२०७६ कार्त्तिक २७ गते

ठगिए विद्यार्थी

रुकुम (पश्चिम) ।  मुसिकोट नगरपालिका–१२ की टीका ओली कृषि जेटीए पढ्न सदरमुकाममा सञ्चालित सारांशी टेक्निकल कलेजको शाखामा भर्ना भइन् । १८ महिने भनिएको उक्त कोर्सका लागि उनले ४० हजार नगदसमेत बुझाइन्  ।

भर्ना भएको ५ महिनापछि थाहा भयो, उनलाई पढाइँदै गरको कोर्स कृषि जेटीए थिएन । उनका भाइ नवराज ओलीले सदरमुकाममै सञ्चालित वेस्टर्न नेपाल टेक्निकल कलेजमा इलेक्ट्रिक सबओभरसियर विषय पढ्न ३७ हजार नगद बुझाए तर उनी पनि ठगिए । कक्षा लिन थालेको ५ महिनापछि पढाइँदै गरेको कोर्स अर्कै तहको भएको थाहा पाए ।

जिल्लामा खुलेका प्राविधिक कलेजबाट ठगिने विद्यार्थी अरू पनि थुप्रै छन् । एसएलसीपछिका विद्यार्थीलाई लक्षित गरी विभिन्न प्राविधिक कोर्स पढाउने प्रचारबाजी गरेका अवैध कलेजले महँगो शुल्क असुलेका मात्र होइन उनीहरूको भविष्यमाथि खेलवाड गरिरहेका छन् । उनीहरूले सम्बन्धित निकायबाट अनुमति नै नलिई विद्यार्थी भर्ना गरेको पाइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को पश्चिम क्षेत्रीय कार्यालय कोहलपुरले गरेको अनुगमनमा ती कलेज अवैध पाइएका हुन् । बिनाअनुमति चलाइएका र एउटा कोर्स प्रचार गरी अर्कै पढाएको भन्दै विद्यार्थीले नै कलेजमा तालाबन्दी गरेका छन् । कृषि जेटीए, भेटेरिनरी जेटीए, इलेक्ट्रिक सबओभरसियर, कम्प्युटर सबओभरसियरलगायत कोर्स पढाउने प्रचार गरेका कलेजले शुल्कसमेत विद्यार्थीपिच्छे फरक–फरक उठाएको पाइएको छ । सञ्चालित कोर्स पनि तह १ भन्दा माथि पढाएका छैनन् । तह १ भनेको साधारण लेखपढ गर्न सक्नेले लिने तीनमहिने तालिम हो ।

सीटीईभीटीको अनुगमनपछि विद्यार्थीहरू आफूले बुझाएको शुल्कको दोब्बर फिर्ता पाउनुपर्ने, अवैध कलेज खारेजीसँगै सञ्चालकलाई कारबाही गरिनुपर्ने र आफूहरूको पढाइको विकल्प दिनुपर्ने माग राखी आन्दोलनमा उत्रिएका छन् । ‘राम्रो भनेर प्रचार गरियो, कलेजमा बुझ्दा पनि कृषि जेटीए नै हो भनियो,’ ओलीले भनिन्, ‘तर सबै ठगी धन्दा रहेछ ।’ दुई सातादेखि आन्दोलन गरिरहे पनि माग सुनुवाइ नभएको उनको गुनासो छ ।

आठबीसकोट नगरपालिका–३ की जानकी बोहराले पनि कृषि जेटीए पढ्न ऋण खोजेर सारांशी कलेजलाई २५ हजार बुझाइसकेकी थिइन् । उनलाई थप १५ हजार बुझाउन भनिएको थियो । तर, कलेज नै अवैध रहेको थाहा पाएपछि बोहरा अन्योलमा छिन् । ‘बुबाआमाले केही थाहा पाउनुहुन्न, आफैंले ऋण खोजेर पढ्न थालेकी थिएँ,’ उनले भनिन्, ‘अब पढाइत नहुने भयो नै ऋणसमेत कसरी तिर्ने भन्ने चिन्ता थपियो ।’

वेस्टर्न नेपाल टेक्निकल कलेजमै इलेक्ट्रिक सबओभरसियर पढ्न थालेका मुसीकोट नगरपालिका–१ का यतकुमार बोहरा पनि अलमलमा छन् । टी–एसएलसीसरहको कोर्स भनेर भर्ना लिइएका उनलाई तह १ कै कोर्स पढाइएको रहेछ । बीएड दोस्रो वर्षको पढाइ छाडेर उनी इलेक्ट्रिक सबओभरसियर पढ्न भर्ना भएका थिए । ४० हजार शुल्क भनिए पनि अहिलेसम्म २३ हजार मात्र बुझाएका बोहरा कलेज अवैध रहेको थाहा पाएपछि समस्यामा परेका छन् ।
सारांशी र वेस्टर्नसँगै जिल्लमा रुकुम मल्टी टेक्निकल र स्यार्पू मल्टिपल कलेज पनि सञ्चालित छन् । अनुगमनमा यी चारै कलेज अवैध प्रक्रियाबाट सञ्चालनमा रहेको पाइएको सीटीईभीटी क्षेत्रीय कार्यालयका निर्देशक यादव सुवेदीले जानकारी दिए । ‘यी कुनैले पनि प्रक्रिया पूरा गरेका छैनन्,’ उनले भने । पीडित विद्यार्थीसँग छलफलका लागि सुवेदी जिल्ला आएका थिए । उनले यसअघि भएको अनुगमनको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाइएको र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा पनि पठाइने जानकारी दिए ।

आन्दोलनपछि पीडित विद्यार्थीलाई क्षतिपूर्ति उपलब्ध गराउन कलेज सञ्चालक तयार भएका छन् । नेकपा निकट अखिल क्रान्तिकारीको नेतृत्वमा कलेज सञ्चालक र विद्यार्थीबीच यससम्बन्धी सहमति भएको छ । सीटीईभीटीको कोहलपुरस्थित क्षेत्रीय कार्यालयमा माघ ४ र ५ गते भएको छलफलमा उनीहरू विद्यार्थीलाई दोब्बर शुल्क फिर्ता गर्न तयार भएका हुन् । क्षेत्रीय निर्देशक सुवेदीकै रोहबरमा भएको उक्त सहमति कार्यान्वयन हुनेमा भने विद्यार्थी विश्वस्त छैनन् । पीडितमध्येका एक तुफान खनालले कलेज सञ्चालकहरूले आफूहरूलाई धम्की दिइरहेको बताए । ‘पैसा फिर्ता गर्ने सहमति त भएको छ,’ उनले भने, ‘तर कार्यान्वयन भएको छैन, मालिकहरू उल्टै धम्की दिइरहेका छन् ।’ पैसा फिर्ता दिने सहमति पनि सारांशी र वेस्टर्न कलेजले मात्रै गरेका हुन् ।

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुरेन्द्र बस्नेतले बाँकी दुई कलेज सहमतिमा नआएको बताए । ‘धेरै विद्यार्थी भर्ना गरेकाहरू सहमतिमा आएका छन्,’ उनले भने, ‘उनीहरू यही २५ गतेभित्र विद्यार्थीको उठाएको शुल्कको दोब्बर फिर्ता गर्न सहमत भएका हुन् ।’

हरि गौतमले कान्तिपुरमा लेखेका छन् ।

Comments: