२०७६ कार्त्तिक २९ गते

१७ बुंदे सहमतिसँगै विद्यार्थीले अनसन तोडे

प्रभा रावत/सुर्खेत



आफ्ना माग सम्बोधन हुने भएपछी मध्यपश्चिम विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरुले अनसन तोडेका छन् ।


आफ्ना विभिन्न शैक्षिक माग राख्दै ६ दिनदेखि आमरण अनसनमा बसेका विद्यार्थी र विश्वविद्यालयका पदाधिकारी बिच आइतवार भएको वार्तामा मागहरु सम्बोधन गर्ने सहमति भएपछि अनसन तोडिएको हो ।


इञ्जिनियरिङ संकायका रोशन बस्नेत, रत्नकुमार शर्मा र मिलन बिसी आमरण अनशनमा बसेका थिए । देउती अस्पतालमा विश्वविद्यालयका डिन गोविन्द लामिछाने, क्याम्पस प्रमुख सोनालाल यादबसहित विद्यार्थीहरुले जुस खुुवाएपछी अनसन तोडेका छन् ।   
विश्वविद्यालय पदाधिकारी र विद्यार्थीबिच वार्तापछि १७ बुद्धे निर्णय भएका छन् ।


इञ्जिनियरिङ संकायको तिन महिना भित्र प्राटिकल ल्याबको व्यवस्थापन गर्ने,  पुस्ताकालयका आवश्यक पुस्तकहरु उपलब्ध गराउने, स्नातक इञ्जिनियरिङ हाइड्रोपावर पाठ्यक्रम तयार गरी चांैथो सेमेस्टरको परीक्षा अघि पाठ्यक्रम उपलब्ध गराउन विषयगत शिक्षकहरुको व्यवस्थापन गर्ने र इञ्जिनियरिङ संकायका विद्यार्थीहरुको पठनपाठनलाई प्रभावकारी रुपमा सञ्चालनका लागि छुट्टै भवन भाडामा लिएर पठनपाठनलाई प्रभावकारी गराउने निर्णयलगायत १७ बुंदे निर्णय गरिएको छ ।


यस्तै विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि पिछडिएका क्षेत्र, दुर्गम, महिला, दलित जनजाति, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदानका लागि सम्भाव्यता अध्ययन गर्न इञ्जिनियरिङ संकायका डिनको संयोजकत्वमा तिन सदस्यीय समिति गठन गरिएको छ ।


इञ्जिनियरिङ संकायका कार्यक्रमहरुलाई मुसुम प्रणालीमा सञ्चालन गर्नका लागि सञ्चालन गर्न डीन गोविन्द प्रसाद लामिछानेको  संयोजक्तवमा तिन सदस्यीय समिति पनि गठन गरिएको छ । सहमति र निर्णयहरु तोकिएको समय भित्र कार्यान्वयन नभए विश्वविद्यालयले जिम्मेवारी लिनुपर्ने विद्यार्थीहरुले बताएका छन् ।


विद्यार्थीहरुले इञ्जिनियरिङ संकायलाई स्वायत्त गराइनुपर्ने, १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, सम्पूर्ण विषयगत शिक्षकहरुको उचित व्यवस्था गरिनुपर्ने र पुस्तकालयमा प्रयाप्त पुस्तकहरुको व्यवस्था गरिनुपर्नेलगायत ७ बुद्धे मागहरु राखेर ६ दिनदेखि आमरण अनसन बसेका थिए । विद्यार्थीहरुले राखेको इन्जिनियरिङ संकायलाई स्वायत्त गराइनुपर्ने मागमा भने असहमति जनाएका छन् ।


माग सम्बोधन भएसगैँ विद्यार्थीहरुले गरेका सम्पूर्ण आन्दोलन फिर्ता लिएका छन् ।

Comments: