२०७६ भदौ ३० गते

एसइइ परीक्षा शुरु, पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिँदै विद्यार्थी

ईपाटी संवाददाता


काठमाडौं । आजबाट यस वर्षको माध्यमिक शिक्षा (एसइइ) परीक्षा सुरु भएको छ ।  बिहान ८ बजेदेखि शुरु भएको परीक्षाको  पहिलो दिन विद्यार्थीहरुले अंग्रेजी विषयको जाँच दिइरहेका छन् ।


संघीय संरचनाअनुसार पहिलोपटक भएको एसइइ परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यसअघि विकास क्षेत्रका आधारमा हुँदै आएको परीक्षा यसवर्ष प्रदेशका आधारमा शुरु भएको हो ।


चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।


परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित भएका बोर्डले जनाएको छ ।


दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्राको सहभागीता रहेको परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी भएका बोर्डले जनाएको छ । बोर्डका अनुसार त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी भएका छन् ।
त्यस्तै प्रदेश नं १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल भएका बोर्डले जनाएको छ ।
 

मुलुक संघीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए ।


पौडेलका अनुसार परीक्षा व्यवस्थापनको सम्पूर्ण काम प्रदेश सरकारले गर्नेछ भने परीक्षाफल प्रकाशित भने बोर्डले गर्नेछ ।  परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेको पौडेलले स्पष्ट पारे ।


 'गतवर्ष चार प्रकारका प्रश्न सोधिएको भएपनि यस वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
परीक्षामा साधारणतर्फको अनिवार्य छ विषयका फरक–फरक प्रश्नपत्र बनाइएको र प्राविधिक तथा संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ ।' अध्यक्ष पौडेलले भने ।


गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए ।

Comments: