२०७६ कार्त्तिक २९ गते

शैक्षिकस्तर र शिक्षक अधिकारको पक्षमा देखिनेगरी सुधार गर्ने अध्यक्ष राईको प्रतिवद्धता


संखुवासभा । नेपाल शिक्षक संघ संखुवासभाको अध्यक्षमा थिर बहादुर राई पुनः निर्वाचित भएका छन् । संघको आठौं जिल्ला अघिवेशनले राई अध्यक्षसँगै २७ सदस्यीय जिल्ला कार्यसमिति नै निर्विरोध निर्वाचित गरेको हो ।


त्यस्तै, अधिवेशनबाट महिला उपाध्यक्षमा सुष्मा कोइराला, खुला मा सेरबहादुर पराजुली र सचिवमा दिव्यराज अधिकारी निर्वाचित भएका छन् । अर्थसचिवमा प्रशान्त श्रेष्ठ निर्वाचित हुँदा अर्थ सह–सचिव रिता त्रीताल,महिला सह–सचिवमा लक्ष्मी अधिकारीसँगै अन्य सह–सचिवहरुमा माधव भेट्वाल, बुद्धि कुलुङ, रामकुमार भोटे निर्वाचित भए ।


गत फागुन २७ र २८ गते सम्पन्न जिल्ला अधिवेशनको प्रमुख अतिथि एवं नेपाल शिक्षक महासंघका अध्यक्ष केशव निरौलाले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै निरौलाले अब शिक्षकहरुले अधिकार र कर्तव्यसँगसँगै अगाडी लैजानुपर्ने बताए । ‘अब कर्तव्य पुरा गर्दै अधिकारका लागि संघर्ष गर्ने हो’– उनले भने ‘कक्षाकोठामा राम्रो सिकाएर आन्दोलन गर्ने हो ।’


कार्यक्रममा जिल्ला शिक्षा अधिकारी चेतकुमार पोखरेलले शिक्षकहरु प्रविधि मैत्री बन्नुपर्ने बताए । शिक्षण सिकाईमा प्रविधिको प्रयोग, खोजमुलक शिक्षण सामाग्रीको प्रयोग र विद्यार्थीमैत्री वातावरण निर्माणमा शिक्षकहरु लाग्नुपर्नेमा उनले जोड दिए ।


अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि राईले जिल्लामा शिक्षकहरुको पेशागत आन्दोलनलाई कर्तव्यसँग जोड्दै नयाँ ढंगले अघि बढाउने बताए । अब शिक्षक संघ जिल्लाको शैक्षिक उन्नयनमा केन्द्रित हुन्छ भन्दै राईले कक्षाकोठाबाटै सिकाईमा सुधार गर्नेगरी अघि बढ्ने प्रतिवद्धता जनाए ।  ‘मेरो कार्यकालमा अब जिल्लाको शैक्षिकस्तर र शिक्षकको पेशागत आन्दोलनमा देखिनेगरी सुधार हुन्छ ।’ राईले भने ।

Comments: