२०७६ भदौ ३ गते

यस्तो पो स्कुल भवन

दोलखा । पहाडको चिसो सिरेठोका बीचबाट एउटा सामुदायिक विद्यालयको हाताभित्र पुग्नेबित्तिकै कुनै उच्च तहको होटलभित्र छिरेजस्तो आभास हुन्छ । समुद्री सतहबाट २ हजार ६ सय मिटर उचाइको लाकुरीडाँडास्थित सुर्के माविको मूल ढोकाबाटै विद्यार्थीलाई सुविधा र आकर्षण दिने सजावट गरिएका छन् ।

स्थानीय कला संस्कृति र वातावरणअनुकूल पर्खालले घेरिएका मैदान र घरहरू छन् । व्यवस्थित कक्षाकोठा, पुस्तकालय, विज्ञान र कम्प्युटर ल्याबहरू छन् । आधुनिक सुविधायुक्त शौचालय छ ।

भूकम्पले भत्किएपछि एसओएस बालग्रामले भारतका सारुक मिस्त्रीबाट डिजाइन गराएको उक्त भवन पर्यटकका लागि पनि अवलोकन गर्ने ठाउँ भएको छ । २० कोठाको आकर्षक भवनहरूलाई पर्यटन मन्त्री रवीन्द्र अधिकारी र एसओएसका अन्तर्राष्ट्रिय अध्यक्ष सिद्धार्थ कौलले बुधबार स्थानीयलाई हस्तान्तरण गरे ।

खरिढुंगा, निर्माणाधीन चलचित्र नगरी र शिवपोखरीसँग जोडिएको विद्यालय क्षेत्रको परिवर्तित स्वरूपलाई स्थानीयले अमूल्य कोसेलीको रूपमा लिएका छन् । ३ सय ५० जना अधिकांश निम्न र केही मध्यमवर्गीय नागरिकका छोराछोरी अध्ययन गर्ने विद्यालयका हरेक संरचनाहरू नौला प्रकृतिका छन् । तामाङ र नेवार समुदायको बाहुल्य रहेकाले त्यही समुदायको संस्कारहरूलाई भित्ता, झयालढोका र कोठाहरूमा प्रयोग गरिएको छ ।

हेलिकप्टरबाट आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय रूपमा असल कार्य गर्ने छवि बनाएको एसओएसले अत्यन्तै सुन्दर र सुविधायुक्त भवन विद्यालय समुदायलाई दिएकोमा खुसी लागेको बताए । उनले सुन्दर र सुविधायुक्त भवनले विद्यार्थीको गुणस्तरसँग दिने परिणाम महत्त्वपूर्ण हुने बताए । शिक्षकले विद्यार्थीलाई राम्रो पढ्ने वातावरण दिनसके राम्रो भवनको सार्थकता हुनेमा उनले जोड दिए ।

भौतिक तथा शैक्षिक सामग्रीसमेत गरेर कुल ७ करोड ९४ लाख ४२ हजारमा निर्मित भवनमा अध्ययन थालेका विद्यार्थी पहिलेको अव्यवस्थित भवनलाई सम्झिन्छन् । ढुंगाका गारो, टिनका छाना, खापा नभएका झयालमा कठयांग्रिँदै अध्ययन गरेको सम्झना राख्ने तुलसी मानन्धरलाई नयाँ भवन देख्दा उत्साहित बनाउँछ ।

वरपरका गाउँहरूमा भएका सामुदायिक विद्यालय र आफ्नो घरछेउको विद्यालयसँग तुलना गर्दा उनी आफूले कख सिकेको विद्यालयको अवस्था आकाश–जमिनको अन्तरमा राम्रो देख्दा भावी पुस्तालाई भाग्यमानी ठान्छिन् । नयाँ स्वरूप र सुविधासम्पन्न नै बनाउनुपर्छ भन्ने निर्णयका साथ विद्यालय भवन बनाएको एसओएसका सल्लाहकार शंकर प्रधानांगले बताए । भूकम्प प्रभावित बालबालिकाले खुसीसाथ पढ्न पाउन भन्ने उद्देश्यसाथ सकेसम्म राम्रो भवन बनाएको उनले बताए ।

बलियो, मर्मत गरिरहनु नपर्ने, मौलिकता झल्कने र फेरि अर्को विपत्ति आइपर्दा शरण लिन सक्ने डिजाइनको विद्यालय भवन बनाएको उनले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर श्रेष्ठले ज्यालामजदुरी गरेर जीविका गर्ने अभिभावकका छोराछोरीले बोर्डिङ स्कुलभन्दा पनि सुन्दर भवनमा पढ्न पाउने वातावरण पाएको बताए ।

अति नै सुन्दर कोसेलीको रूपमा नयाँ भवनलाई लिएको बताउँदै उनले भवनको स्वरूपमा पढाइ पनि भइदिए यो समुदायको मुहार फेरिनेमा उनी ढुक्क छन् । विद्यालयको क्षेत्रफल १० रोपनी जमिनमा फैलिएको छ । प्रधानाध्यापक जयबहादुर श्रेष्ठले भवनको कुनै पनि स्वरूप बिग्रन नदिने गरी प्रयोग गरिने बताए ।

राजेन्द्र मानन्धरले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: