२०७६ माघ ८ गते

शिक्षक महासंघको नेतृत्वमा युएण्टो नै किन ?

शंकर अधिकारी

 

“नेपाल शिक्षक महासङको प्रगतिशील रुपान्तरण
शैक्षिक बिकास र पेशागत सुनिश्चितता हाम्रो अभियान”

 

नेपालको शिक्षा पुनर्संरचना ,रुपान्तरण र संक्रमणको दोसाँधमा छ । संविधान प्रदत्त शैक्षिक अधिकार कार्यान्वयनको चरणमा आउँदा कुन वर्गले अधिकारको प्रयोग गर्ने ? रुपान्तरण र पुनर्संरचनाको उपभोग कुन वर्गले गर्ने टकरावको बीचमा छ ।विगतको शैक्षिक पेशागत आन्दोलन र राज्यसँगको थुप्रै सम्झौता तर कार्यान्वयनमा हुने जालझेलले अझैसम्म पनि शैक्षिक क्षेत्र अस्तव्यस्त छ ।

यस्तै, अनुभुतीको बीचबाट नेपाल शिक्षक युनियन, शैक्षिक गणतान्त्रिक मञ्च र मधेसी शिक्षक युनियनको रुपान्तरण सहित बनेको नेपाल शिक्षक महासंघ आज तदर्थकालको समाप्तिसँगै प्रथम महाधिवेशन तर्फ अग्रसर हुँदै छ । १६ वटा घटक संस्थाहरु मिलेर बनेको महासंघमा शिक्षक र कर्मचारीहरुलाई हेर्न दृष्टिकोणमा अधिकतम एकरुपता ल्याउने प्रतिबद्धता रहेतापनि वर्गदृष्टिकोणले बेलाबखतमा फरक –फरक धारणाहरु सार्वजनिक हुने गरेका छन जसले सहि र गलत छुट्याइरहेको देखिन्छ ।

जसले गर्दा नेपाल शिक्षक महासंघको प्रगतिशील रुपान्तरण सहित एकीकृत अखिल नेपाल शिक्षक संगठनको यसकारण जबर्जस्त उपस्थिति हुन जरुरी छ ।

१) नेपाल शैक्षिक गणतान्त्रिक मञ्च, नेपाल शिक्षक युनियन र मधेसी शिक्षक युनियनको बीचमा पुलको काम गरि रुपान्तरण सहितको नेपाल शिक्षक महासंघ निर्माणमा नेतृत्वदायी भुमिका खेल्दै आएकाले ।

२) नेपाल शिक्षक महासंघमा अस्थायी, प्रारम्भिक बालबिकास शिक्षक ( इसिडि), राहात, उमावि, विद्यालय कर्मचारी, पिसिएफ र संस्थागत विद्यलयका शिक्षक कर्मचारी लगायतका उत्पीडित शिक्षक कर्मचारी हरुको सदस्यताको र प्रतिनिधित्व सुनिश्चित गरेकाले ।

३) ट्रेड युनियन आन्दोलन भित्रका दुई प्रवृत्तिहरु आन्दोलन मात्र प्रधान (औधोगिक क्रान्तिको अवस्थाको मजदुरको रूपमा ) देख्ने र शैक्षिक विकास मात्र देख्ने प्रवृत्ति ( वित्तीय पुँजी नियन्त्रित कर्पोरेट पुँजीवादी विकास) बीच भीषण टकराव छ । यस्ता दुई प्रवृत्तिलाई समायोजन हाम्रो संगठनले मात्र गर्न सक्ने भएकाले ।

४) विगत लामो समयदेखी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरु (अस्थायी, राहत, बाल बिकास, उमावि, विद्यलय कर्मचारी, सस्थागत विद्यालयका शिक्षक) का सवाल मा आन्दोलन र सहमति हुने तर राज्यले ऐनमा संस्थागत नगर्ने परिपाटी भङ्ग गर्दै आठौं ऐन संशोधन गर्न सरकारलाई बाध्य पार्ने संगठन भएकाले ।

५) विगतमा पेशागत संगठनहरु सत्ताको वरिपरि घुम्ने र संघ र संगठन निकट पार्टीको सत्ता रहने वित्तिकै शिक्षक र कर्मचारीहरुलाई दमन गर्ने काम गरि ट्रेड युनियन आन्दोलनमा भष्टीकरण हुने स्थितिलाई क्रम भंग गर्दै दिनानाथ शर्मा शिक्षामन्त्री रहँदा आन्दोलनको नेतृत्व ( तत्कालीन शिक्षक युनियन र नेपाल शैक्षिक गणतान्त्रिक मञ्च) को संयुक्त आन्दोलन) गरेको ।

६) संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरु साथै, सामुदायिक विद्यालयको शिक्षक कर्मचारीहरु बीच जोड्ने पुलको काम गरेको ।

७) नेपाली समाजको रुपान्तरण र पुनर्संरचनाका साथै शैक्षिक पेशागत आन्दोलन यो उचाईमा ल्याउन र शैक्षिक पेशागत मागहरू जनस्तरमा स्तापित गर्ने ३०० भन्दा बढी सदस्यहरुले हाँसी–हाँसी बलिदानी गरेकाले ।

८) नेपाल शैक्षिक गणतान्त्रिक मञ्च गठनको संस्थापक अध्यक्ष संगठन भएको र संस्थागत विद्यलयमा अध्ययन गर्ने शिक्षक कर्मचारीहरुको मागलाई पहिलोपटक उठान र समाधानको लागि भीषण आन्दोलनको नेतृत्व गर्नुका साथ,ै शिक्षा क्षेत्रमा भएको विकृति विसङ्गती, माफियाकरणको साथै शिक्षाक्षेत्रमा भएको बहुआयमिक हस्तक्षेपको विरुद्धमा नेतृत्व गर्ने स्पष्ट दर्शन बोकेको संगठन भएकोले ।

९)आठौं संशोधनले पूर्ण सम्बोधन गर्ने नसकेको ०६१ पछिका अस्थायी शिक्षकको सवाल, शिक्षक अस्पताल, निजामती सरहको सेवा सुविधा र आठौं ऐनले समृद्ध गरेका शैक्षिक सवालहरुलाई कार्यन्यन गर्न एकल वा महासंघ मार्फत निरन्तर पहलकदमी गरिरहेका संगठन भएकाले ।

१०) नेपालको संविधानले निर्दिष्ट गरे अनुसारको माध्यमिक तहको शिक्षा ब्यबस्थापन स्थानीय तहले गर्ने व्यवस्था र निर्वाचनसँगै जनप्रतिनिधि र शिक्षक कर्मचारीहरुसँग अधिकार र कर्तव्यको बुझाइमा भएको विविधताले शिक्षक कर्मचारी साथीहरू प्रति भएको अन्यायलाई सशक्त प्रतिरोध गर्न सक्ने संगठन भएकाले ।

११) समाजवाद उन्मुख शिक्षा प्रणाली अंगिकार गरेको हाम्रो संगठन र राज्यको संविधान पनि समाजवाद उन्मुख रहेकोले हाम्रो लक्ष्य प्राप्तिका लागि एकीकृत शैक्षिक आन्दोलन (शिक्षक/विद्यार्थी/अभिभावकको भावनाको कदर गर्दै) हाक्न सक्ने संगठन भएको ।

१२) शैक्षिक विकासको लागि कर्तव्य र दायित्व बोध गर्दै नमूना विद्यालय निर्माणका अभियान्ता संगठन भएकाले ।

१३) शैक्षिक आचारसंहितामा बोध गर्ने सदस्य भएको संगठन भएकाले ।

१४) विज्ञान र प्रविधिको तिब्र विकाससँगै उत्पादकत्व शक्तिमा तिब्र फेरबदल आएको छ । जसले गर्दा मानिसले घन्टौं लगाएर गर्ने काम मेसिनको प्रयोगबाट केही घन्टामा नै गर्न सक्ने प्रविधिको विकास सँगै हजारौं श्रमिकहरु रोजगार वीहिन भएका छन तर पँुजीको बिकासमा कमि आएको छैन र उत्पादकत्व शक्ति दिन प्रतिदिन बढिरहेको छ । शिक्षा क्षेत्रमा पनि अमेरिकाको एउटा कुनामा बसेर नेपालमा अध्यापन गराउन सक्ने, शैक्षिक बिग हाउसहरुमा विज्ञान र प्रविधिको बिकाससँगै श्रम र मुल्यको सम्बन्ध बिग्रिरहेको पाउँछैं । त्यसैले २१ औं शताब्दीको ट्रेड युनियनको नयाँ परिभाषा खोज्ने बेला भएको र यसको नेतृत्व हाम्रो संगठनले मात्र गर्न सक्ने भएकाले ।

अन्तमा सबै साथीहरू शैक्षिक पेशागत समस्यालाई बुझौं शैक्षिक विकास र ट्रेड युनियनको मर्मलाई बोध गर्ने संगठनमा गोलबन्द होउँ ।

Comments: