२०७६ असोज २७ गते

‘साढे २६ करोड विद्यालय बाहिर’

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले विश्वका २६ करोड ४० लाख बालबालिका अझै विद्यालयबाहिर रहेको जनाएको छ । युनेस्कोले भर्खरै सार्वजनिक गरेको विश्वव्यापी शैक्षिक अनुगमन प्रतिवेदन २०१७/१८ मा शिक्षा साझा विषय भएकाले सबैले जिम्मेवार ढंगले दिगो बनाउनुपर्ने औंल्याइएको छ ।

 ‘दिगो विकासको एजेन्डा २०३० को एउटा अंगका रूपमा रहेको दिगो विकास लक्ष्य–४ हासिल गर्न पनि यो आवश्यक छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘हरेक बालबालिकाको शिक्षा पाउने अधिकार सुनिश्चित गर्न सरकार, विद्यालय र शिक्षकले विद्यार्थी र अभिभावकसँग मिलेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ ।’ शिक्षाको अधिकार सुनिश्चित गर्ने निकायले जिम्मेवारी वहन गर्न नसक्नुका कारण पहिचान गर्नुपर्ने र बेलैमा थप प्रगति गर्न जिम्मेवारी तथा जवाफदेहिता प्रस्ट रूपमा तोकिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

‘जवाफदेहिताको अभावमा प्रगति नहुन सक्छ वा भइहाले पनि न्यून हुन सक्छ, शैक्षिक प्रणालीभित्र नकारात्मक अभ्यासले स्थान पाउन सक्छ,’ प्रतिवेदनमा छ, ‘गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार अक्षम भएको अवस्थामा नाफामुखी क्षेत्र सक्रिय हुने गर्छन् । यस्ता क्षेत्रले नीति नियमबिनै शिक्षा प्रदान गछन् । फलस्वरूप सीमान्तकृत वर्ग शैक्षिक अवसरबाट वञ्चित हुन पुग्छ ।’

कान्तिपुरबाट

Comments: