२०७६ असोज २ गते

शिक्षा आयोग सुस्त

काठमाडौं  ।  प्रारम्भिकदेखि विश्वविद्यालय तहसम्मको शिक्षाको अध्ययन गरी समयानुकूल परिमार्जनका लागि सरकारलाई सुझाव दिने जिम्मेवारी पाएको उच्चस्तरीय शिक्षा आयोग सुस्त भएको छ ।

लामो बहसपछि गठित आयोगको बैठक पाँच महिनामा दुईपटक मात्रै बसेको छ। गत भदौ १९ गते मन्त्रिपरिषदको निर्णयअनुसार पाँच महिनाको समयसीमा तोकेर गठन भएको आयोगको समयावधि अब तीन साता मात्रै छ। तर समय सकिन लागे पनि उसलाई दिइएको महत्वपूर्ण काम बाँकी नै छ।

संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहअनुकूल शिक्षा नीति, कार्यक्रम र संगठनात्मक स्वरूपको सुधार एवं परिमार्जनका लागि सुझाव पेस गर्ने जिम्मेवारी आयोगको छ। पहिलोपटक भदौ ३० गते बसेको बैठकले आयोगको कार्यभारअनुसार अध्ययन गरेर प्रारम्भिक मस्यौदाको सिफारिस गर्न सदस्यहरूमध्येबाट १५ सदस्यीय विज्ञ समूह गठन गरिएको थियो।

उक्त समूहले प्रारम्भिक मस्यौदा पुस ४ गते नै आयोग अध्यक्ष तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई बुझाएको भए पनि छलफलका लागि बुधबार मात्रै पूर्ण बैठकमा पेस गरिएको छ। ६५ सदस्यीय आयोगका अधिकांश सदस्यबाटै मस्यौदामाथि सुझाव आउने क्रम जारी छ भने उपत्यकाबाहिर गएर शिक्षाको वास्तविक अवस्थाबारे एकपटक पनि अध्ययन भएको छैन।

संघ, प्रदेश र स्थानीय तहअनुकूल नीति तथा कार्यक्रम बनाउन सुझाव दिनुपर्ने भएकाले यी तीनै निकायका प्रतिनिधिसँग पनि अन्तर संवाद गर्नुपर्ने हुन्छ। तर अहिलेसम्म दुईवटा मात्रै बैठक सम्पन्न भएको छ। पहिलो बैठकमा उत्साहका साथ अधिकांश सदस्य उपस्थित भए पनि बुधबारको बैठकमा निकै कम मात्रै सदस्य सहभागी भए। मस्यौदा बनाउने विज्ञ समूहका १५ सदस्य पनि सबैजना बैठकमा आएनन्।

स्वास्थ्य समस्याका कारण बैठकमा एकछिन मात्रै उपस्थित भएका अध्यक्ष श्रेष्ठले आयोगको सुस्तताबारे भने, ‘आयोग गठन भएपछि संघ र प्रदेशको चुनाव भयो। हामी पनि त्यतैतिर लाग्नुपर्‍यो। त्यसैले आयोगलाई सोचेअनुसार गति दिन सकेनौं।' निर्धारित समय सकिन लागेकाले हतारमा झारा टार्ने किसिमको प्रतिवेदन बनाउनुभन्दा केही समय थप गरेर गहन प्रतिवेदन बनाउनुपर्ने पक्षमा आफूहरू रहेको उनले बताए।

केही सदस्यले विज्ञ समूहले प्रस्तुत गरेको प्रारम्भिक मस्यौदामाथि आफ्नो राय प्रस्तुत गरेका थिए। अन्तिम प्रतिवेदन तयार गर्नुअघि स्थानीय तहमा गएर सरोकारवालासँग सुझाव लिन आयोग सदस्यहरू सहमत भएका छन्।

अन्नपुर्णपोष्टमा सूर्यप्रसाद पाण्डेले खबर लेखेका छन् ।

Comments: