२०७६ असोज २ गते

यार्चा खोज्दै शिक्षक–विद्यार्थी

रुकुम पूर्व । शिक्षक र विद्यार्थी यार्चा टिप्न गएपछि जिल्लाको लेकाली भेगका विद्यालय बन्द भएका छन् । बन्द हुनेमा यार्चा पाइने वन क्षेत्र नजिकका विद्यालय छन् ।

 यार्चा सिजन लागेसँगै पुथाउत्तरगंगा गाउँपालिकाका एक मावि र ६ आधारभूत विद्यालय गतसाता नै बन्द भएका हुन् । यहाँ पुथा हिमालय माविका अतिरिक्त पुसर, पेल्मा, गुइवाङ, तिञ्ज्याङ, हर्दिवाङ र रन्मा आधारभूत विद्यालय छन् ।

अघिल्ला सिजनमा जस्तै यसपालि पनि बर्खे बिदा कटौती गर्ने गरी शिक्षक र विद्यार्थी बुकीतिर लागेका हुन् । ‘गाउँका र केही बाहिरका शिक्षक बुकी पुग्नुभएको छ, विद्यार्थी भने लगभग सबैजसो बुकीतिरै छन्,’ स्थानीय कर्म घर्तीले भने ।

पुथा हिमालय माविका प्रधानाध्यापक हस्तिमान पुन पनि बुकीमै छन् । उनले यार्चा टिप्न सबै विद्यार्थी जाने भएकाले विद्यालय बन्द गरिएको बताए । ‘अभिभावकसँगै सबै विद्यार्थी बुकी उक्लिन्छन्, हामी शिक्षक मात्रै गएर भएन, त्यसैले हरेक सिजनजस्तै यसपालि पनि विद्यालय बन्द गरेका हौं,’ पुनले भने ।

स्थानीयको आम्दानीको मूल स्रोत नै यार्चा भएकाले सर्वसाधारणसहित विद्यार्थीको ध्यान बुकीतिर जाने गरेको छ । ‘खास कमाइ हुने सिजनलाई मान्छेले छाड्न चाहन्नन्, त्यसैले वर्षे बिदा कटाउने गरी यस सिजनमा विद्यालय बिदा दिने गरेका छौं,’ पुनले भने ।

केही वर्षयता यार्चा पाइने वन क्षेत्रका विद्यालय मात्रै बन्द गर्न थालिएको हो । पहिले आसपासका विद्यालय पनि बन्द गरिन्थे । पहिले यार्चा सिजनमा विद्यालय दुई महिनासम्म बन्द हुन्थे । अहिले त्यसलाई एक महिनामा झारिएको छ । यार्चा संकलन खुला हुनुभन्दा केही दिन पहिला नै विद्यालय बन्द गरिन्छन् । पुथाउत्तरगंगा गाउँपालिकाका दुई वडाका पुपाल, अर्विजा, जंगला, पूर्वाङ, भित्रिवन, उङला, निम्कु, पानी ढल, फूलबारीलगायत ठाउँमा यार्चा पाइन्छ ।

‘यार्चा टिप्ने समय हाम्रा लागि महत्त्वपूर्ण छ, यसमा को शिक्षक, को विद्यार्थी, को अभिभावक भन्ने हुन्न, सबै यार्चा खोज्ने नै हुन्छन्,’ स्थानीय भरतकुमार पुनले भने ।

कान्तिपुर दैनिकमा खबर छ ।

Comments: