२०७६ असोज २ गते

शिक्षक टिकाउन कठिन

कपिलवस्तु । जिल्लाको महराजगन्ज नगरपालिका १ स्थित दुर्गाभवानी कन्या निमाविमा ४ सयभन्दा बढी विद्यार्थी छन् । ती विद्यार्थीका लागि एक जना पनि दरबन्दीका शिक्षक छैनन् । निजी स्रोतमा न्यून तलबमा ७ शिक्षकले पढाउँछन् । जीविकोपार्जन गर्ने तलब दिन नसक्दा शिक्षक टिकाउन विद्यालयलाई गार्‍हो भएको छ । ‘५ महिना नुपग्दै पढाउन छाड्छन्,’ प्रधानाध्यापक चन्द्रकला चौधरीले भनिन्, ‘खोज्दाखोज्दै तनाब हुन्छ ।’


उनका अनुसार ती शिक्षकका लागि गाउँ–गाउँ धाएर चन्दा संकलन गरेर तलब जुटाउनुपर्छ । मायादेवी गाउँपालिकास्थित वलुहवा प्राविको अवस्था यस्तै छ । एक जना पनि दरबन्दीका शिक्षक छैनन् । ‘गुजारा चल्ने तलब दिन सक्दैनांै,’ प्रअ श्यामदयाल यादवले भने,‘ त्यही भएर शिक्षक खोजिरहनुपर्छ ।’ विद्यार्थी टिकाउन नियम बनाउनु पर्ने बेला शिक्षक कायम राख्न समय खर्चनु परेको उनले बताए । कक्षा ५ सम्म पढाइ हुने प्राविमा ३ निजी स्रोतका शिक्षकले बहुकक्षा शिक्षण गर्दै आएका छन् । दरबन्दी अभाव हुँदा पठनपाठनमा समस्या छ । थोरै शिक्षकले धेरैलाई पढाउनु पर्दा गुणस्तरीय शिक्षा नारामा सीमित छ । जिल्लामा ७ सय ६२ शिक्षक दरबन्दी अभाव छ ।


सरकारले तराईका जिल्लामा ५० विद्यार्थी बराबर एक शिक्षक अनुपात राखेर पठनपाठनको व्यवस्था गरेको छ । तर यहाँ एक शिक्षकले ६५ विद्यार्थीलाई पढाउनु परेको छ । प्रावि र निमावि १–८ कक्षामा शिक्षक विद्यार्थी अनुपात १ शिक्षक बरावर ६५ विद्यार्थी छ । मावि र उमावि तहमा पनि एक शिक्षकले ५० भन्दा बढीलाई पढाउनु परेको छ । अझ सरकारले एउटा प्राविमा न्यूनतम ३, निमाविमा न्यूनतम ४ र माविमा न्यूनतम ५ शिक्षक दरबन्दी हुनुपर्ने प्रावधान राखेको छ । तर यहाँका १ सय ५ प्राविमा एउटा पनि सरकारी दरबन्दीका शिक्षक छैनन् । ६५ निमाविमा एउटा पनि सरकारी दरबन्दी छैन ।


त्यस्तै १७ माविमा सरकारी दरबन्दीका एउटा पनि छैनन् । सबै निजी स्रोतको भरमा चलेका छन् । यी विद्यालयले चन्दा सहयोग उठाएर र विद्यालयलाई शिक्षा कार्यालयबाट पठाउने मसलन्द रकमबाट तलव लिने गरेका छन् । त्यो पनि अति न्यून रकममा पढाउने गर्छन् । सरकारी दरबन्दी नभएका विद्यालयलाई पीसीएफ (प्रतिविद्यार्थी फन्ड) भनेर एकमुष्ट अनुदान दिइन्थ्यो । त्यो पनि गत आवमा बजेट नआउँदा एक पैसा दिन नसकेको सहायक जिशिअ गंगाराज आचार्यले बताए । ३/४ वर्ष बजेट आयो, गतमा नआउँदा निक्कै समस्या भयो ।


तलब नहुँदा बडो कष्ट र पीडा शिक्षक सुनाउँछन् उनले भने घरको चुलोचौको गर्न समस्या भन्छन् । यसको मार विद्यार्थीको भविष्यमा पर्छ, उनले भने, ‘त्यसैले सरकारले छिटो दरबन्दी थप्ने काम गर्नुपर्छ ।’ मायादेवी गाउँपालिकामा रहेको सिंहोरवा प्राविका प्रअ प्रमोद उपाध्यायले पीडा कसलाई सुनाउनु ? शिक्षक पढाएर साँझ बिहानको चुलोचौको गर्न सक्दैनन् । उनले भने, ‘अनि कसरी गुणस्तरीय शिक्षाको कुरा गर्नु ?’ कक्षा ५ सम्म रहेको प्राविमा १ सय ६० विद्यार्थी छन् । विद्यार्थीलाई विद्यालयमा टिकाउनुपर्ने बेला ३ निजी स्रोतका शिक्षकलाई टिकाउनु समस्या भइरहेको छ ।


विद्यालय र विद्यार्थी संख्याका आधारमा जिल्लालाई २ हजार ७ सय ४८ दरबन्दी आवश्यक छ । तर जिल्लामा अहिले १ हजार ९ सय ८६ दरबन्दीका शिक्षक कार्यरत छन् । ७ सय ६२ दरबन्दी अभाव छ । दरबन्दी अभावको प्रत्यक्ष असर एसईसीमा गएर पर्ने गरेको छ । अघिल्लो आवमा ४० प्रतिशत विद्यार्थीले न्यूनतम १ दशमलव ६ जीपीए पनि ल्याउन सकेनन् । त्यसकारण उनी उपल्लो कक्षामा पढ्न वञ्चित भए । त्यस्तै गत आवमा पनि ३४ प्रतिशत विद्यार्थीले न्यूनतम १ दशमलव ६ जीपीए पनि ल्याउन नसकेपछि उनीहरू पनि माथिल्लो कक्षामा पढ्न पाएनन् । सरकारले सजिलै १० कक्षा उत्तीर्ण हुने व्यवस्था गरे पनि यहाँ भने समस्या बनेको छ ।


मायादेवी गाउँपालिकाका ८ सामुदायिक विद्यालयमा एउटा पनि दरबन्दी छैन । आन्तरिक स्रोत पनि छैन । उक्त गाउँपालिकाका शिक्षाका स्रोत व्यक्ति रमेश पाण्डेले गत वर्ष शिक्षा कार्यालयले शैक्षिक गुणस्तरका लागि एक विद्यालयलाई पठाएको १७ हजार ५ सय रकम ३ निजी शिक्षकले बाँडेर वर्षभरिको तलब लिए । अब कसरी गुणस्तरको कुरा गर्ने, उनले भने, ‘कहालीलाग्दो अवस्था छ ।’


यहाँ प्राविमा ९ सय ९२ स्थायी र ४ सय २९ राहत, निमाविमा १ सय ५९ स्थाथी र एक सय राहत, माविमा १ सय ४० स्थायी र ९६ राहत तथा उच्च माविमा २३ स्थायी र ४७ राहत शिक्षकको दरबन्दी छ । प्राविदेखि उच्च माविसम्म पढ्ने विद्यार्थी १ लाख ३१ हजार १९५ छन् । ५ लाख ७१ हजार ९३६ जनसंख्या रहेको जिल्लामा प्रावि २७७, निमावि ७८, मावि ३८ र उमावि ३७ गरी ४ सय ३१ मात्र सामुदायिक विद्यालय छन् । महराजगन्ज नगरपालिका–१ मा रहेको दुर्गाभवानी कन्या निमाविमा सरकारी दरबन्दी नभएपछि पठनपाठनमा समस्या भइरहेको गुनासो गर्छिन्, प्रअ चन्द्रकला चौधरी । निजी स्रोतका शिक्षकलाई न्यून तलब दिएका छौं, उनले भनिन्, ‘पारिश्रमिक थोरै हुँदा शिक्षकहरू धेरै टिक्दैनन् ।’ फेरि खोज्दा उत्तिकै मेहनत गर्नुपर्छ । महिला मात्र पढाइ हुने विद्यालयमा पठनपाठन सुचारु बनाउन निक्कै गाह्रो भइरहेको उनले गुनासो गरिन् । ग्रामीण क्षेत्रमा खासै सहयोग पनि उठ्दैन । त्यही भएर आजभोलि जाँगर चल्न छाडेको छ ।


०४७ पछि जिल्लामा धेरै विद्यालय स्थापना भएपछि शिक्षक दरबन्दी अभावका कारण शिक्षक–विद्यार्थी अनुपात ठूलो फरक परेको सहायक जिशिअ बाबुराम भट्टराईले बताए । ‘शिक्षक–विद्यार्थी अनुपातमा ठूलो अन्तर छ,’ उनले भने ।

कान्तिपुर दैनिकमा खबर छ ।

Comments: