२०७६ कार्त्तिक २९ गते

विद्यालयका नामबाट हटेन ‘उच्च मावि’

 स्याङ्जा । आठ महिनाअघि जारी भएको नयाँ शिक्षा ऐनले कक्षा १२ सम्मलाई मध्यामिक तह मानेको छ । ऐन जारीसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भइसकेको छ । तर, यसअघि कक्षा १२ सम्म सञ्चालन गरिँदै आएका शिक्षालयले अझैसम्म आफ्ना साइनबोर्डबाट ‘उच्च मावि’ हटाएका छैनन् ।

उमाविकै लेटर प्याड र छाप पनि व्यवहारबाट हटेको छैन । ऐन जारीअघि स्याङ्जामा ७५ उच्च मावि थिए । सबै स्वीकृत भई सञ्चालन गरिएको भनिए पनि केही राहत दरबन्दीमा बिनास्वीकृति सञ्चालनमा रहेको जिशिकाले जनाएको छ ।

ऐन जारीलगत्तै कार्यालयले ७५ वटै उमावि खारेज गरी मावि बनाउन निर्देशन दिएको छ । विद्यालय शिक्षा अब आधारभूत तह र माध्यमिक तह मात्र कायम गर्न सबै शिक्षालयलाई पत्राचार गरिसकिएको जिशिअ अम्बिका आचार्यले बताए । कक्षा ९ देखि १२ सम्म सुचारु शिक्षण संस्थाले यसअघि उल्लेख ‘उच्च मावि’ को सट्टा ‘माध्यमिक विद्यालय’ भनेर साइनबोर्ड राख्नुपर्छ । गत असार १५ मा आठौं शिक्षा ऐन स्वीकृत भएको थियो ।

जिशिअ आचार्यले भने, ‘३ महिनाभित्र उच्च मावि हटाएर माध्यमिक बनाउन पत्राचार गरिएको थियो । उमावि नै लेखेका लेटरप्याड र छापमा कार्यालयबाट तोक लगाइएको छैन । कामकाज रोकिएको छ । तर, बाध्य भएर काम पनि गर्नुपर्छ ।’ ऐनअनुसार विद्यालय व्यवस्थापन समिति नयाँ गठन गर्नुपर्ने र त्यतिन्जेल कुनै शिक्षक नियुक्ति गर्न नपाउने पनि निर्देशन दिइएको छ । ग्रामीण क्षेत्रका मात्रै नभई सहरी क्षेत्रकै विद्यालयले पनि नाममा सुधार गरेका छैनन् ।

रत्नपुरको जनहित माविका प्रधानाध्यापक खेमराज भण्डारीले विद्यालय मर्मत र रङरोगन गर्ने काम भइरहेकाले उमावि भनिने चलन हट्न अझै केही समय लाग्ने बताए । ‘यति समयभित्र साइनबोर्डहरू फेर्न शिक्षा कार्यालयको निर्देशन थिएन,’ उनले भने, ‘साइनबोर्ड, लेटर प्याड र विद्यालयको छाप फेर्नू मात्र भनिएको थियो । समय नतोकिएकाले ढिलो भएको हो ।’ वीरेन्द्र मावि जैपत्तेका प्रधानाध्यापक ठगवीर राना पनि केही समय लाग्ने बताउँछन् । ‘शिक्षा कार्यालयबाट उच्च मावि हटाउन निर्देशन छ तर निर्माण कार्य भइरहेकाले अझै केही समय लाग्न सक्छ,’ उनले भने । एसईई परीक्षाका लागि दिइने कागजात, केन्द्राध्यक्षहरूलाई नियुक्त गर्दाको कागज र सिफारिसमा समेत उच्च मावि शब्द प्रयोग भएका छन् । कान्तिपुरमा खबर छ ।

Comments: