२०७६ कार्त्तिक २७ गते

तलब माग्दै शिक्षक आन्दोलनमा

म्याग्दी । शिक्षकहरु दोस्रो चौमासिकको तलब नपाएको भन्दै अध्यापन छोडेर आन्दोलनमा उत्रेका छन् । बेनी नगरपालिका क्षेत्रका शिक्षकले तलब नभएको भन्दै शुक्रबार अध्यापन छोडेर नगरपालिका कार्यालयमा धर्ना बसेका हुन् ।

तलब नपाए चैत ८ बाट सुरु हुने एसईई र कक्षा ८ को परीक्षा नलिने शिक्षकले चेतावनी दिएका छन् । बेनी नगपालिकाबाहेक रघुगंगा र अन्नपूर्ण गाउँपालिका क्षेत्रका शिक्षक/कर्मचारीले मंसिरदेखि तलब पाएका छैनन् ।

‘हामीले काम गरेको पारिश्रमिक मागेका हौं । भोको पेटले कति दिन पढाउन सकिन्छ ?’ नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष जयराम सुवेदीले भने, ‘पहिलो चौमासिकको तलब पनि समयमा पाएनौं । दोस्रो चौमासिकको मंसिरदेखि तलब पाएका छैनौं । अन्य कर्मचारीको तलब समयमा आउने तर शिक्षकको मात्र रोकिएको छ ।’

मन्त्रालयबाट नै सशर्त अनुदानअन्तर्गत कर्मचारीहरुको तलबभत्ताको रकम अपुग र समयमा नपठाउँदा स्थानीय सरकारले शिक्षक र कर्मचारीलाई समयमा तलब खुवाउन समस्या भएको हो । अन्नपूर्ण, रघुगंगा, मंगला र मालिका गाउँपालिकाले पुँजीगत रकमान्तर गरी शिक्षकको तलब खुवाए पनि कार्यकारी अधिकृतले पुँजीगत बजेट रकमान्तर गर्न नमिल्ने अडान राखेपछि बेनी नगरपालिका शिक्षक र स्वास्थ्यका कर्मचारीले तलब नपाएका हुन् ।

‘शिक्षा विभागमा सोध्यो एक हप्तामा निकासा छोड्छौं भन्छन्, बजेट आउँदैन । ४ करोड बढी रकम नगरपालिकाले सोधान्तर गर्न पनि समस्या छ’ बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले शिक्षक आन्दोलनका अगुवासँगको वार्तामा भने, ‘नगरपालिकाको निर्णय गराएर पुँजीगत बजेटबाट भए पनि तलब खुवाउने प्रयत्न गर्छु ।’

शिक्षकले मात्र होइन, नगरपालिका क्षेत्रका जिल्ला अस्पताल समेत ८ वटा हेल्थ पोष्टका डाक्टर समेत सबै स्वास्थ्यकर्मीले पनि पुसदेखि तलब पाएका छैनन् । गाउँपालिकाहरुले ढिला भए पनि सोधान्तर गर्ने गरी तलब खुवाएका भए पनि बेनी नगरपालिकाले भने तलब खुवाउन कुनै चासो राखेको छैन ।

‘पुसदेखि तलब खाएका छैनौं । रात्रि ड्युटी गर्ने स्वास्थ्यकर्मीले त गत वैशाखदेखिको भत्ता पाएका छैनन्’ निमित्त जिल्ला अस्पतालका प्रमुख डा. विराट शर्माले भने, ‘शिक्षकलाई रकमान्तर गरी तलब खुवाए पनि हामीलाई वास्ता गरिएको छैन । शिक्षकले जस्तो डाक्टरले अस्पताल बन्द गर्न मिल्दैन भनेर हो कि नगरपालिकाका कार्यकारी अधिकृतले चासो राख्नु हुन्न ।’

कान्तिपुरमा खबर छ ।

Comments: