२०७६ असोज ३० गते

उमेरले नछेकेको पढाइ

अन्तैबाट

जनकपुर । उमेरले डाँडा काटिसक्यो तर पनि जोस पटक्कै घटेको छैन । हरेक बिहान साइकल चढेर क्याम्पस जान्छन् ८० वर्षे रामनारायणप्रसाद मण्डल । अध्यापक होइन, विद्यार्थी बनेर ।

जनकपुर उपमहानगरपालिका–४ गंगासागर हरिश्चन्द्र मार्गका उनी स्थानीय आरआर बहुमुखी क्याम्पसमा स्नातकोत्तर पढदै छन् । पहिलो सेमेस्टरका विद्यार्थी हुन् उनी ।

राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरी दुई दशक उच्च तहको सरकारी सेवाको अनुभव बटुलिसकेका उनको रहर चाखलाग्दो छ । अहिले अंग्रेजी साहित्य विषयमा स्नातकोत्तर गर्न तम्सिएका छन् । ‘ज्ञान, बुद्धि र विवेकले वृद्ध उमेरमा पनि ऊर्जा मिल्ने भएकाले क्याम्पस पढैछु,’ उनले भने ।

जनकपुरदेखि ८ किमि दक्षिण धनौजी–५ बहुअर्वामा १९९५ सालमा जन्मिएका मण्डलले सानैदेखि पढने अवसर पाएका थिए । जमिन्दारका परिवारमा हुर्किएका उनले गाउँमै प्रारम्भिक शिक्षा पाए पनि भारत विहारको मधुवनीस्थित सुँढी स्कुलबाट मेट्रिक उत्तीर्ण गरेका थिए । मधुवनीकै आरके कलेजबाट प्रविणता प्रमाण पत्र र दरभङ्गास्थित सिएम कलेजबाट स्नातक गरेका उनले त्रिभुवन विश्वविद्यालयवाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरे ।

२०२३ सालमा अञ्चल शिक्षा अधिकारीमा नियुक्ति पाए । १६ वर्ष सरकारी सेवामा रहे । अञ्चलबाट जिल्ला शिक्षा कार्यालय विस्तार भएपछि जिल्ला शिक्षा अधिकारीका रूपमा काम गरे । २०२९ सालमा उपसचिव भए । शिक्षा निर्देशकको रोलक्रममा रहे पनि राजनीतिक पहुँचको अभावमा नपाएको उनले बताए । त्यसपछि बीस वर्ष अवधि नपुग्दै स्वैच्छिक अवकाश लिए ।

अवकाश लिएपछि २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा हेमबहादुर मल्लसित प्रतिस्पर्धा गरे । तर, पराजित भए । ‘राजनीतिमा इमानदार, सत्य बोल्ने मान्छे टिक्दैनन्, ढाँटछल गर्नुपर्ने, झूटो बोल्नुपर्ने भएकाले मेरो आचरणसित मेल खाएन, मण्डलले भने । सरकारी सेवा र राजनीतिबाट अलग भएपछि शिक्षा क्षेत्रबाट समुदायको सेवा गर्ने उद्देश्य लिए । धनुषाको गोदारमा सञ्चालित सिता विद्याश्रम मावि उनैले स्थापना गरेका हुन् ।

उनका छोराछोरीले समेत त्यहीँबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि जनकपुरमा गुरुकुल आवाशीय अंग्रेजी विद्यालय सञ्चालन गर्दै आएका छन् । श्रीमती, छोरा, बुहारी शिक्षण पेसामै छन् । ‘म आफैं पनि अंग्रेजी पढाउँछु तर विद्यालयबाट केही लिन्नँ,’ उनले भने, ‘पर्याप्त जमिन छ, घर छ, जीवनको अन्त्यसम्म पढने र पढाउने लक्ष्य छ ।’

आरआर बहुमुखी क्याम्पसमा यो सेमेस्टरमा अंग्रेजी साहित्य पढ्ने ४ जना छन् । एक जना कक्षामा आउँदैनन् । तीन जनामध्ये पनि नियमित आउने मण्डल मात्रै हुन् । प्राध्यापक बालकेशर ठाकुरका अनुसार मण्डल पढाइमा जिज्ञासु र अब्बल छन् । ‘ज्ञान भनेको शक्ति हो, ज्ञानले ऊर्जा दिन्छ, त्यसैले मण्डलको मुहारमा वृद्धपन पटक्कै छैन,’ उनले भने, ‘पढाइमा गम्भीर रहेका उनलाई पढाउन छुट्टै मज्जा छ ।’

मण्डल विहान ४ बजे उठेर शारीरिक व्यायाम गर्छन् । ७ बजे क्याम्पस जान्छन् । दस बजेतिर फर्कन्छन् । दिउँसो स्कुलमा पढाउँछन् । अपरान्ह ३ बजेतिर मन्दिर जाने, पूजाआजा सकेपछि साँझ टेलिफिल्म हेर्ने र दस बजे सुत्ने उनको बानी छ । यसबाहेक उनको दिनचर्या सामाजिक कार्यमा पनि बित्छ । गाउँमा पोखरी खनाउने, घाट बनाउने, मठ मन्दिर धर्मशाला निर्माण, मर्मतसम्भारमा सरिक हुन्छन् ।

धानुकहरूको डिक्का महासंघको राष्ट्रिय अध्यक्ष र मण्डल सेवा आश्रमको पनि संस्थापक अध्यक्ष छन् । विभिन्न संघसंस्थामा आवद्ध उनी जिन्दगीको अन्तिम क्षणसम्म सेवा गर्ने, शिक्षाको ज्योति फैलाउने लक्ष्य रहेको बताउछन् । कुनै दृष्टिविहीनले संसार देख्न सकोस भनेर तिलगंगा आाखा केन्द्रलाई नेत्रदानसमेत गरिसकेका छन् ।

मण्डलले केही किताब लेखेर प्रकाशन पनि गरिसकेका छन् । मुलुकको विकासका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको र ज्ञानबिना विकास र समृद्धि असम्भव रहेको उनको धारण छ । विदेशमा पढेर नेपालमा लागू गर्ने शिक्षा पद्धति सुहाउँदो नभएको उनले बताए । ‘कक्षामा शिक्षाकै बारेमा बहस हुन्छ, छलफल विश्लेषण गर्छांै,’ उनले भने, ‘यहाँ प्राविधिक र व्यावहारिक शिक्षा बढी आवश्यक छ ।’

शाहीमान राईले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: