अभिभावकहरूसँग अनुरोध

एजुकेशन पाटी

Byएजुकेशन पाटी

१६ असार २०७७, मंगलवार


हाम्रा बालबालिका स्कुल जान कहिले पाउलान् ? घरमा त टेर्दै टेर्दैनन् । फिटिक्क भनेको मान्दैनन् ।

बालबच्चाहरू त बर्वादै हुने भए । लौ न सर/म्याम केही त गरिदिनोस् ।

आफूभित्रै रहेका अनगिन्ती पीडालाई थामथुम पार्दै अत्यधिक अभिभावकका यस्तै गुनासा पनि सङ्गीतको लयमा सुन्न पाउने भाग्यमानी व्यक्ति कोही छन् भने, ती शिक्षक नै हुन्, अझ विशेष गरी संस्थागत विद्यालयका प्रिन्सिपल एवं शिक्षकहरू । मैले भाग्यमानी यस अर्थमा भनेको छु – आफ्नै छोराछोरीलाई बाटो देखाउन आफैंले भन्दा पनि शिक्षक नै प्रभावकारी हुने अभिभावकहरूको विश्वास हाम्रा निम्ति गर्वको विषय हो ।

यसलाई हामीभित्रको ‘शिक्षक’लाई बचाइराख्ने सञ्जीवनी भन्दा पनि हुन्छ । र, यस विश्वासको जिम्मेवारी बहन गर्ने सौभाग्य अरू कोही होइनन्, हामी, शिक्षक नै हौं । यहाँ अर्को पनि एउटा प्रसङ्ग जोडिएको थियो – संस्थागत विद्यालय । हो, किन कि संस्थागत विद्यालयका शिक्षकहरू दोहोरो दवावमा छौं । कोरोना बन्दीले शृजना गरेको आफ्नो व्यावहारिक पीडा र विद्यार्थीहरूलाई वरिपरि राखी अध्यापन गर्न नपाए पनि अप्रत्यक्ष नै भए पनि अभिभावकहरूका भावनाले दिएको खुसीको पीडा ।

अभिभावकज्यू, त्यसैले त सोध्नुहुन्छ नि हामीलाई तपाईंहरूले । तपाईंहरूका प्रश्नले हामीलाई पनि चिन्तित त बनाउँछ नै सँगै हामीलाई केही गर्ने उत्साह पनि जगाउँछ । त्यसैले त हामी केही न केही गरिरहेका हुन्छौं ।

हामीले सुन्ने गथ्र्यौ, समस्या पीडा मात्र लिएर उपस्थित हुँदैन । भनिन्छ नि एउटा ढोका बन्द भए अर्को ढोका खुल्छ । यी वास्तविकतालाई ख्याल गर्न बिर्सेको समयमा हामीलाई लाग्छ – दुःख पर्यो अब के गर्ने होला, हरेक मानिस चिन्तित हुनु मानवीय कुरा नै हो । तर, जब सम्झिन पुग्छौं, हामी आफैंले आफैंलाई सम्झाउन पुग्छौं – मानव सभ्यता यस्ता कैयौं समस्याहरूसँग जुध्दै यहाँसम्म आइपुगेको त हो नि । एउटा ढोका बन्द भए के भो त ? अर्को ढोका खुल्छ ।

यही दुःखले केही सिकाउने छ । हामीले सिक्ने छौं । हाम्रा विद्यार्थी त हामीभन्दा पनि चलाख छन्, तिनले झन् छिटो सिक्छन् । तिनले के सिक्नुपर्छ भन्ने कुरा पनि हामीले भन्दा छिटो जान्दछन् । यसो भनिरहँदा अलिकति बहकिएँ कि जस्तो मान्नुभयो होला है ? कृपया, नमान्नु होला ।

आदरणीय अभिभावकज्यू, विद्यालय त ढीलो चाँडो खुल्लान्, बालबालिका विद्यालय पनि जालान, हामी पनि जाउँला, हाम्रो भेट पनि होला, सिकाउँला तर तपाईंलाई साच्चै भनौं है एउटा कुरा ! हामी सँगै भएका बेला सिकाउन नसकिएका नभ्याइएका कुराहरू पनि झन् बढी धेरै महत्वपूर्ण छन् है । हामीले विद्यालयमा नियमित अध्यापन गर्दा तिनका गृहकार्य गर्नु पर्ने, समयमा विद्यालय आउनु पर्ने आदिले गर्दा ती महत्वपूर्ण कुराहरू छुटेका थिए । अहिले तिनलाई महत्व दिन सक्यौं भने, हाम्रा विद्यार्थीहरूलाई कुनै घाटा पर्ने छैन । हामीले खेर गयो भनेको समयलाई धेरैभन्दा धेरै उपयोगी बनाउन लागौं । त्यसैले आज मैले केही अनुरोध गर्छू है त ।

१. हामीले अनलाइन कक्षाहरू चलाइरहेका छौं । यसमा पनि कति विद्यार्थी भाइबहिनीहरू सहभागी हुन सक्नुभएको होला कति नसक्नु भएको होला । कतिबेला बिजुली गइदिन्छ, कतिबेला नेट । कतिबेला मोबाइल वा कम्प्युटरमा समस्या आइदिन्छ, कतिबेला हाम्रै प्रविधिले पनि धोका त कतिबेला हाम्रै कारणले । यसरी बल्ल बल्ल पाएको मौकालाई सकेसम्म उपयोग गरौं ।

अब यस कार्यक्रममा बालबलिकालाई सहभागी गराउँदा पनि हाम्रो अगाडि नै भएजस्तो हुने कुरै भएन । त्यस कारणले पनि हामीले कक्षामा पढाएको जस्तो हुँदैन । अब हामीले यो समस्यणबाट पनि पाठ सिक्न थालेका छौं । हामीले पढाउने शैलीलाई बढीभन्दा बढी विद्यार्थी केन्द्रित बनाउन लागेका छौं । यसो गर्दा अत्यधिक कामहरू बाबुनानीहरूलाई नै गराउने खालका बनाएका छौं ।

उनीहरूलाई किताबबाट मात्र भन्दा पनि अन्य क्षेत्रबाट समेत काम दिने गरेका छौं । ती काममा तपाईंलाई, छिमेकीलाई सोधेर, गाउँकै जेष्ठ नागरिक लाई भेटेर, वृद्ध हजुरबा हजुरआमालाई भेटेर, हेरेर गर्नु पर्ने पनि काम पनि हुनसक्छ, वातावरणलाई राम्ररी हेरेर, छरछिमेकमा भइरहने गतिविधि (विवाह, ब्रतबन्ध, मृत्यु संस्कार, अर्मपर्म, गाईवस्तु पालन, कुखुरा, परेवा, माछा आदि पालन, खेतीपातीको उत्पादनका विविध आयाम, प्रक्रिया आदि नियालेर गर्नु पर्ने पनि हुनसक्ला, ती कार्यमा आफ्ना बालबालिकालाई सघाइ दिनु होला है ।

२. हाम्रा सानासाना बाबुनानीहरूलाई पढाउन मात्रै खोज्दा हाम्रो कक्षामा बस्न मान्दैनन् । तिनलाई रुचि हुँदैन । उनीहरूलाई दिक्क लाग्न सक्छ । तसर्थ हामीले उनीहरूलाई गीत गाउन, नाच्न, साथीको अभिनय गर्न, घर वरिपरि रहेका वस्तु, खेतीपातीको साना साना विवरण तयार गर्न, तपाईंले के गर्दै हुनुहुन्छ हेर्न लगाउने छौं, तिनले सोध्न सक्लान्, सहयोग गर्नुहोला ।

ती कामहरूमा तपाईं बजार जानुहोला । कुन सामान कहाँबाट ल्याउनुहुन्छ, ती सामान किन चाहिन्छन्, ती किन्नका लागि आवश्यक पैसा कहाँबाट आउँछ, तपाईंले कति मेहनत गरी कमाएको पैसो हो त्यो, आदिबारे आफ्ना नानीबाबुहरूसँग छलफल चलाएर हामीलाई सुनाउनु पर्ने पनि हुनसक्छ, सहयोग गर्नुहोला ।

तपाईं बस्ने गाउँ छिमेकमा भएका सामाजिक संघसंस्थहरू पनि होलान् । ती संस्था हेरेर, तिनका बारेमा पनि भन्न लगाउने छौं हामीले । बाबु नानीहरू अल्मलिनु होला, तपाईंले सोझै भनिदिनुभन्दा पनि नानीबाबुहरूले तपाईंहरूलाई सोध्ने र तपाईंले मायालु तरिकाले, पटक्कै झन्झट नमानीकन सिकाइ दिनु होला है ।

३. हिजोआज हामीले लिने अनलाइनका कक्षा मात्र होइन, रेडियो र टीभीहरूमा पनि कक्षाहरू चलेका छन् । ती कक्षाहरूमा पनि आफ्ना नानीबाबुहरूलाई बसेर हेर्न, कुनकुन पाठ पढाइएछ भनेर कापीमा टिप्न मात्रै लगाइ दिनुभयो भने पनि बाबुानानीले धेरै सिक्नेछन् । समय मिल्छ भने, बाबुनानीहरूसँग बसिदिएर तपाईंले नजानेजस्तो गरी, सिक्न खोजेजस्तो गरी सोध्नु भयो भने, भन्न लगाउनु भयो भने छोराछोरी खुसी त हुन्छन् नै, सिक्छन् पनि धेरै ।

४. तपाईं भान्सामा पनि जानु होला, गाईभैंसी पाल्नु भएको भए गोठ, कपडा धुन, करेसाबारी, तरकारी लगाउन, टिप्न पक्कै बारीमा वा पसलमा किन्न जानुहुन्छ । सानासाना ननानीबाबु होउन वा ठूला तिनलाई पनि यी काममा सँगै लगाउन सके, तिनले जीवन शिक्षा प्राप्त गर्नेछन् । अनि हामीले दिने पढाइकै काम पनि बढी सिक्ने छन् ।

यो वर्षा याम भएकाले तपाईं पनि खेतमा जानुपर्छ होला । यदि त्यसो हो भने कहिलेकाहीँ, छोराछोरीलाई पनि लिएर गइदिनु भयो भने, बिउ कहाँ राखिँदोरहेछ, कसरी रोपिँदोरहेछ, खनजोत के रहेछ, कसरी उत्पादन गरेर बजारमा बेच्दा मात्र पैसा आउँदो रहेछ भन्ने थाहा पाए पछि तिनले श्रमको महत्व बुझ्नेछन् । र तपाईंहामीले गरेका श्रमसँगै हामीलाई पनि माया गर्ने छन् । आफैंले पउिन काम गर्ने जाँगर निकाल्ने छन् । हामीले पनि त्यस्तै प्रश्न र प्रतिवेदन लेख्नुपर्ने काम दिन्छौं । तिनले यिनै कुरा नेपाली र अङ्ग्रेजी भाषामा पनि लेख्ने छन् । यसो गर्न सके भने, तिनले किताब पढ्न पाएनन् भनेर चिन्ता लिनै पर्दैन ।

५. पढाइ भनेको स्कुल कलेजका किताब पढ्नु मात्र होइन । प्रकृति, मानिस, रुख बिरुवा, विविध वनस्पति, नदीनाला, डाँडाकाँडा, खोल्साखोल्सी, भीरपाखा, समतल, माटो, ढुङ्गा, कीरा फट्याङ्ग्रा, अन्य पशुपञ्छी सबै किताबै हुन् । हामीले तिनै किताब पढाएर पनि तपाईंका नानीबाबुहरूलाई नेपाली भाषा, अङ्ग्रेजी भाषा, सामाजिक शिक्षा, भूगोल, इतिहास, नागरिक शास्त्र, गणित, विज्ञान आदिजस्ता धेरै विषय सिकाउन सक्छौं । हामीले पनि यही विधि अपनाएका छौं । यसले गर्दा हाम्रा बाबुनानीहरू पनि रमाइरमाई सिकेको अनुभव भएको छ । हामीलाई सघाउनोस है ।

६. प्रकृति पढ्ने भनेर पुस्तकहरू पढ्दै नपढ्ने भनेको चाहिँ होइन नि है । बरु, तपाईंलाई थाहा छ नि, हाम्रा बाबु नानीहरू स्कुलकलेजका किताब राम्ररी पढ्न चाहँदैनन् । बरु, यसो बाहिरी किताब भेटे भने पढ्न सक्छन् । बजारतिर गएर उनीहरूको उमेर समुहका केही किताब ल्याएर उनीहरूलाई केही नभनी उनीहरूले देख्ने गरी राखिदिनु भयो भने, उनीहरूलाई पढ्ने चाह बढ्न सक्छ ।

समय मिलाएर तपार्यंले पनि त्यस्ता पूस्तकहरू उनीहरूले देख्ने गरी पढिदिनु भयो भने, बालबालिकालाई समेत सुनाएर प्रसङ्ग चलाउनु भयो भने, शान्ता चौधरी, महेश थापा, झमक घिमिरे, आनी छोइङ डोल्मा, योगमाया न्यौपाने, हेलेन केलर, यानी सुलिभान, केरेन नाकामुरा आदि जस्ता कुनै पक्षबाट हेर्दा हाम्रा आँखाले कमजोर देखे पनि उनीहरूले के के गर्न सकेका रहेछन् ?

तिनका जीवनकथा खोजेर आफूले पनि पढ्दै छोराछोरीलाई पढ्ने अप्रत्यक्ष हौसला दिन सके तिनले आफैले आफैलाई चुनौती दिने मौका पाउने छन् । यस प्रकारका पुस्तक पढ्ने बानी परेका विद्यार्थीलाई कोर्सका किताब त सजिला लाग्न थाल्ने छन्, सहजै ग्रहण गर्ने छन् जीवन र जगतको बुझाइ त झन् हुने नै भयो । यो समयको यति राम्रो उपयोग अरू के हुनसक्ला ! फेरि हामीले पनि यी प्रसङ्ग चलाउने छौं, त्यसबेला पनि काम लाग्ने छ ।

७. ती मात्र होइनन्, अहिले प्राध्यापक हरि नारायण उपाध्यायले म्याथ आर्ट नाम राखेर युट्ुवमा गणितका रमाइला सिकाइ सामग्री राख्नुभएको छ । हाम्रा बालबालिकाको दृष्टि त्यतातिर फर्काइदिन सके गणित सिकाइमा निकै लाभदायी हुने छन् । यसै गरी, कवि एवं कविता वाचनका क्षत्रमा मुर्धन्य व्यक्तित्व शिव त्रिपाठी, सरु गुरागाईं जस्तै साहित्यकारहरूलाई सुनिदियौं भने हाम्रा बालबालिकामा नेपाली भाषा र साहित्यमा पनि अकर्षण बढ्ने छ । सहयोग पाउँ है !

आदरणीय अभिभावकज्यू, आज अलिक लामो भयो कि । फेरि पनि भेटौंला, विदा पाऊँ ।

प्रतिकृया दिनुहोस्