२०७६ कार्त्तिक २६ गते

ललितपुरका स्कुलमा तीन सय कोठा अपुग

ललितपुर । प्राथमिक विद्यालय संचालन गर्नका लागी न्युनतम आठ वटा कक्षा कोठा आवश्यक हुन्छन्। एउटा कोठामा सामान्यत ४५ जना विद्यार्थी राखिन्छ। त्यो भन्दा बढी संख्या हुन गएमा अर्को ‘सेक्सन’ मा राख्नुपर्ने मापदण्ड छ। जसका लागी थप अर्को कक्षा कोठा चाहिन्छ। प्राविधिक दृष्टीले ललितपुरमा अझै तीन सय ७ वटा कक्षा कोठा निर्माण गर्न आवश्यक रहने अनुमान गरिएको ललितपुर जिल्ला शिक्षा कार्यालय अन्तर्गत रहेको आयोजना कार्यान्वयन इकाई (डिएलपिआई) का प्रमुख भगवान पाैडेलले बताए।

पौडेलका अनुसार, ललितपुरमा तीन सय ७ कक्षा कोठा निर्माण गर्नका लागी ५२ करोड रुपैया बजेट आवश्यक रहेको छ। आवश्यक बजेट जुटाउनका लागी दाता सम्मेलनमा दाताहरुले प्रतिवद्धता देखाए अनुसारको बजेट अझै आइनसकेको उनले बताए। पौडेलले भने, ‘हालसम्म एक सय २६ वटा कक्षाकोठाहरु बनिसकेका छन्। यी बाहेक पनि अझै तीन सय ७ वटा कक्षा कोठाहरु बन्नुपर्ने अवस्था रहेको छ’, उनले भने। ललितपुरमा भुकम्पले पूर्णक्षति पुर्‍याएका र रातो स्टीकर पाएका विद्यार्थीको संख्या धेरै भएका विद्यालयहरुका निर्माण कार्य भइरहेको छ।

जिल्लाका दुर्गम क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर कक्षाकोठा निर्माणकार्य गरिरहेका छौं। किनकी राज्य आफनो दायित्वबाट भाग्न पाउदैन।’ जिल्ला कार्यान्वयन इकाइले विद्यालयहरुलाई कक्षा कोठा निर्माणका एक करोड रुपैया भन्दा धेरै बजेट दिएको छ। पौडेलका अनुासार ८ वटा कोठा बनाउनको लागी १ करोड ४ लाख रुपैया सम्म दिइएको छ। ६ कोठाको लागी ८६ देखी ८९ लाख, ४ कोठाको लागी ६४ लाख, ३ कोठाको लागी ३१ लाख र २ कोठाको लागी २१ लाख रुपैयाँ प्रदान गरिएको छ। सरकारी लक्ष अनुसार पुननिर्माण प्राधिकरण गठन भएको पाँच वर्षभित्रमा निर्माण सम्पन्न भइसक्नुपर्ने छ। निर्माणमा अनियमितता बागमती गाउँपालिकाको वडा नम्बर ७ मा रहेको श्री थुम्की प्राथमिक विद्यालयको दुइ कोठे भवन निर्माणको क्रममा अनियमितता भएको पाइएको छ।

जिल्ला कार्यान्वयन इकाइ समितीका इन्जिनियर सुजन पोखरेलका अनुसार थुम्की प्राबिमा दुइ कोठे भवन निर्माण गर्दा छाना भन्दा तलको भागमा ‘लेन्टेल कस्ने’ क्रममा कमसल खालका गिटी, रोडा प्रयोग गरेको र रंगीचंगी जस्तापाता प्रयोग गरिएको अनुगमनकाक्रममा भेटिएको छ। विद्यालय निर्माण कोड अनुसार रातो जस्तापाता मात्रै लगाउन पाइने नियम भएपनि यस विद्यालयमा रंगिचंगी जस्तापाता लगाइएको छ।

जिल्ला कार्यान्वयन इकाइका अध्यक्ष पान्डेले मापदण्ड अनुरुप नभएपछी क्रसर गिट्टी प्रयोग गर्ने, ओपिसी सिमेन्ट प्रयोग गर्ने, कक्षा कोठाको भित्री भाग प्लाष्टर गर्ने, पिंढी बनाउने तथा रंगरोगन गर्ने र ४५ दिनभित्र पुननिर्माण गरिसक्ने सहमती भएको बताए।

निर्माणको जिम्मा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विष्णु बहादुर बस्नेत, प्रधानाध्यापक राजन कुमार बस्नेतले लिएको भएपनि अहिलेसम्म विद्यालय लथालिंग अवस्थामा छाडीएको छ। निर्माणको क्रममा एनजीओहरुले जिल्ला कार्यान्वयन इकाइसँग कुनै समन्वयसमेत नगरेको पान्डेले बताए। थुम्की प्राविको निर्माणका लागि नेपाल राष्ट्रिय मण्डली संगति र राष्ट्रिय पुननिर्माण प्राधिकरणबीच १० लाख रुपैयाँ खर्च गर्नेगरी सम्झौता भएको थियो।

थुम्की स्कुल जापान इभान्जेलिकल एसोसिएसनको सहयोगमा बनेको हाे ।

 

नितु घलेले अन्नपुर्णमा खबर लेखेका छन् ।

Comments: