बन्द विद्यालय र निजी शिक्षक

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२८ जेष्ठ २०७७, बुधबार

देश कोरोना भाइरस (कोभिड–१९) महामारीबाट ग्रसित भइरहँदा विद्यालयहरु लामो समय देखि बन्द छन् । सामाजिक दूरी कायम राखेर बल्ल–तल्ल वार्षिक परीक्षाफल सामाजिक सञ्जालबाट प्रकाशन गर्नु वाहेक विद्यालयहरुले अरु खासै कुनै किसिमका कार्यहरु गर्न सकेका छैनन् ।

पाठ्यपुस्तक व्यवस्थापन, नयाँ शैक्षिक कार्यपात्रो तथा कार्ययोजना निर्माण जस्ता कार्यहरु समेत हुन सकेक छैनन् । विद्यालयहरु पूर्ववत् अवस्थामा कसरी सञ्चालन हुन्छन् भन्ने विषय दिनदिनै पेचिलो बन्दै गएको छ ।

यो कोरोना कहरको संत्रासका बिच सरकारी विद्यालयमा अध्यापन गर्ने सरकारी दरबन्दीका शिक्षकहरुमा राज्यबाट नियमित तलबभत्ता प्राप्त हुने हुँदा र विद्यालय सञ्चालन नहुँदा आफ्नो वैयक्तिक काम गर्नका लागि सहज भएका कारण विद्यालय सञ्चालन हुन नसकिरहँदा बहुसंख्यकमा खासै चिन्ता र चासो देखिदैन तर निजी विद्यालयमा अध्यापनरत शिक्षकहरु तथा सरकारी विद्यालयमा निजी स्रोतमा अध्यापनरत शिक्षकहरुमा विद्यालय सुचारु नहुँदा जागिर जोखिममा पर्ने र आफू बेरोजगार हुने चिन्ता बढ्दै गएको छ ।

विद्यालय बन्द भएसँगै जागिर गुमाउनु पर्ने पीडाले शिक्षकहरुलाई शसंकित मात्र बनाएको छैन भोलिका दिनमा कसरी जीविकोपार्जन गर्ने भन्ने अन्यौल पनि बढ्दै गएको छ ।

सरकारी विद्यालयका सरकारी दरबन्दीमा कार्यरत शिक्षकहरुले चैत्र महिना देखिको नियमित तलवभत्ता प्राप्त गरिसके भने सोहि विद्यालयमा निजीस्रोतमा कार्यरत शिक्षकहरुले कहिँ पाउदै नपाएका त कतै केहि पेस्की रकम मात्र पाएका छन् । कतिपयलाई त विद्यालयहरुले विद्यालय बन्द भएको अवस्था देखाइ पेसाबाट विदा समेत दिइसकेका छन् । अर्को  तर्फ निजी विद्यालयमा कार्यरत शिक्षकको पीडा पनि उहि छ । कतिले जागिर छोड्नु पर्ने अवस्था आइसकेको छ भने कतिलाई सुरक्षित नहुने पो होकि भन्ने भय छ । निजी विद्यालय सञ्चालकहरुले आफ्ना शिक्षकहरुलाई विभिन्न विद्यालयीय कार्यमा खटाइरहेका छन् । तथापि उनीहरुले अहिले तलव भने प्राप्त गर्न सकेका छैनन् । कतिपयले पेस्की रकम प्राप्त गरेको भए पनि उक्त पेस्की प्राप्त गर्ने शिक्षकको संख्या अत्यान्तै न्यून छ ।

कसरी विद्यालयलाई नियमित गर्न सकिन्छ भनेर राज्यले विकल्प नदिएसम्म शिक्षकहरुमा भएको मनोवैज्ञानिक संत्रासको अन्त्य हुनेवाला छैन । खास यो समयमा राज्यले पनि कुनै नीति निर्माण गर्न सकेको छैन जसले गर्दा एकातर्फ लाखौं विद्यार्थीको पढाइको अन्यौल छ भने अर्को तर्फ हजारौ निजी स्रोतमा कार्यरत शिक्षकहरुको जागिर धरापमा परेको छ ।

कोरोनाबाट सृजित विषम परिस्थितिमा कसरी विद्यालयहरुलाई नियमित गराउन सकिन्छ भन्ने विषयमा सरकारी विद्यालयको तुलनामा निजी विद्यालय तथा निजी स्रोतमा काम गर्ने शिक्षकहरु बढी संवेदनशील भएर विकल्पको खोजीमा लागेको पाइन्छ । निजी विद्यालयहरुले रातारात आफ्ना शिक्षकहरुलाई प्रविधिमा आधारित तालिमहरुको आयोजना गरेको पाइएको छ ।

देशका ठूला शहरहरुमा त वैकल्पिक कक्षा सञ्चालनका लागि अनलाइन कक्षा ९ख्ष्चतगब िअबिकक० को तयारी गरेर यसलाई मान्यता दिनका लागि राज्यसँग पहल भइरहेको पाइएको छ । तर मुलुकभर अनलाइन कक्षा सञ्चालन गर्न त्यति सहज भने छैन । झट्ट हेर्दा कठिन भए पनि अब कक्षा सञ्चालनका लागि यो भन्दा अर्को खास उपाय पनि सायद छैन । त्यसैले अहिलेको परिवेशमा प्रविधिको माध्यमबाट नियमित विद्यालय सञ्चालन गर्नु विद्यालयहरुको बाध्यता बनेको छ ।

अनलाइन तथा दूर शिक्षा (रेडियो, टेलिभिजन, केवल नेटवर्क, आदि)को माध्यमबाट सिकाइलाई सुचारु गर्नका लागि निजी विद्यालयहरुलाई त्यति सहज त नहोला तथापि उनीहरुको आँट र हिम्मत भने प्रशंसनीय छ । यो अवस्थामा राज्यले सहकार्य गरी तत्काल विद्यालयहरुको परिवेश अनुसार उपयुक्त विकल्पको छनौट गरी या सबै विकल्प प्रयोग गर्ने गरी कक्षा सञ्चालनको आधार स्पष्ट पार्न सके विद्यालय तथा शिक्षकमा भएको अन्यौलको अन्त्य हुन सक्दछ ।

संकटको समयमा श्रम गरेर जीविकोपार्जन गर्नेहरुको श्रमको स्रोत नै गुम्ने हो भने यसले थप संकट सृजना गर्दछ । निजी स्रोतका शिक्षकहरुले अत्यन्तै न्यून तलबमा आफ्नो श्रम साटिरहेको परिवेशमा उनीहरुलाई हक र अधिकारको सुनिश्चितता गर्नुको अलावा सेवाबाट नै अवकास दिने कार्य मानवीय कार्य होइन ।

राज्यको शैक्षिक स्तर उकास्न अहम भूमिका निर्वाह गरेका निजी विद्यालयका शिक्षकहरुको रोजीरोटीको संरक्षण गर्ने दायित्व प्रथमतः निजी विद्यालय सञ्चालक कै हो । यो जिम्मेवारीबाट कोहि पनि पछाडि हट्न मिल्दैन । त्यस्तै गरेर सरकारी विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकहरुको पनि रोजीरोटी गुम्न दिनु हुँदैन । सेवाको सुरक्षा गर्न के गर्न सकिन्छ विकल्पहरुको खोजी गरिनु पर्दछ ।

न्यून ज्यालमा अधिकतम काम लगाएका विद्यालयहरुले संसार नै कोरोनाको संकटमा भएका बेला अमानवीय ढंगबाट विद्यालयबाट निकाल्नु हुँदैन । बरु विद्यालय सञ्चालनका आधारहरु खोजी गरी वैकल्पिक ढंगबाट विद्यालय सञ्चालन गर्नु पर्दछ जसका लागि शिक्षकहरु तयार छन् र तयार हुनेछन् ।

पछिल्लो समय सरकारी विद्यालय र निजी विद्यालयमा कार्यरत शिक्षकहरु वीचमा भएको भेदभाव छताछुल्ल भएको छ । अध्यापन गर्नेलाई शिक्षक भनिन्छ । शिक्षक शिक्षक नै हो त्यो चाहे सरकारी विद्यालयमा शिक्षण गरोस् या कुनै निजी विद्यालयमा । शैक्षिक उन्नयनका लागि शिक्षकको अहम् भूमिका हुन्छ र शिक्षकहरुले निभाएका छन् । कार्य क्षेत्रका आधारमा वा कार्य गर्ने विद्यालयको किसिमका आधारमा शिक्षक वीच भेदभाव हुनु हुँदैन । शिक्षकहरु वीच सद्भाव सहयोग र सहकार्य हुनु जरुरी छ ।

शिक्षकहरुको हक हित र अधिकारका लागि काम गर्ने पेसागत सँघ संगठनहरुले अब निजी क्षेत्रमा काम गर्ने शिक्षकहरुलाई पनि समेटेर सँगसँगै लिएर हिड्नु आवश्यक छ । सबैको साथ र सहयोग भएमा मात्र शिक्षकको पेसागत विकास संभव हुन्छ ।

अहिलेको अवस्थामा दरबन्दीमा कार्यरत शिक्षकहरुलाई भन्दा निजी स्रोतमा कार्यरत शिक्षकहरुलाई समस्या परेको छ । यो अवस्थामा ती शिक्षकहरुको हक र अधिकारका लागि तमाम शिक्षकहरुले हातमा हात काँधमा काँध मिलाएर अगाडी बढ्ने बेला आएको छ । एक शिक्षकको समस्या समाधानक लागि सम्पूरण शिक्षक लाग्ने हो भने शिक्षकका सबै किसिमका समस्या समाधान गर्न सकिन्छ ।

अहिलेको अवस्थामा शिक्षकको पेसाको सुरक्षा विद्यालय सञ्चालनबाट हुने हुँदा अब हामी शिक्षकहरु मिलेर सामाजिक दूरी कायम गरी कोरोना महामारी नियन्त्रण गर्नु पर्ने यो समयमा एक आपसमा सहकार्य गरी वैकल्पिक माध्यमहरुको प्रयोग गरी शिक्षणलाई सुचारु गर्नै पर्ने बेला आएको छ ।

यसका लागि आवश्यक पर्ने प्रविधिमा आधारित शिक्षण सम्बन्धी सीप एक आपसमा आदनप्रदान गर्ने वातावरण निर्माण गर्न शिक्षक सँग सम्बध्द सम्पूर्ण सरोकारवाला सरकारी निकायहरु, निजी विद्यालय संचालकहरु तथा पेसागत सँघ संगठनहरु तत्पार रहनु पर्दछ । खास गरी यो विषयमा विद्यालय संवेदनशील भई स्थानीय निकायको सहकार्य र समन्वयमा वैकल्पिक ढंगबाट कक्षा सञ्चालन गर्ने पहल गर्नुपर्दछ ।

शिक्षकको पेसागत सुरक्षालाई पहिलो प्राथिमकतामा राखि कोरोना कहरको यो विषम परिस्थितिमा विद्यालयहरुलाई पूर्ववत अवस्थामा फर्काउने चुनौती सँग पौखेजोरी खेल्न एकजुट भएर लाग्नुको विकल्प छैन ।

(भट्टराई भानु–२ तनहुँ स्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयका शिक्षक हुन् ।)

प्रतिकृया दिनुहोस्