२०७६ भदौ ५ गते

त्रिविको १२०० रोपनी बाँडचुँड, जग्गा बाँड्दै, पद जोगाउँदै

अन्तैबाट

काठमाडौँ । २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो । मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटकपटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले २ हजार ५ सय रोपनीमात्र बाँकी छ ।

भएको सम्पत्ति जोगाउनु साटो झन्झन् चुँडेर सकिँदै छ ।यसमा सघाएका छन्– विभिन्न समयमा नेतृत्वमा रहेका पदाधिकारीले ।

पद जोगाउने ध्याउन्नमा उनीहरूले शैक्षिक प्रयोजनले संकलित जग्गा अर्कैलाई मनोमानी बाँडेका छन् । झन्डै १ हजार २ सय रोपनी विभिन्न संस्थालाई बाँडिएको छ भने ९ सय ७८ रोपनी भोगचलन गर्न दिइएको छ । करिब २ सय रोपनी सार्वजनिक बाटो बनेको छ । पछिल्लो समय सबभन्दा धेरै जग्गा बाँड्नेमा तत्कालीन उपकुलपति हिराबहादुर महर्जन छन् ।

गणतन्त्र स्मारक, नेपाल नेत्रज्योति संघ र लायन्स क्लबलाई जग्गा दिएको उनले स्विकारे । ‘विश्वविद्यालयको जग्गा चारैतिरबाट लुटिरहेका छन्,’ एक कर्मचारीले भने, ‘कसले बचाइदेला भनेर गुहारिरहेका छौं ।’

जग्गा बाँडेको त्रिवि स्वयंले स्विकारेको छ । विश्वविद्यालयले यस संवाददातालाई ‘गोप्य र अत्यन्त जरुरी पत्र’ लेख्दै भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरभित्रका जग्गा त्रिविका निकायबाहेक अन्य कार्यालय तथा संस्थाबाट पनि उपभोग भइरहेको छ ।’ त्रिविको स्वामित्व यथावत् रहने गरी उपभोग गर्न दिएको उसको दलिल छ ।

उपकुलपति तीर्थराज खनियाँले विश्वविद्यालयको जग्गा भोगचलन गर्न दिने निर्णय आफूभन्दा पहिलेकाले गरेको बताए । तर, जग्गा बाँड्नेमा उनी पनि पर्छन् । ‘खानेपानी कार्यालयलाई बुझाउनुपर्ने शुल्क मिनाहा गर्ने गरी २५ रोपनी जग्गा मेलम्ची खानेपानी आयोजनालाई दिने निर्णय मात्रै मैले गरेको हुँ,’ उनले भने । कीर्तिपुरवासीलाई ‘पानी उपलब्ध गराउन’ जग्गा दिएको उनको दाबी छ ।

अधिग्रहण सिलसिला
सरकारले २०१३ सालमा प्रतिरोपनी ४ सय रुपैयाँ मुआब्जा दिएर जग्गा अधिग्रहण थालेको थियो । त्यस वर्ष मंसिर १५ को गोरखापत्रमा प्रकाशित गृह मन्त्रालयको सूचना थियो, ‘विश्वविद्यालयको निमित्त लिइने जग्गामा पर्ने जग्गाका धनी र मोहीसमेतलाई विश्वविद्यालयको इमारत बनाउने र पछि स्टाफमा लिने काममा समेत सकभर योग्यताअनुसार (स्थानीयलाई) प्राथमिकता दिइनेछ र अरू कुराको पनि हुनेसम्मको सुविधा दिइनेछ ।’

उक्त सूचनाअनुसार अधिगृहीत जग्गा विश्वविद्यालयले आफ्नो शैक्षिक प्रयोजनबाहेकमा प्रयोग गर्न मिल्दैन । २०३३ मा आइपुग्दा ६ हजार रुपैयाँ प्रतिरोपनीका दरले मुआब्जा दिएर जग्गा थपियो । ती प्राय: खेतबारी थिए । कति जग्गाधनीले अझै मुआब्जा खोजिरहेका छन् । विश्वविद्यालय केन्द्रीय कार्यालयको प्रशासनिक भवन र कर्मचारी आवास निर्माणसमेतका लागि २०३३ वैशाख ७ मा ६ सय ६१ रोपनी ४ आना ७ पैसा क्षेत्रफल अधिग्रहण गरिएको थियो ।

त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा विश्वविद्यालय पदाधिकारीहरू आफ्नो सम्पत्ति संरक्षणको सट्टा दुरुपयोगमा लाग्नुलाई ब्रह्मलुट भन्छन् । ‘त्रिविको जग्गामा पढाइ र अनुसन्धान हुनुपर्छ । यो प्राज्ञिक क्षेत्रमा अरू संस्थाले प्रवेश पाउनु हँ‘दैन,’ उनले भने, ‘यो त ब्रह्मलुट हो ।’ जहाँ पायो त्यहाँबाट बाटो खोलिएको र जथाभावी जग्गा बाँडिएको माथेमाले बताए । ‘संस्थाप्रति कोही पनि जिम्मेवार देखिएन । कार्यकारी परिषदको गलत स्वार्थ देखियो ।’

विश्वविद्यालयको जग्गा दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले औंल्याए । माथेमाले पनि आफ्नो पालामा कीर्तिपुर छिर्ने मूलगेटसँगैको जग्गा बसपार्क बनाउन दिएका थिए । ‘बस बाटोमा रोक्न थालेपछि व्यवस्थित बनाउन जग्गा दिएको थिए,’ उनले भने, ‘अहिले त खेल मैदान पो बनाउन लागेको रहेछ । दु:ख लाग्यो ।’

क–कसलाई कति जग्गा ?
त्रिविका अनुसार जग्गा पाउनेमा प्रहरी कार्यालय पनि छन् । अब मुद्दामामिला हेर्ने अड्डासमेत बस्दैछ । आयुर्वेद कलेजछेउ महानगरीय प्रहरी वृत्त कीर्तिपुरको कार्यालय निर्माण अन्तिम चरणमा पुगेको छ । विश्वविद्यालयले प्रहरी वृत्त कालिमाटीको अस्थायी एकाइ निर्माणका लागि सेरिड (त्रिविको अनुसन्धान निकाय) पछाडि बल्खुमा एक रोपनी दिएको छ भने प्रहरी वृत्त कीर्तिपुरलाई ४ रोपनी ।

बागवानी केन्द्रलाई २ सय ८१ रोपनी १४ आना बाँडिएको छ । ल्याबोरेटरी स्कुललाई १ सय ८ रोपनी ४ आना, गणतन्त्र स्तम्भ निर्माण गर्न ६० रोपनी जग्गा छुट्याइएको छ । बीपी प्लानेटोरियमलाई १ सय ५०, स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई ३० रोपनी जग्गा भोगचलन गर्न दिइएको छ । काठमाडौं उपत्यका खानेपानी, सुन्दरीघाटलाई २४ र राधा स्वामी सत्संग व्यासलाई १३ रोपनी उपलब्ध गराइएको छ ।

यसबाहेक क्रिकेट मैदान बनाउन ८० रोपनी, बसपार्क र फोहर संकलनस्थललाई करिब १ सय रोपनी दिइएको छ । राधा सत्संगलाई दिइएको जग्गासँगैको करिब ३० रोपनी प्लट मेलम्ची आयोजनाका ठेकेदारलाई बाँडिएको छ । नेत्र ज्योति संघले १० रोपनी र नेपाल बैंकले २ रोपनी जग्गा भोगचलन गरिरहेका छन् । नेपाल बैंकले मासिक १ हजार ३ सय ८५ रुपैयाँ भाडा तिर्छ ।

सर्वसाधारणबाट अधिग्रहण गरिएको जग्गा भोगचलन गर्न पाउनेमा निजी क्षेत्रको ग्लोबल आईएमई बैंकसमेत छ । यो बैंकले २८ हजार रुपैयाँ भाडा तिरेर २ रोपनी जग्गा पाएको छ । उपकुलपति कार्यालयको गेटैमा ग्लोबल बैंकको शाखा छ ।

त्रिवि कर्मचारी युनियन र प्राध्यापक संघलाई करिब ५० रोपनी जग्गा दिइएको छ । झन्डै २ सय रोपनी बाटोले ओगटेको कर्मचारी बताउँछन् । विश्वविद्यालय प्रशासनले व्यावसायिक गाईपालन र मठमन्दिर निर्माणका लागि समेत जग्गा दिएको पाइएको छ ।

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले विश्वविद्यालयको जग्गामा संरचना बनाएका कुनै पनि संस्था करको दायरामा नआएको जानकारी दिए । उनका अनुसार तिनले नक्सापाससमेत गरेका छैनन् । ‘जनताले विश्वविद्यालय बनाउन दिएको जग्गा जसलाई पायो त्यसलाई बाडेर गलत काम भइरहेको छ,’ महर्जनले भने ।

असीमित भोगचलन
त्रिविले एकपल्ट भोगचलन गर्न दिएको जग्गा फेरि फर्काउन सकेको छैन । प्राय: संस्थाले पक्की भौतिक संरचनासमेत बनाएका छन् । ल्याबोरेटरी स्कुल उदाहरण हो । त्रिविका रेक्टर डिल्लीप्रसाद उप्रेतीले स्कुलले प्रयोग गरिरहेको जग्गा फिर्ता गर्न प्रक्रिया अघि बढाइएको बताए ।

विश्वविद्यालयले ल्याबलाई त्रिविको भौतिक संरचना तथा जग्गा छाड्न पत्राचार गर्ने गरेको छ, ‘त्यस विद्यालयले आगटेको भौतिक सम्पूर्ण संरचना तथा जमिन त्रिविको आफ्नै प्रयोजनका लागि आवश्यक परेकाले आउँदो शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना लिने कार्य नगर्नुहुन र ओगटेको भौतिक संरचना र जमिन त्रिविलाई छाड्ने कार्यका लागि अनुरोध गर्दछ ।’

पटक–पटकका पत्र बेवास्तापछि विश्वविद्यालयले २०७१ चैत २४ मा सूचना नै प्रकाशन गरी ल्याबोरेटरी स्कुलमा विद्यार्थी भर्ना नगर्न अभिभावकलाई अपिलसमेत गरेको थियो । त्रिवि र ल्याबबीच विवाद जारी छ । २०७२ को भूकम्पबाट पदाधिकारी बस्ने केन्द्रीय भवन भत्किएपछि त्रिवि कर्मचारी ल्याब स्कुलमा कोठा माग्न जाँदा उनीहरूमाथि आक्रमण प्रयास गरिएको आरोप छ ।

ल्याब स्कुलका प्रिन्सिपल लाक्पा शेर्पा त्रिविले स्कुल हटाउनेभन्दा पनि आफैं व्यवस्थापन गरेर चलाउन आग्रह गर्छन् । ‘१८ वर्षअघि शून्य विद्यार्थी भएको विद्यालयमा अहिले १६ सय विद्यार्थी छन्,’ उनले भने, ‘त्रिविले जग्गा मात्रै खोजेर हँ‘दैन । व्यवस्थापन गर्ने हिम्मत गरेर ऋणधन सबै जिम्मा लिन सक्नुपर्छ । यत्रा विद्यार्थीको जिम्मा पनि लिनुपर्छ ।’ विद्यालयको गुठियारमा नेकपा र कांग्रेसका नेताहरू छन् ।

भोगचलनपछि फिर्ता नभएको अर्को जग्गा बागवानी केन्द्रलाई दिइएको २ सय ८१ रोपनी १४ आना पनि हो । ‘यो जग्गा त्रिविकै नाममा छ,’ बागवानीका फलफूल विकास अधिकृत लेखबहादुर न्यौपानेले भने, ‘जुन बेला यहाँ फलफूल खेती सुरु भयो, सरकार र त्रिविबीच सहमति भएरै भएको होला । भोगचलन भइरहेको छ ।’ यही जग्गामा कृषि विभागको भवन निर्माणसमेत अन्तिम चरणमा पुगेको छ । ल्याब स्कुलबाट कीर्तिपुर जाने बाटैमा सेतो रङ लगाइएका ठूला दुई भवन विभागका लागि बनाइएका हुन् ।

धार्मिक संस्थालाई त्यत्तिकै
ल्याब स्कुलअगाडिको १८ रोपनी राधा स्वामी सत्संग व्यासले भोगचलन गरिरहेको छ । त्रिवि रेकर्डमा भने यो संस्थाले १३ रोपनी मात्र प्रयोग गरेको उल्लेख छ ।

संस्थाले २०७१ सालमा ८ करोड रुपैयाँ खर्चेर ३ हजार जना अट्ने ट्रस्ट बनाएको छ । स्रोतका अनुसार यो संस्थालाई सुरुमा ४ आना जग्गा त्यो पनि त्रिविकै स्वामित्वमा रहने गरी दिइएको थियो । उपभोग गरेको जग्गा आफ्नै नाममा दर्ता गराउन संस्थाका पदाधिकारीले पहलसमेत गरेका थिए । त्रिविले त्यहाँ बनाइएको संरचना भत्काउन नखोजेको होइन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीले हस्तक्षेप गरेर रोकेको पदाधिकारीको भनाइ छ ।

२०४७ सालदेखि १८ रोपनी जग्गा प्रयोग गरिरहेको संस्थाले जनाएको छ । यहाँ प्रत्येक शनिबार सत्संग कार्यक्रम हुन्छ । त्रिवि गेटअगाडिको करिब ५० रोपनी कर्मचारी संघ र प्राध्यापक संघले आगेटेका छन् । दुवैले पक्की भवन बनाएर भाडामा समेत दिएका छन् । त्रिविको घर बनाउने ठेकेदार कम्पनीको ग्यारेज पनि वर्षौंदेखि त्रिविकै जग्गामा छ ।

विश्वविद्यालयले आफ्नो रंगशाला २५ वर्षलाई भाडामा दिएको छ । त्रिविको लालपुर्जाअनुसार रंगशाला ८० रोपनीमा थियो । अहिले त्यसभन्दा बढी ओगटेर क्रिकेट मैदान बनाइएको छ । विश्वविद्यालयको छुट्टै खेल मैदान छैन । कार्यकारी परिषदको निर्णय नम्बर १३४७ बाट २०८३ सालसम्मलाई रंगशाला भाडामा दिइएको हो । यसबापत विश्वविद्यालयले वार्षिक ९ लाख रुपैयाँ पाउँछ ।

एक टयांकर पानीमा २४ रोपनी
राधा स्वामी सत्संगसँगैको २४ रोपनी काठमाडौं उपत्यका खानेपानीले उपभोग गरिरहेको छ । तत्कालीन खानेपानी संस्थानलाई २०४१/४२ सालतिर दिनको १ टयांकर पानी त्रिविलाई नि:शुल्क दिने गरी केही वर्षका लागि जग्गा दिइएको थियो । खानेपानीले पनि स्थायी संरचना बनाएको छ । ल्याब स्कुलअगाडिको अर्को खाली जमिन मेलम्चीका ठेकेदारले प्रयोग गरेका छन् ।

विश्वविद्यालयले खानेपानी प्रयोगबापतको महसुल तिर्न नसकेर २५ रोपनीको भोगाधिकार दिएको हो । काठमाडौं उपत्यका खानेपानी व्यवस्था बोर्डका अनुसार २०७३ असार १२ सम्म त्रिविले उपभोग गरेको खानेपानीको ३ करोड ८ लाख ९ हजार २ सय २४ रुपैयाँ महसुल मिनाहा हुने गरी जग्गा लिइएको हो । मेलम्चीबाट आउने पानी ‘रिजर्भ’ गर्न आयोजनाले त्यहाँ ६ हजार घनमिटर क्षमताको टयांकी बनाइरहेको छ ।

विश्वविद्यालयले आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताललाई १ सय ६ रोपनी उपलब्ध गराएको थियो । यसैमध्ये ३० रोपनी स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई भोगचलन गर्न दिइएको छ । जग्गा दिँदा त्रिविको सर्त थियो, ‘कलेजका विद्यार्थीको प्रयोगात्मक कक्षासमेत गराउने ।’ ८० करोडको लागतमा चीन सरकारले तालिम केन्द्र बनाइदिएको हो । यहाँ न विश्वविद्यालयका विद्यार्थीले अध्ययन गर्न पाउँछन् न तालिम हुन्छ ।

‘बूढानीलकण्ठमा आफ्नै जग्गा भए पनि दाताले अस्वीकार गरेपछि यो संरचना विश्वविद्यालयको जग्गामा बनाउनुपरेको हो,’ केन्द्रका कार्यकारी निर्देशक डा. सिद्धार्थकुमार ठाकुरले भने, ‘त्रिविको जग्गामा संरचना बनाउन पनि सरकारी निर्णय भएको छ ।’

त्रिविको जग्गा ओगट्नेमा बीपी प्लानेटोरियम पनि छ । यसले १ सय ५० रोपनी क्षेत्रफलमा संरचना बनाएको छ । त्रिवि कार्यकारी परिषदको १३३४ निर्णयबाट भोगचलन गर्न दिइएको हो । २०७१ असोजमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेको भवनमा विज्ञान संग्रहालय राख्ने भनिएको थियो । भवन बनेको चार वर्ष हुँदा पनि केही सुरसार छैन । भवनको नाम बीपी कोइराला राष्ट्रिय विज्ञान संग्रहालय राखिएको छ । ‘जग्गा लिएबापत त्रिविमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिइरहेका छौं,’ कार्यालयका सहकार्यकारी निर्देशक सनतकुमार शर्माले भने, ‘यो पनि विश्वविद्यालयका विद्यार्थीको सिकाइको एउटा अंग नै हो ।’

बल्खु हाइटको ६० रोपनीमा भने गणतन्त्र स्तम्भ निर्माण गरिएको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको दबाबमा स्तम्भ बनाइएको हो । यो जग्गा वरिपरि सहरी विकास विभागले काँडेतार लगाइसकेको छ । पछिल्लो समय यो स्थान ‘डेटिङ स्पट’ भएको स्थानीयको भनाइ छ । स्तम्भको रेखदेख गर्न सहरी विकास विभागले कमल कार्कीलाई खटाएको छ । उनले स्मारकसँगै छाप्रो हालेर चियापसल खोलेका छन् ।

बसपार्कमा खेल मैदान, भवनमा मुक्तिमोर्चाको ताला
२०५९ को नापी हँ‘दासम्म गणतन्त्र स्तम्भ पार्कको भित्तातर्फ बाटो थिएन । अहिले विश्वविद्यालयकै जग्गामा फराकिलो बाटो बनाइएको छ । उत्तर पश्चिमतर्फ गाङखेल, रिङरोडदेखि व्यवस्थापनको एमफिल भवन (कुशेश्वर मन्दिर) सम्म गाडी गुड्ने सबै बाटो त्रिविको जग्गामा छ ।

दक्षिणतर्फ तीनकुने बसपार्क क्षेत्रको सबै जग्गा त्रिविको हो । बसपार्क बनाउन दिएको जग्गामा कीर्तिपुर नगरपालिकाले खेल मैदान बनाउन बारबेर गरिसकेको छ । खेल मैदानमुनि नगरको फोहर संकलन स्थल बनाइएको छ । दुवैतर्फ गरी त्रिविको करिब १ सय रोपनी प्रयोग भइरहेको छ । तीनकुनेको चाइनिज इँटाले बनाएको भवनमा पहिले त्रिवि कर्मचारी परिवारसहित बस्थे ।

पछिल्लो समय यसमा नेवा:राज्य लेखिएको छ । उक्त भवन तत्कालीन माओवादीको नेवा: मुक्तिमोर्चाका कार्यकर्ताले ताला लगाएर राखेका छन् ।

मकर श्रेष्ठले  कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: