२०७६ मंसिर ४ गते

१२ वर्षमा बिहे, २० नपुग्दै ‘तलाक’

अन्तैबाट

नेपालगन्ज । सदि मुन्निसा शेष (१६) ले पढ्न जान पाइनन्। बा–आमाले टोलकै केटासँग १४ वर्षमै बिहे गरिदिए। केटा तेस्रो लिङ्गी भएको थाहा भएपछि उनको तलाक भयो। कम्दी र राप्ती सोनारीको जंगलबाट दाउरा नेपालगन्ज सहरमा बेचेर परिवारले गुजारा चलाउँछन्। बाबु रोजली शेष गरीबीका कारण छोरीको दोस्रो बिहे गर्न नसकेको बताउँछन्।

रिहाना किंघरिया (१८) को पनि दुई वर्षअघि भारतको बाबागन्जमा बिहे भयो। बिहेको एक महिनामै लोग्नेले अर्की पत्नी घर भित्र याए। एक वर्षसम्म त उनले दुःख कष्ट सहेरै भए पनि घरजम गरेर बसिन्। अर्को वर्ष उनलाई माइत पठाइयो। ‘आजबाट तँ मेरो बैनी भइस्। म तेरो दाइ भएँ। भनेर तीनवटा (तलाक तलाक तलाक) लेखेर चिठ्ठी पठायो’, रिहानाले घटना विवरण सुनाइन्, ‘कुट्थे। खान दिँदैनथे। लोग्ने हो भनेर सहेर बसेकी थिए। मेरो केही गल्ती थिएन। तलाक दिए।’

रिहानाका लागि पनि दोस्रो बिहे गर्न गरीबी बाधक बनेको छ। उनी ‘क्यारिङ’ (नेपालगन्जका व्यापारीका लागि भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याउने काम) बाट गुजारा गरिरहेकी छन्। नसिरन शेष (२२) पनि भारतको बाबागन्जमा बिहे भयो। १९ वर्षमै बिहे गरेकी उनलाई तीन वर्षपछि लोग्नेले तलाक दिए। न अंश पाइन् न नागरिकताको अधिकार नै। भन्छिन्, ‘बुवा बिरामी हुनुहुन्छ। मैले कमाएर ८ जना परिवारको घर खर्च चलाउने हो। कहाँबाट बिहे गर्ने ? ’

तीन बहिनी र तीन भाइमध्ये उनी जेठी हुन्। उनी पनि रिहाना जस्तै भारतीय सामान क्यारिङ गरेर परिवारको जिविकोपार्जनमा सघाइरहेकी छन्। अवैध रुपमा सामान भारतबाट बोकेर ल्याउँदै गर्दा साइकल नेपालगन्ज भन्सार कार्यालयले जफत गरेको उनले सुनाइन्, ‘अहिलेसम्म पाँच वटा साइकल जफत भइसक्यो सर। फेरि अर्को पुरानो साइकल किनेर काम त गर्नुपर्छ।’ उनी बिहे गर्न चाहन्छिन्। बिहे गर्न केटाको पनि समस्या देख्दिनन्।

‘२५ हजारको मोबाइल, मोटरसाइकल र रिङ (सुनको औंठी) दाइजो दिन्छु भनेपछि केटाको समस्या हुन्न सर’, उनले दुःखेसो पोखिन्, ‘साँझ बिहानको गुजारा गर्नै कठिन छ। कसरी यत्रो दाइजो दिन सकिन्छ। पाँच जना भाइबहिनीको बिहे गर्न त बाँकी नै छ। सधैं मेरो लागि बाआमाले कसरी बिहे खर्च जुटाउँछन्।’

यस्तै गेंदवा किंघरिया (२२) को पनि १६ वर्षकै उमेरमा भारतको मिहिपुरुवामा बिहे भयो। २ वर्षमै तलाक भयो। उनले दोस्रो बिहे नेपालमै गरिन्। लोग्नेले पहिले नै बिहे भएको थाहा पाएपछि ६ महिनामै तलाक दिए। उनको परिवारले दाउरा बेचेर गुजारा गर्छ। रसिद्दुन शेषको पनि १६ वर्षमै बिहे भयो र २० वर्ष नपुग्दै तलाक भइसकेको छ। उनको पेशा पनि क्यारिङ नै हो। संवाददातासँग दिउँसो भेट हुँदा उनी भर्खरै भारतबाट चिनी ल्याउँदै गर्दा भन्सारले साइकल र चिनी जफत गरेको ताजा खबर सुनाउँदै थिइन्।

उनका बुवा रफि अर्काको भैंसी चराउन जान्छन्। आमाको मृत्यु भएको ९ वर्ष भइसक्यो। ‘पैसा भए केटाको समस्यै छैन। डेढ लाख रुपैयाँ भए। केटा मिल्छ’, उनले भनिन्, ‘यो पैसा कहाँ पाउँ ? ’ सदि मुन्निसा, रिहाना, नसिरन, गेंदवा र रसिद्दुन नेपालगन्ज उपमहानगरपालिका २२ किंघरियन टोेलका तलाक पीडित किशोरी हुन्। १२ देखि १४ वर्षको उमेरमा बिहे गरेर २० वर्ष नपुग्दै तलाक पाएका थुप्रै जना छन्।

दाइजो दिन नसक्दा उनीहरूको दोस्रो बिहे हुन सकेको छैन। लोपोन्मुख किंघरियन जातिको बस्ती यही किंघरियन टोलमा मात्रै छ। नेपालगन्जदेखि पूर्वमा झन्डै ६ किलोमिटरको दुरीमा रहेको गुजुमुज्ज बस्तीमा तीन सय घर छन्। एउटै घरमा भाइभाइ छुट्टिएर बस्दा एउटा कोठा पनि घर जस्तो भएको छ। एउटै घरमा ६ जनाको परिवार बसेको छ। राष्ट्रिय जनगणना २०६८ का अनुसार एक हजार तीन सय ५० जनसंख्या छ। यो जातिको पुस्ता गन्धर्व जस्तै गाउँगाउँमा किंघरी बाजा बजाएर पैसा तथा खानेकुरा संकलन गर्थे।

तीन महिनामा ३२ उजुरी

डुडुवा गाउँपालिका–२ बेतहनीकी सीताकुमारी केवट मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेमा २ छोरी खोजतलास गर्न पुगिन्। उमेर नपुग्दै भागेर बिहे गरेका छोरी खोजी गरिदिन उनले जिप्रकाको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा जाहेरी पनि दिइन्।

१९ वर्षीया छोरी रिनाकुमारी र १६ वर्षीया नन्दरानी केवट १२ असोजमा गाउँकै ५२ वर्षका रमै यादव र २८ वर्षका लल्लु यादवले भगाएर बिहे गरेको भन्दै उनले खोज तलासको किटानी जाहेरी दिएकी छन्। उनले भनिन्, ‘म भैंसी चराउन गएकी थिए। छोरीहरु घाँस काट्न गएका थिए। रातिसम्म फर्केनन्। भोलिपल्ट गाउँभरी भागेको हल्ला सुनें।’

महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले मंगलबार नै अस्थायी प्रहरी पोष्ट फत्तेपुर र प्रहरी चौकी खडैंचालाई किशोरीको खोजी गर्न र अभियुक्तका बुबालाई हाजिर गराउन पत्राचार गरेको छ। यस आर्थिक वर्षको तीन महिनाको अवधिमा मात्र २१ जना बालिका हराएको अभिभावकले उजुरी दिएका छन्। ती बालिका १४ देखि १९ वर्र्ष उमेर समूहका छन्।

खोजतलासका उजुरीमध्ये ६ जना अभिभावकले छोरीले भागेर बिहे गरेको किटानी दिएका छन्। हराएका अधिकांश बालिका भागेर बिहे गरेका हुने गरेको केन्द्रकी असई सुमित्रा राना बताउँछिन्। त्यस्तै इलाका प्रहरी कार्यालय कोहलपुरमा पनि यो आर्थिक वर्षमा ११ जना बालिकालाई खोजतलास गरिदिन अभिभावकले जाहेरी दिएका छन्।

इप्रका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही भन्छन्, ‘अधिकांश भागेर बिहे गरेका हुन्छन्। सुरूमा अभिभावकले जाहेरी दिन्छन्। केटा र केटीको परिवारबीच कुरा मिलेपछि प्रहरीलाई खबर नै गर्दैनन्।’ बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओली कानुन छल्न २० वर्ष नपुग्दै भागेर बिहे गर्ने गलत संस्कार रोक्न प्रहरीका लागि चुनौती बढेको बताउँछन्।

शंकरप्रसाद खनालले अन्नपूर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: