक शिक्षाको मूल प्रवाहमा समावेस हुन थाल्छन् । बहुभाषिक शिक्षाको मूल कुरो जानेको भाषा, विषयवस्तु तथा परिवेशबाट नयाँ भाषा, विषयवस्तु तथा सन्दर्भहरू चिनाउने र बुझाउने नै हो ।

हामीले बुझ्नु पर्छ, ‘भाषा मरे संस्कृति मर्छ, संस्कृति मरे पहिचान त पहिचान मरे दर्शन पनि मर्छ ।’ फेब्रुअरी २१, २००० देखि भाषिक तथा सांस्कृतिक विविधता र बहुभाषिकताको संरक्षण र विकास गर्न अन्तराष्ट्रिय स्तरमा समेत मातृभाषाको संरक्षण, विकास र प्रयोगमा वकालत भइरहेको छ । नेपालमा पनि जीवनलाई गुणात्मक बनाउन भाषिक सांस्कृतिक विविधताबीच एकता बढाएर नेपालीहरूको पहिचान सम्मानित बनाउँदै शैक्षिक गुणस्तरमा व्यावहारिक र वैज्ञानिक बनाई राख्न मातृभाषाहरूको प्रयोग गर्नुपर्छ भन्ने मान्यता स्थापित भएको हो । तर सरोकारवालाहरूमा भएको नीतिगत अस्पष्टता र भ्रमले गर्दा शिक्षामा भाषाहरूको प्रयोग नारामा मात्रै सिमित भो ।

परिणामस्वरूप भाषा तथा संस्कृतिहरूको मात्रात्मक र गुणात्मक विकास जतिमात्रामा हुनुपथ्र्यो, त्यसो हुन सकेन । भाषिक–सांस्कृतिक विविधताको प्रयोग बढेर जति विकास हुनुपर्ने हो त्यति भएन, बरू घट्यो । जसले गर्दा भाषाहरू संकटोन्मुख भइरहेका छन् । त्यतिमात्र हैन, विद्यालय शिक्षामा सरकारी कामकाजको नेपाली भाषाको प्रयोगलाई पनि निरूत्साहित गर्न थालिएको छ । त्यसैले जबसम्म भाषा तथा संस्कृतिको प्रयोग शिक्षामा सहजरूपमा प्रभावकारी बनाईंदैन तबसम्म अन्य प्रयासले भाषाहरूको संरक्षण र संस्कृतिको जगेर्ना गर्ने अभियान पनि सफल बन्ने देखिदैन ।

शिक्षामा भाषा तथा संस्कृति र संस्कारको प्रयोग शैक्षिक गुणस्तर बढाउन र मौलिक पहिचान जोगाउनमा केन्द्रीत हुनुपथ्र्यो । नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र संस्कार तथा परम्पराहरूमा गर्व गर्न सिकाउनु पथ्र्यो ।  मठमन्दिर, पाटी पौवा, गुम्बा लगायत ऐतिहासिक सम्पदाको संरक्षण र यसको प्रयोगमार्फत् जिविकोपार्जन सहज बनाउन प्रशिक्षित गर्नुपथ्र्यो । भाषिक समुदायबीचको सहकार्य र सद्भाव बढ्नु पथ्र्यो । तर दुर्भाग्य मुखमा राम राम बगलीमा छुरा पारामा भाषा तथा संस्कृति संरक्षण र विकासको नारा लगाईयो र भाषिक समुदायहरू बिचको सदभाव कमजोर बनाउन खोजियो । भाषा संरक्षण र विकासको आवरणमा र धर्म निरपेक्षताको प्रयोग गरेर धर्मान्तरणका लागि पो आधार तयार गरियो । स्थानीय भाषाहरूमा बाईबलको अनुवाद र साक्षरता कार्यक्रममा अनुवादित बाईबलको प्रयोग व्यापक बनाइयो । तर यस सत्य तथ्यप्रति न राज्य, न राजनीतिक नेतृत्व न त हामी नागरिकले नै चिन्ता जाहेर गयौं ।

शिक्षामा भाषाहरूको प्रयोग गर्नुको मुख्य उद्देश्य शिक्षाको आधारभूत स्तर सुधार्दै सबैका लागि गुणस्तरीय तथा जीवनोपयोगी शिक्षा सुनिश्चत गर्दै नयाँ पुस्तालाई भाषा तथा संस्कृतिको प्रयोग गर्न प्रोत्साहित गरेर यसको संरक्षण र विकास गर्नु नै हो । यहि दुई उद्देश्यलाई केन्द्रमा राखेर हामीले स्थानीय सरोकारवालाहरूलाई भाषा तथा संस्कृतिको महत्त्व बुझाउनु पर्छ । यसका साथै भाषा, शिक्षा र विकासको आवरणमा भइरहेको अनुचित कार्यहरूलाई निरूत्साहित गर्नुपर्छ । यसका लागि भाषाविदहरूले बाह्य प्रभाव र दबावमा नपरी भाषा विज्ञानको कुरा सँग–सँगै यसको व्यवहारमा सफल कार्यान्वयन कसरी गर्ने भन्ने सवालमा ठोस उपाय प्रस्ताव गरेर आफ्नो विज्ञता प्रयोग गर्ने होभने शिक्षामा भाषा तथा संस्कृतिको प्रयोगका लागि समुदायको परिस्थिति र मनस्थिति सकारात्मक बनाउन सकिन्छ ।

भाषा, शिक्षा, शान्ति र सम्वृद्धि एकआपसमा निर्भर छन् । जसलाई सन्तुलनमा राख्न राजनीतिले विशेष भूमिका खेलेको हुन्छ । तसर्थ नेपालले आफ्नो नयाँ परिचय दिन आफ्ना नागरिकलाई किताबी ज्ञान सीपमा मात्र सिमित नगरी नयाँ ढङ्गले प्रशिक्षित गर्नुपर्छ । आफ्नो भाषा, संस्कृति, को प्रयोग र जगेर्ना गर्दै नागरिकलाई अङ्ग्रेजी ज्ञान होईन, यो त भाषामात्र होभनेर बुझाउनु पर्छ । विद्यालय शिक्षामा कुन भाषा कहिलेदेखि कसरी प्रयोग गर्ने भाषिक अधिग्रहण योजना[Language Acquisition Plan] ले बनाएर व्यवस्थित बनाउनु पर्छ । अङ्ग्रेजी कहिलेदेखि कसरी सिकाउने ठीक व्यवस्था गर्नुपर्छ । शिक्षामा अङ्ग्रेजी माध्यम भाषाको रूपमा प्रयोग हुनथालेदेखि हाम्रो शिक्षा व्यवस्था ध्वस्त हुन थाल्यो। शिक्षा ध्वस्त हुनु भनेको देश ध्वस्त हुनु होभनेर समय मैं ख्याल नगर्दा नयाँ पुस्ता माटो नचिनेर देशलाई सराप्दै परदेशिन रमायो। अभिभावकहरूले पनि आफ्ना सन्तानलाई परदेशी बन्नमा नै प्रेरित गरिरहे। राज्यको नीति पनि नागरिक पलायन रोक्नमा हैन बढाउन मै सहयोगी भो । हाम्रो शिक्षामा जति–जति मात्रामा पूर्वीय दर्शनको प्रभाव घट्यो उति–उति मात्रामा नागरिक पलायन बढ्यो ।

संस्कृत भाषालाई जसरी षड्यन्त्र गरेर एउटा कुनामा थन्क्याइयो, त्यसैगरी भाषिक विविधतासहितको पूर्वीय दर्शनलाई पनि थन्क्याउन खोजिदैछ । त्यसैले अब शिक्षाको दर्शन, राष्ट्रिय उद्देश्य, नीति र थितिमा पुनर्विचार गर्नु पर्छ । यति नै बेला ठीक भाषिक नीतिको विकास र प्रयोग गर्न एकिकृत आवाज पनि चाहिएको छ । एउटा भाषा बोल्नेले अर्को भाषा बोल्नेको भाषा संरक्षण र विकासमा सहयोग गर्नुपर्ने भएकोछ ।

बहुभाषिक शिक्षाको प्रभावकारी कार्यान्वयन र निरन्तरताको लागि ध्यान दिनुपर्ने प्रश्नहरूः

१. बहुभाषिक शिक्षा कुन विद्यालयमा किन, कसरी र कसका लागि लागु गर्ने ?
२. कुन तहमा कुन भाषालाई माध्यम भाषा, विषय वा ऐच्छिक विषय बनाउने ?
३. विश्व भाषा बजार हाम्रा भाषाहरूको प्रभाव र अवस्था कस्तो बनाउने ?
४. भाषाहरूको ऐेतिहासिक, सांस्कृतिक, प्राविधिक, आर्थिक र संज्ञानात्मक कुन पक्षलाई प्राथमिकता दिने ?
५. भाषिक विविधतालाई कक्षा कोठामा कसरी व्यवस्थापन गर्ने ?
६. कस्तो भाषिक नीति र योजना लागु गर्ने ?
७. शैक्षिक जनशक्तिलाई कसरी प्रशिक्षित र परिचालित गर्ने ?
८. पाठ्यक्रममा के कस्तो परिमार्जन, सुधार र परिवर्तन गर्ने ?

माथिका प्रश्नहरूमा स्पष्ट नभएसम्म बहुभाषिक शिक्षा कार्यक्रमलाई व्यावहारिक रूपमा कार्यान्वयनमा लैजानका साथै हाम्रो शिक्षा व्यवस्थालाई विवादित नबनाई अपेक्षित सफलता हासिल गर्न सक्दैनौं । अभ्यास, अनुभव र समयले भन्छ, पूर्वीय दर्शनको जगमा शिक्षा व्यवस्थालाई आमूल परिवर्तन नगरी यथास्थिति मै न बहुभाषिक शिक्षा लागु गर्न सकिन्छ न त शिक्षा व्यवस्थाले भोलिको आवश्यकतालाई सम्बोधन गर्न सक्ने नागरिक तयार गर्न सक्छ । ‘शिक्षा प्रणालीले प्रत्येक नागरिकलाई आफ्नै भाषा, ज्ञान र सीपको जगमा केहि नयाँ कुरा सिक्न र वास्तविक जीवनमा यसलाई लागू गर्न सहयोग र्पुयाउनुपर्दछ अन्यथा देश सधैं पछाडि परिरहन्छ।’

त्यसैले दिगो विकासका लक्ष्यहरू पूरा गर्न पनि भाषिक विविधता र बहुभाषिकताको भूमिका महत्त्वपूर्ण हुने भएकोले शिक्षामार्फत् भिन्न भाषिक, सांस्कृतिक समुदायहरूबीच असल सम्बन्ध, सद्भाव र सहकार्यको वतावरण तयार गर्न प्राथमिक तहमा बहुभाषिक शिक्षाको कार्यान्वयन अनिवार्य र पहिलो आवश्यकता भएको छ ।

– चितवन

प्रतिकृया दिनुहोस्