२०७६ असोज ३ गते

दुःख लाग्दो शैक्षिक अवस्था



उद्धवप्रसाद प्याकुरेल

भदौ २२ गते बिहान १० बज्नुभन्दा अगाडि नै हामी त्यस विद्यालयमा पुग्यौं । बाटोमा जाँदा धेरैजना बालबालिका बाख्र्रा चराउन हिँडेका, पोखरीमा पौडी खेलिरहेका, चौरमा गुच्चा खेलिरहेका भेटिए । केहीलाई हामीले किन स्कूल नगएको भनेर सोध्यौं । बाख्र्रा चराउन जानु पर्छ भनेर उनीहरूले मैथिली भाषामा जवाफ दिए । हामी विद्यालयमा पुगेको केही समयपछि फाटफुट विद्यार्थीहरू आउन लागे । विद्यार्थीको गोडामा जुत्ता–चप्पल थिएन । मैलो पातलो गञ्जी र घाँगर लगाएका । बालविकासका केही बालबालिका नाङ्गै आएका थिए । शिक्षकहरू पनि आइपुग्नु भयो । हामीले हाजिरकापी हे¥यौं । कक्षा १–५ मा जम्मा २०२ जना र बालविकासमा २५ जना विद्यार्थी संख्या रजिष्टरमा रहेछन् । त्यस दिन विद्यालय आउने विद्यार्थी संख्या गन्दा ३२ जना मात्र थिए । कक्षा १–५ का सबै विद्यार्थीहरू कक्षाकोठा बाहिरै चिसो भूईँमै टुक्रुक्क लस्करै बसे । त्यस विद्यालयमा बालविकास सहजकर्तासहित शिक्षक संख्या ४ र एकजना परिचर कार्यरत रहेछन् ।


शिक्षकले ‘ल अब कापी र सिसाकलम निकाल, अनि क देखि ज्ञ सम्म, १ देखि १०० सम्म, ए देखि जेटसम्म लेख भन्नुभयो । विद्यार्थीहरू चिसो भूईँमा बसेर लेख्न लागे । कक्षा ४ र ५ का विद्यार्थीले पनि कक्षा १ सँगै बसेर नेपाली सावाँ अक्षर र अंग्रेजी अल्फावेट लेख्दै थिए । त्यहाँको शैक्षिक उपलब्धि कस्तो होला ? अनुमान गर्न गाह्रो छैन । साना केही विद्यार्थीले खरीपाटी ल्याएका रहेछन्, त्यसैमा खरीले लेख्न लागे ।


‘तिमीहरू किन बाहिर बसेको ?’ हामीले सोध्यौं ।
‘भित्र चिसो छ,’ विद्यार्थीहरूको जवाफ थियो ।


हामीले कक्षाकोठा अवलोकन ग¥यौं । तीनवटा भवनमा ५ कोठा रहेछन् । एउटा कार्यालय कोठा । एउटा स्टोर कोठा, एउटा कोठा कहिल्यै खोल्ने गरेको रहेनछ । बाँकी दुईवटा कोठामा झ्याल ढोका थिएनन् । भूईँको सिमेन्ट प्लास्टर भत्किएर खाल्टाखुल्टी परेको थियो । छारो धुलो र च्यातिएका कागजहरू छरपष्ट देखिन्थे । साँघुरो खेल्ने चौर घुँडासम्म आउने घाँसले ढाकिएको थियो ।


विव्यस अध्यक्ष, शिक्षक–अभिभावक संघ (शिअसंघ)का अध्यक्ष पनि आउनुभयो । हामीले बालबालिकाहरूको बसाई व्यवस्थापन र सिकाइमा कसरी सुधार ल्याउन सकिएला भनी केही समय छलफल ग¥यौं । त्यस पछि अर्जुन श्रेष्ठले विव्यस, शिअसंघ र परिचरलाई समेत सहभागी गराएर कक्षाकोठा र विद्यालयको हाता सरसफाइ गर्न लाग्नुभयो । मैले शिक्षकहरूलाई सक्रिय शिक्षण सिकाइका लागि शैक्षिक सामग्री निर्माण, सङ्कलन र प्रयोग गर्न उत्प्रेरित गर्दै क्रियालाप अगाडि बढाएँ । खेल, गीत, प्रयोग, निर्माण, अवलोकन, परियोजना कार्य जस्ता बालकेन्द्रित शिक्षण विधिमा शिक्षण गर्ने तरिका प्रयोगात्मक रुपमा गराएँ । तीन दिनको बसाइमा न्यूनतम स्थानीय शैक्षिक सामग्री निर्माण, सङ्कलन र प्रयोगसहित शिक्षण गर्ने वातावरण तयार भयो । बालमैत्री बसाइका लागि एउटा कोठाको झ्यालढोकामा खापा लगाउने, भित्तामा चुना लगाउने काम भयो । भूइँमा कार्पेट विछ्याई त्यसमाथि फर्म राखियो । कार्पेटमाथि बसेर पढ्न पाउँदा विद्यार्थीहरू निकै खुसी देखिन्थे । शिक्षक स्टाफ र विव्यसलाई प्रत्येक बालबालिकाहरूलाई निरन्तर विद्यालय ल्याउन र बालमैत्री शिक्षण सिकाइ गर्न प्रतिबद्ध बनायौं । कार्यान्वयन भए/नभएको आगामी दिनहरूले बताउँला ।


गजबको कुरा त, पहिलो दिन आएका ३२ जना विद्यार्थीलाई खाजा खुवायौं । रमाइलो खेल खेलायौं । दोस्रो दिनमा विद्यार्थी संख्या बढेर ६० पुग्यो । दोस्रो दिन एउटा÷एउटा कापी सिसाकलम दियौं । तेस्रो दिन १०६ जना विद्यार्थी उपस्थित भए । विद्यालयको सेवा क्षेत्रमा २०६ जना विद्यार्थी छन् तर स्कुल नआउनुको कारण के हो त ? शिक्षकले भने, अभिभावकमा गरिवी र चेतनाको कमि छ । तर कारण त्यतिमात्र हैन विद्यालयको भौतिक वातावरण उपयुक्त नहुनु, बालमैत्री, बालकेन्द्रित शिक्षण सिकाइ वातावरण नहुनु अर्थात् विद्यालयले बालबालिकालाई सिकाइप्रति आकर्षण गर्न नसक्नु थियो ।


त्यस विद्यालयको र समुदायको अवस्था हेर्दा धनुषा जिल्लामा शिक्षा कार्यालय, स्रोतकेन्द्र र शिक्षासँग सम्बन्धित काम गर्ने कुनै पनि संघ–संस्थाले प्रभावकारी काम गरिरहेका छैनन् भनेर सजिलै अनुमान गर्न सकिन्थ्यो । शिक्षकहरूको गैर जिम्मेवारीपन, अभिभावकहरूमा बालबालिकाको विद्यालय शिक्षाप्रति वेवास्ता र सरोकार अनुगमन निकायको ध्यान पुग्न नसकेको कारण एउटै प्राथमिक विद्यालयमा सयौं बालबालिकाहरू उपयुक्त विद्यालय शिक्षाबाट बञ्चित भएका छन् । सरोकार निकायले समयमा आफ्ना कमी–कमजोरी नसुधार्ने हो भने ती बालबालिकाको भविष्य यस्तै अँध्यारोमा बित्न सक्छ । यसतर्फ सरोकारवाला निकायले ध्यान दिने कि ?

साभार : आजको शिक्षा साप्ताहिक

Comments: