• शैक्षिक सुधारका लागि सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक
    (सीताराम चौधरी/कपिलवस्तु)


  • कपिलवस्तुको शिवराज नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा स्वयम्सेवक शिक्षक परिचालन गरिएको छ । नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्थामा सुधार ल्याउन नगरपालिकाद्वारा स्वयम्सेवक शिक्षक परिचालन गरिएको हो ।

    नगरपालिका शिक्षा शाखामार्फत प्रावि, निमावि र मावि तीनै तहका लागि विज्ञापनमार्फत सम्पूर्ण प्रक्रिया पूरा गरी ४७ जना शिक्षक नियुक्त गरी विद्यालयमा खटाइएको शिक्षा शाखा प्रमुख पूर्णबहादुर विश्वकर्माले जानकारी दिए । ‘प्रावितर्फ  २३, निमावितर्फ २१ र मावितर्फ ३ जना स्वयम्सेवक शिक्षक विद्यालयमा परिचालन भएका छन्’ –शिक्षा शाखा प्रमुख विश्वकर्माले भने ।

    दुई चरणमा विज्ञापन गरी ती शिक्षकहरुलाई छनौट गरिएको उनले बताए । ‘पहिलो चरणमा १२ प्रावि, १८ निमावि र १ मावि गरी कूल ३१ पदका लागि विज्ञापन गरिएको थियो । तर निमावितर्फ विज्ञानमा ५ र मावितर्फ विज्ञापनमा १ पदमा कुनै पनि दरखास्त परेन ।’

    विश्वकर्माका अनुसार दोस्रो चरणमा प्रावि तहमा ११, निमावि तहमा पहिलेको ५सहित ८ र माविमा १ सहित ३ पद गरी कुल २२ पदका लागि शिक्षक विज्ञापन गरिएको थियो । सोही विज्ञापनबाट छनौट भएका शिक्षकहरुलाई सामुदायिक विद्यालयमा पठाइएको विश्वकर्माले जनाए ।

    ‘शिक्षकको मागलाई पूर्ति गर्न स्वंसेवक शिक्षक छनौटको मापदण्ड निर्धारण, परीक्षा सञ्चालन, नियुक्ति तथा पदस्थापनको सम्पूर्ण प्रक्रिया पूरा गरी शिक्षकलाई विद्यालयमा खटाएका हौं’ –शिक्षा शाखा प्रमुख विश्वकर्माले भने ।

    निमावि र मावि तह संचालित विद्यालयको हकमा विषयगत दरबन्दीलाई आधार मानी विज्ञापन गरिएको उनले बताए । नगरभित्र सामुदायिक विद्यालय ५०, समुदायमा आधारित धार्मिक विद्यालय मदरसा संख्या १२ र संस्थागत विद्यालय २७ वटा रहेको उनले जानकारी दिए ।

    यता प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न स्वयम्सेवक शिक्षक व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम स्वयम्सेवक शिक्षक परिचालन गरिएको बताए ।

    ‘नगरपालिका अन्तर्गत संचालित सामुदायिक विद्यालयहरुमा शून्य दरबन्दी र उच्च शिक्षक विद्यार्थी अनुपातलाई मध्येनजर गरी शिक्षक पदपूर्ति गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

    चालु आर्थिक वर्ष २०७४÷०७५ मा बालविकास, लेखापाल र कार्यालय सहयागीलाई खाइपाई आएको वार्षिक तलबमा एकमुष्ट ७ हजार ५सय रकम थप गरी भुक्तानी दिइने निर्णय भएको प्रशासकीय अधिकृत पौडेलले बताए ।

    धार्मिक विद्यालयको रुपमा संचालित मदरसालाई वार्षिक एकमुष्ट ५० हजारका दरले र बैकल्पिक विद्यालयको रुपमा संचालित विद्यालयलाई प्रतिविद्यालय वार्षिक २ लाख ४१ हजार रकम अनुदान सहयोग गरिने पौडेलको भनाई छ ।

    नगरपालिका उपप्रमुख शिवकुमारी थारुले सामुदायिक विद्यालयहरुमा शिक्षक व्यवस्थापनमा देखिएको समस्यालाई मध्यनजर गर्दै स्वयंसेवक शिक्षकको योजना ल्याएको बताए ।  कार्यवाहक प्रमुख समेत रहेका  थारुले सामुदायिक विद्यालयहरुमा स्वयंसेवक शिक्षक पठाइसकिएकाले अब विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

    नगरपालिकाद्वारा व्यवस्थित कार्यपालिकाबाट स्वीकृत अनुदान कोटाबाट विद्यालयहरुमा स्वयंसेवक शिक्षक पठाएको थारुले बताए ।

    नगरपालिकाद्वारा स्वयंसेवक शिक्षक पाएका सामुदायिक विद्यालयहरुले ठूलो राहतको महसुस गरेका छन् । आयस्रोत नहुँदा निजीस्रोतका शिक्षकलाई तलब खुवाउन निकै समस्या बेहोर्दै आएको दर्साउँदै सरस्वती आधारभूत विद्यालय शिवपुरका प्रधानाध्यापक रामविलास मण्डलले नगरपालिकाले स्वयंसेवक शिक्षक सहयोग खुशी व्यक्त गर्दै विद्यालयलाई ठूलो राहत पुगेको बताए ।