२०७६ मंसिर २ गते

अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीचको बिहीवारको वार्ता पनि निस्कर्ष वीहिन

 


काठमाडौं । अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीचको बिहीवारको वार्ता समेत निस्कर्ष वीहिन भएको छ । साँझ अबेर सम्म चलेको शिक्षामन्त्री सहितको वार्ताले कुनै ठोस निस्कर्ष निकाल्न नसकेपछि शुक्रवार पुनः बस्ने गरी वार्ता स्थगित भएको हो ।


बुधवार अस्थायी शिक्षकका प्रतिनिधि, शिक्षा मन्त्रालयका कर्मचारी र नेपाल शिक्षक महासंघका प्रतिनिधि बीच भएको छलफल समेत बिना निस्कर्ष टुंगिएको थियो ।


वार्तामा मन्त्रालय र अस्थायी शिक्षकहरुले आ–आफ्नो अडान नछाडेपछि  सहमति निस्कीएन । उपप्रधानमन्त्री समेत रहेका शिक्षामन्त्री गोपालमान श्रेष्ठले  अस्थायी शिक्षकहरुलाई अमरण अनशन तोडेर परीक्षामा सहभागी हुन आग्रह गरेको भएपनि अस्थायी शिक्षकहरुले त्यसलाई अस्वीकार गरिदिए पछि वार्ता निचोडमा पुग्न सकेन ।


वार्तामा शिक्षामन्त्री श्रेष्ठले आन्दोलन छाडेर परीक्षाको प्रक्रियामा सामेल हुनुपर्ने साथै, अस्थायी शिक्षकहरुले परीक्षा नै खारेज हुनुपर्ने अडान राखेपछि वार्ता कुनैपनि टुंगोमा पुग्न नसकेको हो ।


शिक्षा मन्त्रालयले अस्थायी शिक्षकहरुलाई आन्दोलन छाडेर सुविधा र परीक्षाको प्रक्रियामा  सहभागी भए औषधी उपचार र बिरामी बिदाको सुविधा दिन सकिने बताएको थियो ।


तर, आयोग खारेज नभईकन आन्दोलन नछाड्ने अडान अस्थायी शिक्षकहरुले लिएपछि छलफल बिना निस्कर्ष टुंगिएको वार्तामा सहभागी अस्थायी शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिका अध्यक्ष विन्दा कुमार दास चौधरीले जानकारी दिए ।

Comments: