• विद्यालयसम्म योगाभ्यास सुरु
    (अन्तैबाट)

  • धनगढी । सुदूरपश्चिम प्रदेशका २ सयभन्दा बढी विद्यालयका १० हजार बालबालिकालाई योगाभ्यास सुरु गरिएको छ । आगामी शैक्षिक सत्रदेखि प्रदेशअन्तर्गतका सबै विद्यालयमा लागू गरिने आयुर्वेद र योग शिक्षालाई समेटेर शैक्षिक पाठ्यक्रमसमेत तयार गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    निर्देशनालयअन्तर्गत आयुर्वेद तथा विविध सेवा शाखाले तयारी सुरु गरेको हो। हाल प्रदेशअन्तर्गतका ९ वटै जिल्लाका ४२ आयुर्वेद स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र पतञ्जलीका योग शिक्षकले योगाभ्यास गराएको सामाजिक विकास मन्त्रालयका योग चिकित्सक डा. चेतराज जोशीले बताए।

    धनगढीस्थित ऐश्वर्य विद्या निकेतनमा अध्ययनरत खगेन्द्र जोशी प्रदेश स्वास्थ्य निर्देशनालयले सञ्चालन गरेको योग प्रशिक्षणमा सुरुमै सहभागी भए। ५ दिनसम्म योगाभ्यास गरिसकेपछि शरीरमा फूर्तिपन आएको उनले सुनाए। ‘कलिलै उमेरदेखि योगभ्यासमा प्रेरित गर्ने कार्यक्रमले स्वस्थ शरीरमात्र नभई सकारात्मक सोचाइ विकास हुने महसुस भएको छ,’ उनले भने।

    ग्रामीण क्षेत्रका विद्यार्थीलाई पनि सातामा २ दिन योग गराउने कार्यक्रम थालिएको निर्देशनालयले जनाएको छ। उनीहरूलाई योगको परिचय तथा महत्त्व, नसर्ने रोग व्यवस्थापन र जीवनशैलीगत रोग नियन्त्रणमा आयुर्वेद र योगको भूमिका, स्मरणशक्ति बढाउने, आत्मविश्वास र व्यक्तित्व विकासका लागि आसन र प्राणायाम, दिनचर्या, मुख्य १० जडीबुटी र प्राणायामको अभ्यासलगायतबारे जानकारी प्रदान गरिँदै आएको निर्देशनालयले जनाएको छ। यस प्रदेशमा रहेका ८८ स्थानीय तहमध्ये ३८ मा आयुर्वेद स्वास्थ्य संस्था छन्। पहिलो चरणमा सम्बन्धित स्थानीय तहअन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई योगाभ्यास सुरु गरिएको डा. जोशीले बताए।

    विद्यालयका बालबालिकामा स्मरणशक्ति बढाउन, आत्मविश्वास वृद्धि गराउन र व्यक्ति विकासका लागि योग शिक्षा र अभ्यास महत्त्वपूर्ण माध्यम हुने प्रमाणित तथ्यका आधारमा यो कार्यक्रम लागू गरिएको उनले बताए। ‘पहिलो चरणमा २ सय विद्यालयका कम्तीमा १० हजार विद्यार्थीलाई योगाभ्यासमा सहभागी गराइएको छ,’ डा. जोशीले भने, ‘आउँदो शैक्षिक सत्रदेखि प्रदेशका सबै विद्यालयमा योग शिक्षा अनिवार्य गर्ने योजना अघि बढेको छ।’

    प्राचीन समयमा ऋषिमुनिहरूले प्राकृतिक उपचारका क्रममा गर्ने गरेका हरेक क्रियाकलाप तथा विधि र शारीरिक अभ्यासलाई योग भनिन्छ। हाल योगको महत्त्व बढेको छ। सन् २०१५ देखि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेसँगै योगको महत्त्व झन् विस्तार भएको हो।

    शरीरमा हुने विभिन्न प्रकारका समस्यालाई प्राकृतिक रूपमा आसन र प्रणायामको माध्यमबाट निको पार्न सकिन्छ भन्ने योगले प्रमाणित गरेको बताइन्छ। अस्पतालमा उपचार हुन नसक्ने बिरामीलाई फिजियो थेरापीमार्फत उपचार गराइनुले पनि योगको महत्त्व थप प्रस्ट पारेको छ। अर्कोतिर योग साधना र अभ्यासले सकारात्मक सोच, व्यक्तित्व विकास, तनाव व्यवस्थापन तथा स्वस्थ रहन मद्दत गर्ने योग प्रशिक्षक कुलबहादुर हमाल बताउँछन्।

    बाल्यावस्थादेखि नै योगाभ्यासमा प्रेरित गर्न सके अबको पुस्ता स्वस्थ र विद्वत हुने योग प्रशिक्षक बताउँछन्। सुदूरपश्चिम सामाजिक विकास मन्त्रालय प्रदेश स्वास्थ्य निर्देशनालयले सुरु गरेको यो कार्यक्रम सकारात्मक रहेको पतञ्जली नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्र बताउँछन्। निर्देशनालयले ४२ वटै आयुर्वेद संस्थाका प्रमुखलाई ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम दिएर गाउँ पठाएको छ। तालिम लिएर गाउँ पुगेका आयुर्वेद स्वास्थ्य संस्थाका प्रमुखले पतञ्जलीका योग प्रशिक्षकहरूको सहकार्यमा विद्यालयमा योगाभ्यास गराउने निर्देशनालयका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जनाए। यसका लागि हरेक संस्थालाई ८५ हजार उपलब्ध गराइने अवस्थीले बताए।

    प्रदेशमा आयुर्वेदिक प्रतिष्ठान स्थापनाको प्रक्रियासमेत सुरु भएको छ। सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान ऐनका लागि प्रदेश सरकार मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त गरी कानुन मन्त्रालयमा पुगिसकेको छ। उक्त ऐन बनेपछि धनगढीको राजपुरमा निर्माणाधीन अवस्थामा रहेको ५० शय्याको अस्पताललाई प्रतिष्ठानमा विकास गरी त्यहीबाट आयुर्वेद चिकित्सामा एमडी र एमएस अध्यापन गराउने उद्देश्य अगाडि बढ्ने आयुर्वेद चिकित्सक डा. खगेन्द्र बम बताउँछन्। प्रतिष्ठानका लागि प्रदेश सरकारले चालु बजेटमा २ करोड विनियोजन गरेको छ।

    स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्नु र रोगीको रोग निको पार्नु आयुर्वेदिक उपचार पद्धतिको मुख्य उद्देश्य हो। पछिल्लो समयमा नसर्ने रोगहरूले मृत्यु हुने क्रम बढदो छ। यी समस्या न्यूनीकरण गर्न विद्यालय तहदेखि नै योग शिक्षा लागू गर्नु उचित विकल्प भएको सामाजिक मन्त्रालयकी आयुर्वेद स्वास्थ्य सहायक दीक्षा भण्डारीले बताइन्।

    सुदूरपश्चिमका पहाडी जिल्ला जडीबुटीको भण्डार मानिन्छ। प्रदेश मन्त्रालयको योजना पनि स्थानीय तहमा योग शिक्षासँगै आयुर्वेदसमेत जोडदै लैजाने रहेको डा. जोशी बताउँछन्। यही उद्देश्यले कैलालीको गौरीगंगा नगरपालिकामा हर्बल गार्डेनका लागि ५० लाख विनियोजन गरिएको डा. जोशीले बताए। ‘हामीले काम सुरु गरिसकेका छौं,’ नगरपालिका उपप्रमुख अञ्चला चौधरीले भनिन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि जडीबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापनाका लागि १० करोड विनियोजन गरेको छ।

    अर्जुन शाहले कान्तिपुरमा खबर लेखेका छन् ।