२०७६ भदौ ६ गते

ट्युसनको सहारामा एसईई

अन्तैबाट

ताप्लेजुङ । मिक्वाखोलाकी दावा शेर्पा साँवा माविबाट एसईईमा सामेल हुँदै छिन्। राम्रो ग्रेड ल्याउन पुसदेखि फुङलिङमा बसेर उनले अंग्रेजी, विज्ञान र गणित विषयको ट्युसन पढिन्। ‘स्कुलमा त्यति राम्रो पढाइ भएन’, उनले भनिन्, ‘स्कुलमा बिदा भइरहन्छ। सरहरू पनि नियमित आउनुहुन्न। त्यसैले बेलैमा बजार बसेर पढें।’ बजार बस्दा घरको काम पनि गर्नु नपर्ने भएकाले पढाइमा ध्यान दिन पाएको उनले सुनाइन् ।

फुङलिङ नगरपालिकाकै सोना राईले पनि ट्युसन पढेर एसईई तयारी गरेकी छन्। विद्यालयमा भन्दा राम्रो पढाइ हुने भएकाले ट्युसन कक्षा लिएको उनको भनाइ छ। यी दुईजस्तै ताप्लेजुङका अधिकांश विद्यार्थी विद्यालयको पढाइले चित्त नबुझेर अतिरिक्त कक्षा लिनुपरेको बताउँछन्। सदरमुकाम नजिकका विद्यार्थी बिहान–बेलुका ट्युसन र दिउँसो विद्यालयमा पढ्ने गरेका छन्। धेरै सामुदायिक विद्यालयमा विज्ञान र गणित अध्यापन गराउने शिक्षक अभाव छ।

एसएलसीका ठाउँमा दुई वर्षयता एसईईको नामले परीक्षा सञ्चालन हुन थालेको हो। यसलाई फलामे ढोकाको संज्ञा दिइएको थियो। विद्यार्थी र अभिभावकले अझै यो परीक्षालाई प्रतिष्ठाकै रूपमा लिने गरेका छन्। त्यसैले महँगो शुल्क तिरेर बजारमा ट्युसन पढ्ने प्रचलन छ।

फुङलिङ बजारका आधा दर्जन ट्युसन सेन्टर मंसिरदेखि नै भरिभराउ हुन्छन्। यहाँ १ हजार ६ सय विद्यार्थीले अध्ययन गरेको फ्लुएन्ट ट्युसन सेन्टरका सञ्चालक नेत्र खड्काले बताए। ‘तिहारलगत्तै विद्यार्थीको भीड लाग्छ’, उनले भने, ‘स्कुलको पढाइ चित्त नबुझेर र कोर्स पूरा नहुने हँुदा यहाँ पढ्न आउने गरेको अधिकांशको भनाइ छ।’ उनका अनुसार धेरैले विज्ञान, गणित र अंग्रेजी विषयको ट्युसन पढ्छन्। एक विषयको हजार रुपैयाँ शुल्क लिने गरेको उनले सुनाए।


धेरै विद्यार्थी रहर र देखासिखीका कारणले पनि ट्युसन पढ्न बजार जाने गरेको पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समिति सदस्य प्रजिन हाङवाङको भनाइ छ। ‘पहिले शिक्षक अभाव हुने, समयमा पाठ्यपुस्तक नपुग्ने समस्या थियो’, उनले भने, ‘अहिले त्यस्तो छैन, यो एक किसिमको लहड हो।’ नयाँ शिक्षकले पढाउँदा पुस्तकभन्दा बाहिरको नयाँ ज्ञान सिक्ने चाहनाले पनि ट्युसन रोजाइमा पर्ने गरेको विद्यार्थी नेता देउमाल लोङवाले बताए।

ताप्लेजुङमा २ हजार ३ सय ७५ परीक्षार्थी छन्। यो गत वर्षको तुलनामा १ सय ७७ जनाले कम हो। परीक्षा सञ्चालनका लागि १७ वटा केन्द्र तोकिएको छ। परीक्षा विश्वसनीय र मर्यादित हुने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए। ११ केन्द्रमा प्रहरी र सशस्त्र र ६ वटामा भने प्रहरी परिचालन गरिएका छन्।

चार केन्द्राध्यक्ष महिला

 एसईई सञ्चालनका लागि झापाका चार परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष तोकिएका छन्। १५ स्थानीय तहमा ५३ परीक्षा केन्द्र छन्। यीमध्ये देवी मावि बिर्तामोडमा अम्विकादेवी श्रेष्ठ, जनजागृति मावि हल्दिबारीमा इन्दिरा चुँडाल, जनता मावि गौरादहमा थानेश्वरी निरौला र भृकुटी मावि कन्काईमा अञ्जना सिटौला केन्द्राध्यक्ष छन्।

झापाबाट १५ हजार ६ सय ८९ जना परीक्षामा सहभागी हुँदै छन्। यीमध्ये छात्रा ७ हजार ९ सय ३८ र छात्र ७ हजार ३ सय ३६ जना छन्। हाजिर नपुगेका, विद्यालय आउन छाडेका, राजस्व नबुझाएका १ सय २० जना परीक्षा दिनबाट वञ्चित भएका छन्। जिल्ला कारागारबाट तीन कैदीबन्दीले परीक्षा दिने भएका छन्। परीक्षाका लागि ५ सय ५० प्रहरी परिचालन गरिएको छ।

सीताराम गुरागाईंले अन्नपूर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: