२०७६ मंसिर ६ गते

झारफुकमा अल्झिँदा दुई बालबालिकाको मृत्यु

सुर्खेत ।  घरनजिकैको मकैबारीमा बाँदर धपाउन गएका उनीहरूलाई अरिङ्गालले चिल्यो । शनिबार बिदाको दिन बारीमा बाँदर रुँघ्न जाँदा अरिङ्गालले चिलेपछि उनीहरू अत्तालिँदै घर आए । घाइते अवस्थामा घर आएका उनीहरूलाई उपचारका लागि आफन्तले अस्पताल लगेनन् । घरमै झारफुकबाट निको पार्ने प्रयास गरियो । झारफुक गर्दागर्दै पाँच वर्षीय रिजन पुन र तीन वर्षीया भावना पुनको ज्यान गयो ।

जाजरकोटको भेरीमालिका नगरपालिका ७ खातीगाउँमा शनिबार बिदाको दिन भएकाले अभिभावकले बालबालिकालाई मकैबारीमा बाँदर धपाउन पठाएका थिए । पाक्नै लागेको मकै खाएर बाँदरले हैरान बनाएकाले उनीहरू बारीमा बाँदर धपाउन पुगेका थिए । सोही क्रममा एक्कासि अरिङ्गालले उनीहरूलाई चिलेको थियो । गम्भीर घाइते रिजन र भावनाले उपचारको अभावमा ज्यान गुमाउनुपर्‌यो । यस्तै सात वर्षीया कविता पुनको अवस्था गम्भीर रहेको गाउँलेले बताएका छन् ।

अन्धविश्वास र अस्पताल नजिक नहुँदा दुई बालबालिकाले स्वास्थ्य उपचारको अभावमा ज्यान गुमाएका छन् । शनिबार अरिङ्गालको चिलाइबाट घाइते भएका उनीहरूको आइतबार बिहान मृत्यु भएको हो ।

घरायसी उपचार गर्दागर्दै उनीहरूको मृत्यु भएको रिजनका बुबा नरोज पुनले बताए । उनले भने, 'गाउँमा अस्पताल छैन । जिल्ला अस्पताल टाढा छ । जडीबुटीले निको होला भन्ने ठानेका थियौं तर बचाउन सकिएन ।' उनका अनुसार सदरमुकाममा रहेको जिल्ला अस्पतालमा उपचारका लागि ल्याउन पैदल एक दिन लाग्छ । गाउँमा स्वास्थ्य संस्था नहुँदा आफूहरूले घरायसी उपचारमै ध्यान दिएको स्थानीयको भनाइ छ ।

स्थानीय कलावती पुनकी सात वर्षीया छोरी कविताको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने तयारी गरिएको आफन्तले बताएका छन् । आइतबार अबेरसम्म उनलाई अस्पताल भर्ना गरिएको थिएन ।कविता रिजन र भावनालाई साथमा लिएर बाँदर धपाउन गएकी थिइन् । बाँदरले अरिङ्गालको गोलो चलाइदिएपछि उनीहरूलाई चिलेको हुनसक्ने स्थानीय लालबहादुर पुनले बताए ।

'गाउँमा भरपर्दा स्वास्थ्य संस्था छैनन् । जिल्ला अस्पताल आउन एक दिन लाग्छु, स्थानीय पत्रकार दीपेन्द्र शर्माले भने, 'समयमै उपचार पाएको भए उनीहरू बाँच्ने थिए । घरमै झारफुक र जडीबुटीको उपचारमा अल्झिएछन् । अहिले पनि गाउँमा धामीकै भरपर्ने संस्कार छ । यसले मान्छेहरू अस्पतालको उपचार नपाएर मर्ने गरेका छन् ।' अन्धविश्वास र अस्पताल नजिक नहुँदा गाउँमा धामीकै शरणमा पर्नुपर्ने बाध्यता रहेको शर्माको भनाइ छ ।अन्नपुर्णपोष्टमा खवर छ ।

Comments: