२०७६ मंसिर २२ गते

ब्रिटिस एमबीए नै किन ?

योगराज कँडेल शर्मा

आजको २१औं शताब्दीमा शिक्षाबिना मानिस दृष्टिविहीन सरह भएको कुरा सर्वविदितै छ। यस कारण भन्न सकिन्छ शिक्षाबिना जीवन अधुरो छ, यो जीवनको अति आवश्यक वस्तु भइसकेको कुरा अब दुई मत रहेन। आज शिक्षाबिना मानिस बाँच्न पनि नसक्ने स्थिति सिर्जना भइसकेको छ।

हाम्रो संविधानले समेत शिक्षाको अधिकार सहर्ष स्वीकार गरी प्रत्येक नेपालीलाई निश्चित तहसम्मको शिक्षा निःशुल्क गरेको छ। आज प्रत्येक नागरिकले शिक्षा के का लागि बुझिसकेका छन्। तथापि आजका दिनमा एक शब्दमा भन्ने हो भने गुणस्तरीय शिक्षा गरिबी हटाउनका लागि हो जसले जीवनलाई फरक र सहज बनाउन मद्दत गर्छ।

ब्रिटिस शिक्षा

विभिन्न तथ्यहरूका अनुसार ब्रिटिस उच्च शिक्षालाई संसारकै सबैभन्दा राम्रो र बढी मन पराइएको छ। हङकङमा गरिएको एक सर्भेअनुसार बुवाआमा आफ्ना बच्चाहरूलाई अन्यत्र मुलुकको शिक्षाभन्दा ब्रिटिस शिक्षामा राख्न नै जोड दिएको पाइएको छ। स्मरण रहोस् हङकङ एक्लैले संसारमा सबैभन्दा बढी विदेशी विद्यार्थीहरू यूके पठाउँछ।

टाइम्स हाइयर एजुकेसनका अनुसार संसारको दुई सय माथिल्लो स्तरका विश्वविद्यालय यूके वा अमेरिकामा रहेका छन्। दुवै देशले गुणस्तरीय शिक्षामा महत्वपूर्ण भूमिका खेलेका छन्। सबैभन्दा राम्रो रिसर्च सुविधाहरू, बौद्धिकतालाई प्राथमिकता, शैक्षिक स्वतन्त्रता, आफू सुहाउँदो छान्न मिल्न कोर्सहरू, शैक्षिक वातावरण दुवै देशको शिक्षा पाइन्छ तर दुवै देशको विद्यार्थी जीवन र विश्वविद्यालयको अध्ययन संरचनामा फरक रहेका छन्।

संसारभर एमबीए देशअनुसार केही भिन्न रहेका छन्। यूके एमबीए अमेरिकन एमबीएभन्दा फरक छ भने अस्ट्रेलियन एमबीए पनि फरक छ। ब्रिटिस एमबीए यस कारण संसारकै राम्रो एमबीए मान्न सकिन्छ।

राम्रो रिसर्च सुविधाहरू

ब्रिटिस एमबीए अध्ययनमा विद्यार्थी, संकाय एवं कर्मचारीहरूका लागि लाइब्रेरीमा हजारौं किताबहरू अध्ययन गर्न, लिन तथा परामर्श गर्नका लागि उपलब्ध हुन्छन् साथै शैक्षिक संस्थाले संसारकै श्रेष्ठ अनलाइन पुस्तक, डाटावेस, जर्नल र पेपरहरू उपलब्धसमेत गराउँछ। यो विद्यार्थीको रिसर्च सपोर्टका लागि गरिने नवीनतम र श्रेष्ठ तरिका हो।

अन्तर्राष्ट्रिय प्रतिष्ठा

ब्रिटिस एमबीए अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठा कमाएको छ भने संसारभर मान्यता प्राप्त छ। नेपालमा समेत त्रिभुवन विश्वविद्यालयलगायत अन्य सबै विश्वविद्यालयले मान्यता दिएका छन्। ब्रिटिस एमबीए संसारकै विशिष्ट एमबीए भएका कारण रोजगारीमा समेत सरल हुने देखिएको छ यसको प्रतिष्ठा संसारमै रहेको छ।

लागत कारक

हाल नेपालमै नेपाली एमबीएकै शुल्कमा ब्रिटिस एमबीए अध्ययन गर्न सकिन्छ। बेलायती कोर्स, प्रमाणपत्र, सुविधा, अनुसन्धानमा सहयोग आदि नेपाल सुहाउँदो शुल्कमा नेपालमै अध्ययन गर्न सकिने यस्तो कोर्स अति सहजरूपमा नेपालमै उपलब्ध रहेका छन्।

समय, शैक्षिक अवधि

ब्रिटिस शैक्षिक क्यालेन्डर कक्षा सञ्चालन पूर्वप्रकाशित भई सम्पूर्ण जानकारी, जस्तै अध्यापन गराउने समय, परीक्षा, परीक्षाफलको मिति सुरुमै जानकारी हुने भएका कारण विद्यार्थीले समयमा नै अध्ययन पूरा गर्न सक्छन र बाहिर जानका लागि समेत कागजात आवश्यकताअनुसार समयमा नै उपलब्ध हुने हुँदा विद्यार्थीको समय खेर जाँदैन।

ग्रेड प्रणाली

ब्रिटिस एमबीएको अध्ययनमा प्रयोग गरिने विधि वैज्ञानिक रहेको छ। परीक्षा लिइने लिखित तरिकाबाट मात्र नभई, प्रदर्शन विधि, अनलाइन परीक्षा, असाइन्मेन्ट, दैनिक उपस्थिति, विभिन्न क्रियाकलापमा सहभागिता, अनुसन्धान आदि मार्फत गरिने साथै ग्रेड संसारमै स्वीकार गरिएको प्रणालीमा गरिन्छ।

सम्पूर्ण संरचना र सामग्री

सबै विद्यार्थीले एउटै अनिवार्य मोड्युल अध्ययन गर्नुपर्ने हुन्छ। प्रत्येक मोड्युलको प्रायः २० क्रेडिट हुन्छ। एमबीए डिग्री पूरा गर्नका लागि एक सय ८० क्रेडिट पास गरेमा मात्र डिग्री पूरा हुन्छ।

मोड्युलको अनुक्रमण यसरी राखिएको छ कि विद्यार्थीले सिक्ने तार्किक प्रगति, सिक्नुका साथै व्यापार चलाउन पहल गर्न सक्ने बनाउँछ।

पढ्ने र सिक्ने रणनीति

कोर्सको डिजाइन यसरी गरिएको छ जसले विद्यार्थीलाई पढ्न बाध्य गराउँछ। जसले अध्ययन कार्यक्रमवाट आश्चर्यजनक अवसरहरू प्रदान गर्छ। विद्यार्थी केन्द्रित लर्निङ विधिअनुसार अध्यापन गराइन्छ। कोर्समा वर्तमान केसहरूको अध्ययन, भिडियो, व्यावहारिक व्यायाम, रोल प्ले साथै लेक्चर र सेमिनारहरू गराइन्छ।

सही पाठ्यक्रम र अनुसन्धान गर्न सहज

आफूले चाहेअनुसारका कोर्सहरू उपलब्ध हुने र अनुसन्धानका लागि आवश्यक सुविधा र लेक्चर उपलब्ध हुने हुँदा यसमा विद्यार्थीको रुचि दिनप्रतिदिन बढ्दो छ।

अंग्रेजी भाषाको ज्ञानमा वृद्धि र आत्मविश्वास

ब्रिटिस एमबीए गर्दा थाहा नहुने तर व्यापक फाइदा हुने भनेको नेपाली विद्यार्थीको अंग्रेजी भाषामा ज्ञानको वृद्धि हुनका सानै व्यक्तिको व्यक्तित्वमा आश्चर्यजनक प्रगति देखिन्छ भने आत्मविश्वासको स्तर अत्यधिक बढ्छ।

सबैभन्दा पुरानो शैक्षिक इतिहास

ब्रिटिस एमबीए संसारमै सबैभन्दा पुरानो एमबीएका रूपमा रहेको छ, भने सबैभन्दा पुरानो इतिहास बोकेको शिक्षा हो। समयसापेक्ष अनुसन्धान गरी बजार सुहाउँदो र बजारमा बिक्ने श्रमशक्ति उत्पादन गर्ने गरेको छ।

परिणाममुखी

ब्रिटिस एमबीए परिणाममुखी शिक्षाका रूपमा अनुसन्धान गरी विकास गरिएको छ। अध्ययनले कामसँग सम्बन्धित कौशल विकास गर्ने, कौशलको प्रयोग विधि, विषय ज्ञानको सही सदुपयोग, कैरियर विकास साथै जीवनका लागि कौशल विकास गर्ने र समस्या समाधान गर्ने तरिका र काम सक्रिय वैज्ञानिक रूपमा गर्न सिकाउँछ भने नैतिक पनि बनाउँछ।

यसरी हेर्दा ब्रिटिस शिक्षा संसारभर फैलिएको छ भने हाल आएर नेपालमा पनि ब्रिटिस एमबीएको माग बढ्दो छ। दिनप्रतिदिन विद्यार्थी संख्यामा वृद्धि भइरहेको छ। विद्यार्थीले ब्रिटिस एमबीए पूरा गरेमा फाइनल एवार्डका रूपमा मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसनको डिग्री प्राप्त गर्छन्।

ब्रिटिस एमबीएले विशेष गरेर दुईवटा कुरामा जोड दिएको छ। यसले ज्ञान र सामरिक नेतृत्व विकासमा जोड दिएको छ। जसले कुनै पनि संस्थालाई सफल रूपमा अगाडि बढाउन सक्छ। यसको डिजाइन रोजगारीको क्षेत्रमा बजारको रहेको आवश्यकताअनुसारका सम्भावित प्रबन्धक जसले रणनीतिस्तरमा व्यवस्थापन गर्न महत्वपूर्ण योगदान गर्न सकोस्।

(शर्मा नामी कलेजका प्रमुख कार्यकारी अधिकृत हुन्।)

 

-अन्नपूर्णपोष्ट दैनिकबाट

Comments: