२०७६ असोज १ गते

ठूली दिदीहरुले जोडिदिएको बहिनीहरुको शिक्षा


सुर्खेत ।  १४ वर्षकी पूर्णिमा विकलाई कक्षा ७ मा पढ्दै गर्दा अभिभावकले उनको विवाह गरिदिए । विवाह गरेपछि उनी विद्यालय जान छोडिन् । घरकै कुचोमा सिमित भइन् ।


यस्तो बेला उनी जस्तै छोरीहरुका लागि एउटा अभियानमुखी कार्यक्रम सञ्जीवनी नै बन्यो । त्यो हो, बहिनी शिक्षाका लागि दिदी कार्यक्रम । यसमा आबद्ध दिदीहरुले ६ महिना पछि उनलाई भेटेर विद्यालय नजानुको सबै कारण पत्ता लगाई सम्झाइ÷बुझाइ पुनः विद्यालय फर्काउन सफल रहे । उनी अहिले दशरतपुर गाविसको गमखोलमा रहेको जनक माध्यमिक विद्यालयमा कक्षा ९ अध्ययन गरिरहेकी छन् । ठूली दिदीले आफूले बिराएको शिक्षाको बाटो देखाइदिएको भन्दै पूर्णिमाले अब पढेर आत्मनिर्भर बन्ने अठोटसमेत संगालेको बताउँछिन् । ‘म १४ वर्ष हुँदा ७ कक्षामा पढ्थँे, चनचले उमेर, सम्झाउने कोही भएन, विवाह गरे, विहे गरेपछि पढाइ पनि छोडेँ’ पूर्णिमाले भनिन्, ‘६ महिना पछि ठूली दिदीहरुले भेटेर विद्यालय जानुपर्छ भनेर सम्झाउनुभयो, अनि विद्यालय गएँ, अहिले त ९ कक्षामा अध्ययन गरिरहेकी छु ।’


करेखोलाकी लक्ष्मी बाठाको विवाहपछि छुटेको विद्यालय शिक्षासँगको सम्बन्ध ठूली दिदीहरुको कारण जोडिएको छ । उनी हाल नियमित विद्यालय जाने गर्छिन् । हरिहरपुर, रानीघाटकी लक्ष्मी वि.क.को पढाइमा रुचि हुँदाहुँदै पारिवारिक वातावरणले पढ्न छोडिन् । घरको आर्थिक अवस्थाले गर्दा अभिभावकहरुले उनलाई विद्यालय पठाउन छाडे । तर हाल उनको पढ्ने धोको पूरा भएको छ । ठूली दिदीहरुले उनका अभिभावकलाई सम्झाई÷बुझाई उनलाई विद्यालय पठाउन राजी गराए । हाल उनी ९ कक्षामा अध्ययन गरिरहेकी छिन् ।


अभिभावकबिहीन दशरथपुरकी पुनम पुन पनि आर्थिक समस्याले नपढ्ने निधोमा पुगेकी थिइन् । तर, उनी पनि ठूली दिदीहरुको सहयोग पाएपछि विद्यालय जान सफल भइन् । उनीहरु मात्रै होइन, दशरथपुरकी सुस्मिता वि.क, गौरीकला बुढा, छिन्चु राजीगाउँकी सावित्रा सुनार, विमला सुनारको चुँडिएको पढाइ पनि ठूली दिदीहरुका कारण जोडिएको छ ।


काठमाडौं भम्रणमा रहेका उनीहरुले मनाङ होटलमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना कारुणिक विगत यसरी पोखे । युके एडको सहयोगमा ग्लोबल एक्सन नेपालले सुर्खेतमा सञ्चालन गरेको ‘बैनी शिक्षाका लागि दिदी कार्यक्रम’ले उनीहरु जस्तै धेरै बहिनीहरुको बीचैमा विभिन्न कारणले छाडेको पढाइलाई  पुनः विद्यालय फर्काएको छ । कार्यक्रममा ठूली दिदीको भूमिकामा रहेका छात्राहरुले पढाइ छोडेका साना बहिनीहरुको पढाइ छोड्नुको कारण पत्ता लगाएर पढ्न प्रेरित गर्नुका साथै पढ्नसक्ने वातावरण सिर्जना गरेका छन् ।


‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ सुर्खेत जिल्लाका संयोजक यादव भुषाल यस कार्यक्रमले विभिन्न कारणले विद्यालय जान छाडेका बहिनीहरुलाई ठूली दिदीहरुको सहयोग र समन्वयमा विद्यालयसम्म ल्याउने गरेको बताए । विद्यालयमा ल्याउने मात्रै होइन, उनीहरुलाई विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने, विभेद र दुव्र्यवहारबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने, खेलकुदका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने काम गरिएको जानकारी दिए ।  


पढ्नका लागि पैसा भन्दा इच्छाशक्ति ठूलो रहेछ

लक्ष्मी वि.क
सानी बहिनी, भेरी मावि, रानिघाट हरिहरपुर

मलाई सानैदेखि पढने रुचि थियो तर घरमा त्यस्तो पढ्ने वातावरण थिएन । पढाइमा जतिसुकै चासो भएतापनि विद्यालयमा जति पढ्यो त्यति नै हो घरमा गएर पढ्न पाइदैनथ्यो । कक्षा पाँचबाट तेस्रो भए तरपनि आर्थिक अवस्था कम्जोर थियो । हाम्रो विद्यालयमा बहिनी शिक्षाका लागि दिदी कार्यक्रमका लागि ठुली दिदीहरु आउनुभयो । र, म पनि त्यो कार्यक्रमका लागि छनोट भए । आर्थिक अभावले पढ्ने बेला कापि–कलमको धेरै अभाव हुन्थ्यो । कार्यक्रममा सहभागी भएपछि यो कार्यक्रमले धेरै कार्यक्रमको आयोजना गरेको हुन्थ्यो । त्यसमा सहभागी हुँदा मलाई त्यहाँबाट धेरै प्रेरणा मिल्यो । बिस्तारै मेरो पढाइमा पनि सुधार आयो । जिल्लास्तरीय परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भए । यो कार्यक्रमले मलाई जस्तोसुखै अवस्थामा पनि पढ्नुपर्ने रहेछ भन्ने फिल गराएको छ । म राम्रोसँग पढेर भविश्यमा ठूलो मान्छे बन्ने इच्छा छ । अहिले पढ्नका लागि पैसाभन्दा इच्छाशक्ति ठूलो रहेछ भन्ने लाग्दैछ । 

विषय लागेर पास हुने म प्रथम पो भएँ

पुनम पुन
सानी बहिनी, जीवनज्योति मावि दशरथपुर

म पहिला–पहिला विद्यालय आउन मान्दिनथिएँ । किनकि, मेरो बुवाआमा पनि हुनुहुन्न । बुवा बेपत्ता हुनुभएको छ । ममीको पनि निधन भएको । पहिले म सधैं यही सोच्थेँ कि पढेर के नै हुन्छ र भन्ने सोच्थेँ । विद्यालय जाँदा अनेक बहाना बनाएर घरमै बस्थेँ । विद्यालय जानै मन लाग्दैनथियो । त्यतिबेला साथीहरु पनि थिएनन् । विद्यालयमा जहिले पनि पछाडिको बेन्चमा बस्थेँ । कक्षा ६ मा पढदाखेरी बहिनी शिक्षाका लागि दिदी कार्यक्रम हाम्रो विद्यालयमा आयो । त्यसमा म पनि छनोट भएँ । कक्षा सातमा जाँदा विषय लागेको थियो । त्यसपछि दिदीहरुले मलाई सम्झाउनुभयो–तिमी पनि अरुभन्दा कम छैनौ । तिमी  राम्रोसँग पढ्नु पर्छ भनेर मेरो हौसला बढाउनुहुन्थ्यो । फस्र्ट हुने र तिमीमा के फरक छ । उसको पनि हातखुट्टा छ, तिम्रो पनि हात खुट्टा छ । तिम्रो मात्र आमाबुवा नभएको मात्र त हो भनेर सम्झाउनुहुन्थ्यो । त्यस पछि बहिनी शिक्षाका लागि दिदी कार्यक्रमले गर्ने हरेक कार्यक्रम्मा भाग लिन्थेँ । विभिन्न प्रतियोगिताहरुमा प्रथम, दोस्रो हुँदै गएँ । त्यतिखेर पढाइ छोडेको भए मैले आजको जीवन देख्न पाउँदिनथिएँ होला जस्तो लाग्छ । पहिला विषय लागेर पास हुन्थेँ, आठबाट नौमा जाने बेला प्रथम श्रेणीमा उत्तीर्ण भएँ ।


कार्यक्रमबाट धेरै ठूलो प्रेरणा पाएँ

गीता श्रेष्ठ
ठूली दिदी शारदा उमावि छिन्चु
मेरो घरमा पर्ने वातावरण नभएरै एक वर्ष पढाइ छोडेर फेरि पढ्न शुरु गरेको थिएँ । बुवाले जाँड÷रक्सी खाइरहनुहुन्थ्यो । म फेरि पढाइ छोडेर एउटा पसलमा काम गर्थेँ । र, यो बैनी शिक्षाका लागि दिदी कार्यक्रम आइसकेपछि मैले पढ्नु पर्छ भन्ने इच्छा जाग्यो र छिन्चुको शारदा उमाविमा भर्ना भएँ । सरहरुले पनि स्कलरसिप मिलाइदिनुभयो । यो कार्यक्रम आइसकेपछि धेरै ठूलो प्रेरणा पाएँ । त्यहाँबाट प्लस टु पास भएर विविएस पढ्ने तयारीमा छु । मेरो बुवाले प्रत्येक दिन जाँडरक्सी खाएर ममीलाई कुट्ने गर्नुहुन्थ्यो । सम्झाएपछि धेरै कम भएको छ । यसमा अझै सकेपछि धेरै सुधार्ने प्रयास गरिरहेको छु । मेरो सानी बहिनीलाई पहिला चार विषय लाग्थ्यो अहिले ६० प्रतिशतभन्दा माथि नम्बर ल्याएर पास भएकी छु ।

अंग्रेजी गणित लाग्ने मलाई अहिले तिनै विषय पढाउछु

सुस्मिता सुनार
ठूली दिदी जनक मावि गाम्खोला दशरथपुर
म एउटा दलित परिवारमा हुर्केकी छोरी, घरमा पनि आर्थिक अवस्था कम्जोर थियो । आर्थिक अवस्थाकै कारण पढाइमा वाधा भएर एसएलसीमा विषय लाग्यो । मलाई सधैं के लाग्थ्यो भने मेरा साथीहरु धेरै अगाडि गइसके । अब म जिन्दगीमा केही पनि गर्न सक्दिनँ । र, मेरो घराएसी र आर्थिक अवस्थाको कारणले पढाइ छोड्ने निर्णय गरेँ । तर, पछि यो कार्यक्रम आइसकेपछि ठूली दिदी भएर काम गर्ने अवसर पाएँ । यो अवसर पाएपछि मलाई आत्माबल बढ्यो । एसएलसीमा गणित लागेको थियो । गणित जान्नै पर्छ र पास हुनै पर्छ भन्ने मनमा एउटा फिलिङ्गस् आयो र पास पनि भएँ । एसएलसीमा अङ्ग्रेजी र गणित लागेको मान्छे प्लस टुमा अङ्ग्रेजी विषय लिएर राम्रो नम्बर लगाएर उत्तीर्ण भएँ । अहिले नजिकैको रामजानकी इङ्गलिस मिडियम बोर्डिङ स्कूलमा पढाउँछु । आज हरेक क्षेत्रमा, ओरेक ठाउँमा गएर आफ्नो आवाज राख्न सक्ने भएकी छु । दिदी गरेर घरमा बसेका बहिनीहरुलाई पनि सम्झाएर विद्यालयमा ल्याएर भर्ना गर्ने गरेको छु । यो कार्यक्रम सकिएतापनि मेरो गाउँमा हुने हरेक हिंस्रक गतिविधिहरुलाई प्रतिकार गर्न सक्ने भएकी छु ।


आत्मसन्टुष्टि मिलेको छ

अमृता वली, ठूली दिदी
मैले बीचमै पढाइ छाडेका चारजना बहिनीहरुलाई पुनः विद्यालयसम्म ल्याएँ । गरिबी र चेतना अभावमा र घरमा धेरै साना बहिनीहरु भएका कारण उनीहरु घरमै धरालो बनेर  घरायसी काममै बसेका थिए । कोही अर्काको घरमा काम गर्न बसेर पढाइ छाडेका रहेछन् । म उनीहरुको घरमा गएर उनीहरुको अभिभावकलाई सम्झाई÷बुझाई गरेर विद्यालय पठाउन राजी गराएँ । हाल उनीहरु नियमित विद्यालय गइरहेका छन् । पहिले विषय लाग्ने उनीहरुलाई पढाइमा मैले सहयोग गर्न थालेपछि उत्कृष्ट अंकमा उत्तीर्ण हुन थालेका छन् । विद्यालय जान छाडेका बहिनीहरु मेरो सहयोगमा अहिले रमाएर विद्यालय गएको देख्दा आत्मसन्तुष्टि मिलेको छ ।

कमजोर बहिनीहरु छानेर अतिरिक्त कक्षा सञ्चालन गरेका छौं

निर्मला रावल, सिकाइ सहयोगी
केही समयको अन्तरमा विद्यालय फर्किएका बहिनीहरुको पढाइ धेरै छुटेको र पढ्ने बानी घटेको हुने भएकाले हामीहरुले उनीहरुलाई हरेक दिन अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहेका छौं । उनीहरुलाई बिहान र बेलुका गाह्रो विषयमा अतिरिक्त कक्षा सञ्चालन गर्न थालेपछि उनीहरुको पढाइमा समेत सुधार हुँदै गएको छ । पहिले विषय लाग्ने बहिनीहरु अहिले प्रथम, द्वितीय र उत्कृष्ट अंक हासिल गर्न थालेका छन् । उनीहरुलाई कक्षामा पढाइसँगै विभिन्न खेलहरु सिकाउने, अतिरिक्त क्रियाकलाप गर्न सिकाउने, शैक्षिक सामग्री प्रयोग गर्न सिकाउने र अगाडि गएर भाषण गर्न सिकाउने गर्ने गरेका छौं । उनीहरु अतिरिक्त क्रियाकलापमा समेत अब्बल बन्दै गएका छन् ।


स्वास्थ्य समस्या समाधान गरिदिएका छौं

जानकी घर्ती, सामाजिक परिचारिका
धेरै बहिनीहरु नियमित विद्यालय नआएको कारण खोज्दै जाँदा उनीहरु महिनावारीका समयमा नआएका पाइयो । पछि हामीले उनीहरुलाई विद्यालयमै सेनेटरी प्याड बनाउने तालिम दियौं । उनीहरुले सेनेटरी प्याड बनाएर लगाएर विद्यालय आउन त शुरु गरेँ तर त्यो फाल्न र फेर्न उनीहरुलाई असहज भयो । पछि विद्यालयसँग कुरा गरेर हामीले प्याड फाल्ने र फेर्नको लागि व्यवस्था गर्न सफल भयौं । विद्यालयमा भएको छात्रा शिक्षा सञ्जालमार्फत् विव्यस र शिक्षक अभिभावक संघसँग हामीले कुरा राख्यौं । अहिले बहिनीहरु नियमित विद्यालय आउन थालेका छन् । हामीले विभेद, दुव्र्यवहार र अन्धविश्वासका बारेमा समेत सचेतना अभियान सञ्चालन गरेका छौं ।


मैले नयाँ जीवन पाएँ

पूर्णिमा विक
सानी बहिनी, जनक मावि गाम्खोला, दशरथपुर
मेरो १४ वर्षको सानो उमेरमा विवाह भएको हो । विवाह गरिसकेपछि एक वर्ष पढाइ ग्याप भयो । बहिनी शिक्षाका लागि दिदी कार्यक्रमबाट जानुभएका दिदीहरुले मलाई सम्झाउनुभयो । मेरो बुवा–आमालाई पनि सम्झाउनुभयो । त्यसपछि घरदेखि माइतीघरमा पढेँ र बहिनी शिक्षाका लागि दिदी कार्यक्रमअन्तर्गत हुने हरेक कार्यक्रममा सहभागी भएर विभिन्न स्थानहरु हासिल गरँे । अहिले घरमा सम्बन्ध पनि राम्रो छ । पहिले १४ वर्षमा दिदी भयो । पछि सोचेँ, जिन्दगी त बर्वाद भएछ । अहिले छुट्टिएर बसेको छु । मैले नयाँ जीवन पाए जस्तो भएको छ ।



मलाई अहिलेको जिन्दगीमा गर्व छ

लक्ष्मी बाँठा
ठूली दिदी, नेपाल राष्ट्रिय मावि, करैखोला वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
मैले पनि १६ वर्षको उमेरमा विवाह गरेका हुँ । घरमा आमा र बुवाको मेलमिलाप कहिले पनि हुँदैनथ्यो । बुवाले रक्सी खाइरहनुहुन्थ्यो । ममी एक्लै सबैथोक पु¥याउन सक्नु हुन्थेन । जसका कारण म दिदी गर्न वाध्य भएको थिएँ । बालविवाह गरिसकेपछि पनि म पढनु पर्छ भन्ने धारण भइसकेपछि पढ्न शुरु गरेँ । दशमा पढ्दापढदै मेरो बच्चा भयो । बच्चा भइसकेपछि घर परिवारबाट फोर्स भयो कि ‘बच्चा भइसक्यो, एसएलसी पास पनि भइसक्यौं, अब तिमीले पढ्नु पर्दैन । श्रीमान्ले पढ्छ, जागिर गर्छ र तिमीलाई पालिहाल्छ तिम्रो काम भनेको घर परिवारलाई रेखदेख गर्ने र बच्चालाई रेखदेख गर्ने हो,’ भन्नुभयो । मलाई पनि त्यो कुरा सही लाग्यो । अब मैले घर परिवारमै ध्यान दिनु पर्छ, बच्चामै ध्यान दिनु पर्छ । आफ्नो जिन्दगीलाई यही रोक्नु पर्छ, आफ्नो लक्ष्यलाई यही स्थगित गर्नु पर्छ जस्तो लाग्थ्यो । एक दिन बहिनी शिक्षाको लागि दिदी कार्यक्रममा काम गर्ने दिदीहरुसँग भेट भयो र म पनि यो कार्यक्रममा काम गर्न थालेँ । काम गर्ने क्रममा धेरै तालिमहरु लिएँ । धेरै कार्यक्रमहरुमा भाग लिँदाखेरी धेरै कुराहरु जान्ने मौका पाए । फेरि मैले पढ्नु पर्छ भन्ने सोंच पलायो र पढ्न थालेँ । र, अहिले प्लस टु पास गर्न सफल भएँ । हिजोका दिनमा म घरदेखि बाहिर जान सक्थिनँथिएँ तर आज यहाँ आएर बोल्न सक्ने भएको छु । र, यसैमा गर्व गर्छु ।

आजको शिक्षा साप्ताहिकमा खबर छ ।

Comments: