एसईई परीक्षाको सान्दर्भिकता

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२८ जेष्ठ २०७७, बुधबार

निश्चित ज्ञान प्रदान गरिसकेपछि त्यसको प्रभाव (सिकाइ) जाच्नको लागि परीक्षाको प्रयोग भएको पाइन्छ । शिक्षाको इतिहासमा कालान्तर सम्म विभिन्न स्वरुपमा यसको प्रभाव रहँदै आएको छ । गुरुकुल शिक्षाको सुरुवाती चरणबाटै सिप परीक्षण हुँदै आए । गुरुले आफ्ना शिष्यलाइ दिएको ज्ञान, सिप तथा युद्धकौशलहरु जाच्नका लागि यस्ता परीक्षा लिइन्थे । महाभारत रामायण जस्ता पौराणिक ग्रन्थका पुरुष पात्रहरुले आफ्ना गुरुहरुबाट ज्ञान लिएका कुरा थाहा पाउन सकिन्छ । त्यस समयमा यस्ता ज्ञान सिप कुनै लिखित परीक्षण भएको पाइँदैन ।

आधुनिक शिक्षाको विकासक्रममा ज्ञान प्रदान पश्चात सिप जाच्नु परीक्षा हुनपुग्यो । नेपालको इतिहासमा शिक्षा यस्तै क्रममा संन्चालनमा भइरहेको पाइन्छ । राणाशासन, प्रजातन्त्र, पन्चायत, बहुदल, लोकतन्त्र र संघिय गणतन्त्र व्यावस्था फेरिए । यी सबै व्यवस्थामा हाम्रा विद्यार्थीलाइ एसएलसि एक त्रास मात्र रह्यो । आश रहेन ।

शिक्षाले ज्ञानलाई प्रमाणपत्रमा कैद गरेदेखि हामी यसरी नै शिक्षालाई चलाउँदै छौं । साविक एसएलसीको ८७ वर्षे इतिहासमा परीक्षा उहि क्रममा छ । बेला बखत उसमा मुन्द्रा, टिका, चुरा भिराइयो । कहिले पुरक परीक्षा लगाउने, कहिले हटाउने, कहिले पूर्णाङ्क घटाउने या बढाउने त कहिले प्रयोगात्मक र सैद्धान्तिकका पेपर र्वक मात्र भयो । यी सबै गरि रहँदा पनि ३ घण्टे लेखनीबाट केहि परिवर्तन भएन ।

परिवर्तन भए कयौं कुरा, अङ्कबाट ग्रेडमा पुगियो होला । ६०० पूर्णाङ्कबाट ७०० सयमा पुगियो होला । तर तीन घन्टे परीक्षाबाट ज्ञानलाई कापीमा उतार गर्ने प्रणाली भन्दा टाढा गएनौं । आज १९९० देखि २०७७ सम्म नाँच एकै छ । बस मादल फरक फरक तरिकाले बजाइयो ।

साविक एसएलसीका ८७ वर्षे इतिहासमा उच्चस्तरिय आयोग धेरै बने । सिफरिस धेरै भए । आयोग सँगै सिफरिस पनि उच्च नै बन्यो तर कार्यान्वय जहिलै निम्न रह्यो । पटक पटक संसोधन भएका शिक्षा ऐन हामीले पायौं । २०७३ असार १५ को शिक्षा ऐनको आठौं संशोधनले १—८ आधारभूत र ९—१२ माध्यमिक बनायो ।

जवकी माध्यमिक तहको अन्तिम कक्षा १२ भएपछि कक्षा १० को परीक्षा एसईईको हैसियत ६, ७ कक्षामा लिइने वार्षिक परीक्षाकै सरह हुनुपर्ने होइन ? यसरी हामी हाम्रा विद्यार्थीलाई पुरानै एसएलसीकै नाममा त्रास फैलाइरहनु जायज हो ? यो त अब एसईई भइसक्यो । यो विद्यालय तहको अन्तिम परीक्षा नभएर तह पार गर्ने सामान्य परीक्षा मात्रै बनेको अवस्था छ ।

म सम्झन्छु , मेरा एसएलसीका दिन कस्ता थिए । जनयुद्धको समय थियो । सबै परीक्षा केन्द्र सदरमुकाम केन्द्रित थिए । बुट बजार्दै हिडेका सुरक्षाकर्मीको पहरा बिच दिएका एसएलसी परीक्षा । तयारीमा रहँदा पड्केका बम, गोली उडेका नाइटभिजन हेलिकप्टर सवका सव याद छ । आज त्यो अवस्था छैन ।

मेरो बुबाको समयमा एसएलसी दिएकै भोलिपल्ट मिलेको जागिर मेरो थिएन । मेरा लागि त्यो जागिर स्नातकको पढाइ सम्म कुर्न पर्यो । यसबाट थाहा हुन्छ की, एसएलसी सम्मको पढाइले केहि महत्व राख्दैन ।

हामी र हाम्रा शिक्षाका ठेकेदारहरु परीक्षा लिदैनन् । लिन्छन त परिक्षाका नाममा विद्यार्थीका हुर्मत, सदियौ देखि उहि डर्रा, उहि प्रचलन । हामी लिन्छौ त केवल परीक्षा । लिदैनौं व्यावहारिक उपलब्धीको सहि मापन ।

गत चैत्रमा परीक्षा दिनेगरि पढेका विद्यार्थीले अहिले परीक्षा दिन सक्छन् ? उनीहरुले पढेका पुस्तक त खोज्न सकिन्न भने सिकाइ त परको कुरा हो । सबै मानिस घरमा रहेको यस अवस्थामा आगामी दिन कस्तो होला भन्न सकिन्न । मानसिक, आर्थिक र पारिवारिक तनाव झन् बढ्दो छ । यस्तो विषम परिस्थितीमा पनि एकहोरो परीक्षाकै मात्र नाम लिएर विद्यार्थीमा तनाव दिनु जायज होइन ।

यस वर्ष विद्यार्थीलाइ मात्र घाटा लागेन । तिनका अभिभावकले ७६ बैशाख देखि विद्यालय भर्ना, मासिक शुल्क, कोचिङ शुल्क तथा ट्यूसन शुल्क सबै बालुवामा पानी भएको छ । ४ महिना अघि पढेकै भरमा परीक्षामा केहि लेख्न सक्छन जस्तो लाग्दैन ।

अन्तमा विश्वव्यापि माहामारीको यस्तो प्रतिकुल समयमा पनि कुनै अर्थ नरहेको एसईईलाई लिएर विद्यार्थीलाइ मानसिक तनाव दिनु जायज हो ?

यर्सर्थ अझै ढिलो भएको छैन । राज्यलाइ करौडोको आर्थिक व्यहेभारबाट जोगाउन  विद्यालयले कक्षा १० लाई टेष्ट वा कुनै नाममा लिएको आन्तरिक परीक्षाकै आधारमा कक्षा चढाउने व्यवस्था गर्न ढिलाइ गर्न हुदैन । कक्षा ११, १२ को लागि स्थिति सामान्य बनेपछि परीक्षा लिनु उचित हुनेछ ।

 लेखक प्राविधिक सहायक शिक्षा सेवामा कार्यरत छन्

प्रतिकृया दिनुहोस्