राप्रपाको आन्दोलनका कारण शिक्षकहरूको भोलिको प्रदर्शनको समय सारियो

अब बिहान ९ बजेदेखि १२ बजेसम्म गर्ने

Avatar photo

Byएजुकेशन पाटी

६ बैशाख २०८२, शनिबार

काठमाडौँ । शिक्षक महासंघले भोलि (आइतबार) गर्ने प्रदर्शनको समय सारेको छ । यसअघि दिउँसो १२ बजेदेखि ३ बजेसम्म गर्दै माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गर्दै आएको महासंघले आइतबार भने बिहान ९ बजेदेखि १२ बजेसम्म गर्ने भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि आइतबार राजधानीमा वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्न लागेको छ। पार्टीले बिजुलीबजार पुलमा प्रदर्शन गर्न लागेको हो।

राजावादीहरूले प्रदर्शन गर्ने भएपछि शिक्षकहरूले आफ्नो प्रदर्शनको समय सारेका हुन् । हरेक दिन बिहान ११ बजेदेखि प्रदर्शन गर्दै आएका शिक्षकहरूले भोलि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि तय गरेका हुन् ।

आन्दोलन परिचालन कमिटीका संयोजक एवं महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार, सम्भावित परिस्थितिलाई ख्याल गरेर आन्दोलनको समय सारिएको हो । ‘भोलिको परिस्थितिलाई मध्यनजर गरेर समय परिवर्तन गरेका छौं,’ पराजुलीले अनलाइनखबरसँग भनिन्, ‘९ देखि १२ सम्म आन्दोलन गर्छौं । हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ ।’

विगतमा राजावादीहरूले हिंसात्मक प्रदर्शन गर्दै आएका थिए। जसले गर्दा प्रहरी प्रशासन समेत सचेत हुँदै आएको छ। भोलिको राजावादीको आन्दोलनमा घुसपैठ भएर हिंसात्मक भएको खण्डमा आफूहरूको आन्दोलनमा असर पर्ने भन्दै महासंघले समय सारेको हो। महासंघले आवश्यक परेको खण्डमा भोलिको आन्दोलन अझै छाेट्याउन सकिने मनसाय बनाएको छ।

´उनीहरूको (राजावादी) आन्दोलन हिंसात्मक भएर हाम्रो प्रदर्शन घुसपैठ भयो भने अहिलेसम्मका उपलब्धि समेत गुम्न सक्ने खतरा हुन्छ। त्यसैले आवश्यक परेको खण्डमा प्रदर्शन अझै छाेट्याउन सकिन्छ,` महासंघका महासचिव तुला बहादुर थापाले भने।

प्रतिकृया दिनुहोस्