२०७६ कार्त्तिक १ गते

सूक्तिसिन्धुका सय वर्ष



आऊ प्रिय! नगर बेर भनी मलाई

राखेर काखबीच हात दुवै समाई

ती लाल ओठ मुखनेर पुर्‍याउनुभो

लौ भन्न सक्तिनँ म ता पछि कुन्नि के भो ?

 पछि जरुर केही भो! यो त्यही कविताको अंश हो, जुन कविताका कारणबाट आजभन्दा सय वर्षअघि नेपाली साहित्यको इतिहासमा एउटा ठूलो हाहाकार मच्चियो। त्यसबेला प्रथम विश्वयुद्धमा जान लागेका सिपाहीहरू र दरबारका युवतीमा यौन उत्तेजना बढाएर तिनलाई बिगारेको आरोपमा चन्द्र शमशेरले थुप्रै कविलाई दण्डित गरे। 'बालामुग्धोक्ति' शीर्षकको यो कविता त्यस बेला अति चर्चित र विवादास्पद रहेको शृंगारिक कवितासंग्रह 'सूक्तिसिन्धुु'मा छापिएको थियो। यसका लेखक राधानाथ लोहनीलाई सार्वजनिक रूपमा कान समातेर उठबस गराई अपमानित गरिएको थियो। अरु कविलाई पनि जरिवाना तिराएर माफी मगाइयो। किताब जफत गरेर प्रतिबन्ध लगाइयो। यसका सम्पादक श्यामजीप्रसाद अर्याल ज्यान जोगाउन वीरजन्जतिर भागे। त्यसपछि उनले साहित्यबाटै सन्यास लिए। नौ रसका नौ ओटा सामूहिक कवितासंग्रह निकाल्ने उनको योजना त्यत्तिकै तुहेर गयो। अरु थुपै कविले कविता लेख्न चटक्कै छाडिदिए। लेखनाथ पौड्याललगायतका केही कविले शृंगारिकतालाई त्यागेर नैतिक र औपदेशिक कविता लेख्न सुरु गरे। यस घटनाबाट माध्यमिककालीन शृंगारिक धाराको मूलप्रवाह नै अवरुद्ध भई कविताको इतिहासले नयाँ मोड लियो। सय वर्षअघिको यो घटना नेपाली साहित्यमा 'सूक्तिसिन्धुकाण्ड' वा 'सूक्तिसिन्धुपर्व'का नाममा चर्चित छ।

    

सूक्तिसिन्धुको परिचय

 'सूक्तिसिन्धुु' माध्यमिककालको एउटा सामूहिक कविता संकलन हो। यसमा २४ जना कविका विभिन्न आकारप्रकारका ७१ ओटा कविता छन्। मोतीराम भट्टले थालनी गरेको शृंगारिक धारा त्यसबेला चरम उत्कर्षमा थियो। कविहरू युवतीका विभिन्न अंगहरूको कामुक वर्णन गर्दै प्रेम र रतिरागका कविता लेख्थे। शिष्ट र अशिष्ट दुवैखालका शृंगारिक कविताहरूले सामाजिक मनोविज्ञानमा हस्तक्षेप गरेका थिए। विलासिताले भरिएको राणा दरबार र सर्वसाधारण युवायुवतीमा पनि त्यस्तै कविताको माग बढी थियो। 'सूक्तिसिन्धुु' पनि त्यसबेलाका कविताको मूलप्रवृत्तिका रूपमा रहेको शृंगारिक धाराको उत्कर्ष बिन्दु हो।

 वि. सं. १९७४ मा श्यामजीप्रसाद अर्यालद्वारा सम्पादित यो पुस्तक प्रकाशनसँगै बहुचर्चित र विवादास्पद बनेको थियो। यसको पक्ष र विपक्षमा शताब्दीभरि नै विभिन्न चर्चा, बहस र विमर्श भएका छन्। पुस्तक प्रतिबन्धित भएपछि कसैले 'भाँडसाहित्य', 'दूषित कविताको संग्रह' वा 'क्षयोन्मुख कविताको नमूना' भनेर यसको चरम निन्दा गरेका छन् भने कसैले 'क्रान्तिकारी प्रकाशन' भनेर व्यापक प्रशंसा पनि गरेका छन्। यिनै निन्दा र प्रशंसासँगै यसको चर्चा उत्कर्षमा पुगेको हो।

 पहिलो संस्करण प्रतिबन्धित भएको पचास वर्षपछि २०२४ सालमा कमलमणि दीक्षितले ुसूक्तिसिन्धु ९फेरि०ु शीर्षकमा यसको दोस्रो संस्करण प्रकाशित गरे। पुस्तक अप्राप्य भए पनि पढ्नै नपाई सुनेका भरमा यसका बारेमा अनेकौँ बहस भएकाले र जनमानसमा ठूलो जिज्ञासा रहेकाले यसको पुनर्प्रकाशन गरिएको कुरा दीक्षितले आफ्नो सम्पादकीयमा भनेका छन्। त्यसको ३१ वर्षपछि २०५५ मा राजेन्द्र सुवेदीको सम्पादन र २०७२ सालमा दुबसु क्षेत्री प्रतिष्ठानबाट यसका अन्य संस्करण छापिएका छन्। यसरी कुनै समय दुर्लभप्रायः बनिसकेको यो पुस्तक अहिले सर्वसुलभ बन्न पुगेको छ।

 'सूक्तिसिन्धुु'को प्रकाशनपूर्व 'गफाष्टक', 'संगीत चन्द्रोदय', 'श्लोकसंग्रह', 'मनोद्वेग प्रवाह', 'कविता कल्पद्रुम' जस्ता केही सामूहिक संकलन प्रकाशित भए पनि नेपाली कवितामा धेरै रचनाकारबाट एउटै प्रवृत्ति र एकै किसिमको विषयवस्तुमा केन्द्रित पहिलो मानकसंग्रह यसैलाई मानिन्छ। यसमा १७ देखि ६९ वर्षसम्मका विभिन्न पुस्ता र उमेरसमूहका कविहरूको सहभागिता छ। यसमा समावेश भएका कविहरूमा– वीरेन्द्रकेशरी अर्याल, सोमनाथ सिग्द्याल, चक्रपाणि चालिसे, शम्भुप्रसाद शर्मा, देवीदत्त पराजुली, दुर्गाप्रसाद भट्टराई, कालिदास शर्मा, जगन्नाथ जोशी (सेढार्इं), लेखनाथ पौड्याल, गोपीनाथ लोहनी, राधानाथ लोहनी, पुण्यनाथ लोहनी, कृष्णचन्द्र शर्मा अर्याल, कृष्णप्रसाद रेग्मी, जगन्नाथ शर्मा पौड्याल, केशवनाथ शर्मा पौड्याल, दीपकेश्वर शर्मा लोहनी, मदनदेव पन्त, मोतीराम भट्ट, लक्ष्मीदत्त शर्मा पन्त, पद्मविलास पाण्डे, राजीवलोचन जोशी, रुद्रराज पाण्डे र श्यामजीप्रसाद अर्याल रहेका छन्। यी सबै कविको साझा प्रवृत्ति शृंगारिकता नै हो।

सूक्तिसिन्धुको प्रकाशन, प्रभाव र लोकप्रियता  

 'सूक्तिसिन्धुु'को प्रकाशन चन्द्र शमशेरको निरंकुश शासनकालमा भएको थियो। त्यसबेला यस पुस्तकले ठूलै हलचल र खैलाबैला ल्याएको थियो। श्यामजी अर्यालको प्रयत्नमा भीम शमशेरका छोरा राम शमशेरको संरक्षण र प्रोत्साहनबाट नौ वटै रसका कविताहरूको सँगालो निकाल्ने योजनाअनुरूप यसको प्रकाशन भएको हो। साहित्यका सौखिन राम शमशेरको टंगाल दरबारको बैठकमा हुने कविमण्डलीका सक्रिय युवा श्यामजी अर्यालले विभिन्न कविका घरघरमा गई कविता सारेर संग्रह गरेका थिए। यसैको पहिलो अभियानका रूपमा आदिरस शृंगारका कविताहरू छानेर 'सूक्तिसिन्धुु' प्रकाशन भयो।

 भूपाल शमशेरको नक्सालस्थित प्रेसमा प्रथम पटक पाँच सय प्रति छापिएको यो पुस्तक राम शमशेरले ५० प्रति आफूले लिएर सम्बन्धित कविहरूलाई एकएक प्रति र बाँकी सबै सम्पादकलाई नै दिएका थिए। करिब दुई सय किताब मखनटोलको पुस्तक पसलमा हारालुछ भई बिक्री भएको थियो। किताबको तयारीमा सम्पादकले दुई वर्षसम्म संघर्ष र राणाको चाकरी गरेका थिए।

 यस पुस्तकले तत्कालीन युवायुवतीबाट निकै स्वागत पाएको थियो। प्रतिबन्ध लागेपछि यो झनै लोकप्रिय र दुर्लभ बन्न पुग्यो। कमल दीक्षितका अनुसार पहिले अलिअलि स्वादले पढ्ने अल्लारे केटाहरूका मनमा पनि अब यो चोरेर, लुकाएर पढ्नुपर्ने वस्तु भएकाले यसको रस दोब्बर भयो। अस्वाभाविक ढंगले भाउ बढेको किताब पढ्न नपाउनेहरूका लागि पनि चर्चाको विषय बन्यो। किताब देख्नै नपाई युवकहरू यसको तारिफ गर्न थाले भने बूढाहरू भर्त्सना गर्न थाले। राणाका दरबारहरूमा यसको ठूलो माग हुन थाल्यो। एउटा किताबलाई २५ रुपियाँसम्म तिर्न थालेपछि सर्वसाधारणले लुकाएका केही प्रति किताब पनि दरबारभित्र पुगे र पुस्तक झन् अप्राप्य भयो। यही अप्राप्यता नै सुरुमा यसको लोकप्रियताको मुख्य कारण थियो। यसरी 'सूक्तिसिन्धुु'को प्रकाशन नेपाली कविताको इतिहासमा एउटा महŒवपूर्ण घटना बन्न पुग्यो।

  सूक्तिसिन्धुमाथिको आरोप र प्रतिबन्ध         

 'सूक्तिसिन्धुु' प्रकाशित भएको ६ महिनापछि विभिन्न आरोपसहित प्रतिबन्धित भयो। यसका संरक्षक राम शमशेरले चन्द्र शमशेरको खप्की खानुपर्‍यो र अन्य सहभागीले पनि कडा चेतावनी पाए। तत्कालीन महेन्द्रदल पल्टनका इन्चार्ज जर्नेल राम शमशेर र अन्य जवानलाई यसले बिगार्न थालेको तथा दरबारका मैयाँ र बाबुसाहेबहरूका साथै जनतालाई पनि भाँडेर अशान्ति मच्चाएको भन्ने कुराले चन्द्र शमशेर रिसाएर यो घटना हुन पुगेको थियो। राधानाथ लोहनीको कविताले रनिबासका केटीहरूमा खलबली मच्चाइदिएको र ती केटीले कविता कण्ठ पारेर परस्परमा जिस्किने काम गरेको कुरा सुनेर चन्द्र शमशेर क्रोधित बनेका थिए।

 उक्त घटनालाई श्यामजी अर्यालले यसरी उल्लेख गरेका छन्– ुछ महिनापछि अकस्मात् बिजुली चम्क्यो, कठोर वज्राघात भयो। मैले राम शमशेरज्यूलाई निकै रिझाएकोबाट दरबारिया कुनै साथीलाई डाह पैदा भएछ। निजले त्यही मौका पाई प्राइममिनिष्टर चन्द्र शमशेरमा 'पल्टन तालीमको मौका, श्री राम शमशेरलाई उचाली हात लिई शृंगार रसको बहुरंगी कविताको किताप छपाई दरबारमा र फौजी अफिसरहरूका घरघरमा घुसाई श्यामजीप्रसादले धेरै नै अशान्ति फैलाउन लागिरहेछन्, राम शमशेरलाई पनि बिगारीसके' भन्ने बिन्ती पारेछन्। प्राइममिनिष्टर निकै रिसाइबक्स्यो। 'मलाई एक थोक भनी अर्को थोक गरेछु भनी राम शमशेरलाई हप्काई 'आजदेखि श्यामजीप्रसादलाई दरबारमा आउन नदिनू, ढोका बन्द गरिदिनू, शं्गारका कवितातर्फ नलाग्नू, राम्रो फौज तालीम गर्नूु भन्ने हुकुम भयो। मेरो पनि ढोका बन्द भयो।' यस विवरणबाट 'सूक्तिसिन्धुपर्व'का बेला भएको कारबाही र हलचलका बारेमा रोचक जानकारी प्राप्त हुन्छ।

 यस घटनालाई कृष्णचन्द्रसिंह प्रधानले यसरी उल्लेख गरेका छन्' 'सूक्तिसिन्धु'माथि प्रतिबन्ध लाग्यो त कुनै राजनीतिक कारण वा अश्लीलताबाटै आत्तिएर होइन। मौका खोजिरहेका चुक्ली लाउनेहरूको पहुँच पुग्यो र भड्कन लागेका दरबारे नानीहरूको कामोत्तेजना शमन गर्ने तारतम्यमा 'प्रवेशनिषेधु'का रूपमा रोक लाग्न पुग्यो। साँच्चै नै अश्लीलता नरूचाएर रोक्नुपरेको भए त्योभन्दा अश्लील नांगो कविताका पुस्तक कैयौँ निस्केका थिए। किन प्रतिबन्ध लागेन ?'

 शरद्चन्द्र शर्माले पनि घटनाको वृत्तान्त यसरी प्रस्तुत गरेका छन् 'शृंगारले लोकप्रियता पाएमा नीति (उपदेश) उपेक्षित हुने देखेर अथवा श्यामजी अर्यालको उत्कर्षबाट आरिस भएर 'सूक्तिसिन्धुु'को विरोधमा कुनै शक्तिशाली छुल्याहा व्यक्तिले चन्द्र शमशेरको कान भरिदिए। परिणामस्वरूप सूक्तिसिन्धुको बिक्री, प्रचारप्रसारमाथि रोक लाग्यो र बाँकी प्रति जफत गरियो। त्यसउप्रान्त अरु संकलन निकाल्ने ह्याउ मर्‍यो।' यस काण्डमा प्रत्येक कविलाई आइन्दा यसो नगर्ने चेतावनीसहित एक–एक रुपैयाँ जरिवाना गरिएको थियो। वीरगन्जतिर भागेका यसका सम्पादकले पछि चन्द्र शमशेरको स्तुतिमा 'श्री ३ चन्द्र कीर्तिमाला' लेखेर चढाए पनि माफी पाएनन्।

 यस घटनालाई गणेशबहादुर प्रसाईंले विचारोत्तेजक रूपमा यसरी प्रस्तुत गरेका छन्– 'श्री ३ चन्द्र शमशेरका दरबारमा एक दिन एउटा अचम्मको अप्रत्याशित घटना भयो। त्यस दिन सिंहदरबार र निबासको रेखदेख गर्न खटिएका प्रमुख महिला कर्मचारी श्री ३ चन्द्र शमशेरका सम्मुख उपस्थित भए र तिनले भने– 'दुहाई महाराज! हाम्रो दरबारका सारा केटी भाँडिए! सबै जना एकअर्कासँग इत्रिएकाइत्रिएकै गर्छन्! रात होस् कि दिन होस्, कसैको वास्ता गर्दैनन्। एउटी अर्कीलाई आँखा तरेर हेर्छे र सोध्छे– भन्, अनि के भोरु अर्की आकाशतिर मुख फर्काउँछे र उत्तर दिन्छे– कुन्नि! त्यसपछि सबै जना मरीमरी हाँस्न थाल्दछन्। गाँजा, भाङ, धतुरो खाए कि भनूँ भने त्यस्ता कुनै चिज यस दरबारभित्र पस्नै पाएका छैनन्। ती सबै बौलाएका पनि होइनन्। जतिसुकै खेर्दा पनि रहस्य खुल्दैन। हामी सबै आजित भैसक्यौँ। सरकार जो हुकुम।'

तिनका कुरा सुनेर चन्द्र शमशेर छक्क परे। उनले नेपालमाथि शासन गर्न थालेको १६ वर्ष भैसकेको थियो। त्यस अवधिमा दरबारमा त्यस्तो अनुशासनहीनता कहिल्यै देख्नु वा सुन्नुपरेको थिएन। उनले तुरुन्तै रनिबासका सबै केटीको खानतलासी गर्ने र रहस्यको उद्घाटन गर्ने जिम्मेवारी पं। राममणिलाई सुम्पे। खानतलासी लिने क्रममा एउटी केटीको कन्तुरमा 'सूक्तिसिन्धुु'फेला पर्‍यो। ती सबै दसी–प्रमाण संकलन गरेर उनले यथार्थ कुरा चन्द्र शमशेरका अगाडि राखिदिए। त्यस किसिमले रहस्यको उद्घाटन हुन पुग्दा चन्द्र शमशेर आगो भए। दरबार बस्यो। राधानाथ लोहनीलाई मुन्ट्याउँदै ल्याइयो र दरबारमा पेस गरियो। चन्द्र शमशेरले उनलाई सबैका सामुन्नेमा कान समाएर उठबस गर्न लगाए, अबउप्रान्त त्यस्ता कविता लेख्ने छैनँ भन्ने वाचा गराए अनि ५ रुपैयाँ जरिवाना गरी छाडिदिए। 'सूक्तिसिन्धुुका बिक्न बाँकी प्रति जफत गरियो। यो हो सूक्तिसिन्धु काण्डको एउटा संक्षिप्त चित्र।'

 यसरी 'सूक्तिसिन्धुु' ऐतिहासिक महत्व राख्ने एउटा निकै चर्चित पुस्तक हो भन्ने स्पष्ट हुन्छ। यसको प्रतिबन्धसँगै नेपाली कवितामा शृंगारिक कविता लेख्ने कविको सातोपुत्लो गयो। त्यसपछि कविताको युग परिवर्तन भई परिष्कारवादी धाराको आरम्भ भएकाले यो घटना नेपाली कविताको इतिहासमा निकै ठूलो महत्व राख्ने बन्न पुग्यो।

सूक्तिसिन्धुमा शृंगारिकता

 कवितामा प्रेमातुर नायक–नायिकाको अनुराग र आशक्तिबाट शृंगार रस उत्पन्न हुन्छ। शृंगार रस सम्भोग र विप्रलम्भ गरी दुई प्रकारको हुन्छ। सम्भोगमा नायक–नायिकाको प्रेमपूर्ण मिलनको चित्रण र विप्रलम्भमा विरहपूर्ण अवस्थाको चित्रण हुन्छ। सूक्तिसिन्धुका कवितामा पनि दुवै किसिमका शृंगारको प्रयोग गरिएको छ। युवतीका विभिन्न अंग, पहिरन तथा आभूषणको वर्णनमा नै यसका प्रायः कविता केन्द्रित छन्। अधिकांश कवितामा यौनसँग गाँसिएको स्थूल प्रेम नै बढी प्रकट भएको छ। नारी मनभित्रको कामुकताको वर्णन पुरुष कविले गर्ने क्रममा कतै अतिरञ्जित कल्पना र कृत्रिमता पनि उत्पन्न भएको पाइन्छ। कतै पुरुषको विकृत यौनकुण्ठा, कृत्रिम प्रणयभाव तथा स्त्रीलम्पट प्रवृत्ति पनि अभिव्यक्त भएको छ। नारीको नग्नचित्र, प्रेमको हार्दिकताभन्दा मैथुनप्रक्रियाको वर्णन तथा सम्भोगको आतुरताका कारणबाट कतिपय कविता कमजोर छन्। सम्भोग शृंगारयुक्त कवितामा यौनबिम्ब र प्रतीकहरूको प्रयोग यसरी गरिएको छ–

लिन्न नोट रुपियाँ पनि लिन्न

ओठ दागन मरे पनि दिन्न

गाल पर्छ यसले पछिबाट

गर्न सक्तिनँ हजुर म आँट।

 (केशवनाथ पौड्याल)

 

नयाँ बरामीटर तुल्य गोल

जवानी जाँच्ने फल ती अमोल

निचोरिएका ननिचोरिएका

कडा खडा छन् भँमरी परेका।

 (दीपकेश्वर लोहनी)

 

 सूक्तिसिन्धुका केही कविताले निम्नवर्गका युवायुवतीको अभावग्रस्त जीवनका सुस्केरालाई पनि प्रस्तुत गरेका छन्। प्रवासमा श्रम गर्न गएका पति र घरमा रहेका पत्नीको बिरसिलो जीवनबाट उब्जिएको वियोगजन्य रतिराग तथा एक्लोपनले भरिएको जीवनका कुण्ठा र निराशा कतिपय कविताका विषय बनेका छन्। यस संग्रहमा विप्रलम्भ शृंगारको प्रयोग यसरी गरिएको छ–

बस्छु जङ्गलमा शिलाकी तकिया झार्पातका बिस्तरा

जप्छु नाम पियारीको दिनप्रति खान्छु म फलफूल जरा।

 (मदनदेव पन्त)

रुई दुई कि फुई यति तिन थोक् चाहिन्छ जाडामहाँ

दुःखी छु रुई फुई छन् त पनि ता दुई नहुँदामहाँ।

 (मोतीराम भट्ट)

बाटो हेर्दछु तैपनि म त सदा आए कि प्यारा भनी

पत्तै छैन कतै पनि निठुरको हा१ गो यसै जीवनी।

 (श्यामजी अर्याल)

 

बहस र विवादको शृंखला

 'सूक्तिसिन्धुु'का पक्ष–विपक्षमा बहसको थालनी श्यामजी अर्यालको यसै पुस्तकको भूमिकाबाट भएको हो। उनले बदलिँदो समयमा शृंगारलाई हेर्ने दृष्टिकोणका बारेमा महŒवपूर्ण सूचना प्रदान गर्दै कसैलाई यो विषय मन नपर्न सक्ने कुराको संकेत गरेका छन्। त्यसपछि धरणीधर कोइरालाले कविताकै माध्यमबाट सूक्तिसिन्धुलाई ुकुक्तिकुवाु र त्यसका लेखकलाई 'कुक्तिकुवा प्रचारी' तथा 'ढाँटेढँुटे कवि' भनी भर्त्सना गरे। बालकृष्ण समले चाहिँ 'सूक्तिसिन्धुले मेरो कवितामाथिको प्रेम कहिल्यै ननिभ्ने गरेर उकासिदियो' भनी प्रशंसा गरे।

 लामो समयपछि २०१७ मा यदुनाथ खनालले यस पुस्तकलाई 'क्षयोन्मुख कविताको नमूना' भनेपछि र तत्कालै प्रतिवाद गर्दै रामकृष्ण शर्माले यसलाई 'एउटा क्रान्तिकारी प्रकाशन' भनेपछि बहसको रोचक परम्परा सुरु भयो। यी दुवै समालोचकले आफ्नो मतलाई पुष्टि गर्न र अर्काको मतलाई खण्डन गर्न अरु लेख पनि लेखेका छन्। यदुनाथले यस पुस्तकको नकारात्मक पक्षमा यस्तो टिप्पणी गरेका छन्– 'विभिन्न कवितामा व्यक्त गरिएका भावहरूको तुच्छता, मानवताको तिरस्कार र दासत्वको स्तुतिको आधारमा 'सूक्तिसिन्धुुलाई नेपाली साहित्यको कालचक्रमा मध्यरात भन्न सकिन्छ। सूक्तिसिन्धु नै क्षयोन्मुख कविताको नमूना हो।'

 रामकृष्ण शर्माले खनालको अवधारणाप्रति कडा प्रहार गर्दै नारीप्रेम साहित्यको मुख्य विषय भएको तथा धर्म र नीतिका कविताको कब्जामा रहेको नेपाली साहित्यको केन्द्रमा नारीप्रेम र शृंगाररसका कवितालाई प्रवेशनिषेध जस्तै गरिएको अवस्थामा तगारो हटाउन आँटिला युवकले शृंगारिक कविता लेख्न कम्मर कसेको हुँदा नै सूक्तिसिन्धुको प्रकाशन भएको तर्क गरेका छन्। उनले धर्म र नीतिको सेप लागेर टाक्सिएको नेपाली कवितालाई शृंगाररसको हुरी चलाएर दुई–चार सेपिला हाँगा भाँची धर्म र नीतिको मन्टोसमेत बंग्याएर अरु नेपाली कवितालाई उम्रन र बढ्न दिने काम सूक्तिसिन्धुले गरेको हुँदा यसलाई क्रान्तिकारी प्रकाशन भनेका छन्। नेपाली साहित्यको शरीरबाट क्यान्सररूपी नैतिकताको अपरेसन गरी फाल्ने प्रयासमा दुई–चार स्वस्थ स्नायुमा घाउ लगाए पनि तत्कालीन पृष्ठभूमिमा त्यो कुनै अपराध नभएको भन्दै उनले साहित्यिक समाजका अतिरिक्त साहित्यको संसर्ग नै नरहेको काठमाडौँको पठित र रसिक समाजमा पनि यसले खलबली मच्चाएको, सामान्य पाठकमा कविताप्रति अभिरूचि जगाएको र केही कवितामा सामान्य अश्लीलता रहे पनि संग्रहलाई नै दण्ड गर्नु नहुने बताएका छन्।

 यदुनाथले अर्को लेखमा दाससमाजमा मात्र नभएर अरु समाजमा पनि मैथुन व्यापारलाई रुपैयाँले नराम्रोसँग क्रय–विक्रय गरेको कुरालाई सभ्य समाजमा आदर्श बनाउन नहुने विचार व्यक्त गर्दै सूक्तिसिन्धुमा विकृत जीवनको पनि चित्रण गरिएकाले पाठकको हृदयलाई बिगार्ने प्रवृत्ति बलियो भएको बताएका छन्। उनका अनुसार सूक्तिसिन्धुमा पुरुष लेखकहरूले आफूलाई नारीको स्थानमा राख्नु नक्कलीपना भएकाले धेरै कवितामा इमानदारी छैन। तर, रामकृष्णले सूक्तिसिन्धुका कविहरूले पुरूष नै रहेर नारीका भावना र अनुभूतिको कल्पना गरेर सहज र इमानदारीपूर्वक काव्यिक अभिव्यक्ति दिएको तर्क गरेका छन्।

 कृष्णचन्द्रसिंह प्रधानले शृंगारको फोहर र उच्छृंखल रूपबाट सर्वथा मुक्त हुन नसके पनि तत्कालीन कविताहरूमध्ये सूक्तिसिन्धुलाई सर्वोत्तम मानेका छन्। कमल दीक्षितले यो एउटा पुस्तक मात्र नभएर अब एउटा स्कुल, वाद या सम्प्रदाय भइसकेको बताएका छन्। लामो समय मौन बसेका श्यामजी अर्यालले पनि पछि 'सूक्तिसिन्धुको जन्मदाता म हुँ' भन्दै मकैको खेतीजस्ता काण्डको उदाहरण दिएर त्यस्तो कठिन समयमा कुनै दोष नलागी धनी–गरिब युवायुवतीका हातहातमा प्रेमपूर्वक बस्न सक्ने किताब सूक्तिसिन्धुबाहेक अरु कुनै नभएको जिकिर गरेका छन्।

 वासुदेव त्रिपाठी, दयाराम श्रेष्ठ, मोहनराज शर्मा, प्रतापचन्द्र प्रधान आदिले माध्यमिककालको अन्तिमसीमा सूक्तिसिन्धुलाई मानेर यसैका आधारमा कविताको कालविभाजन गरेका छन्। त्रिपाठीले यसलाई माध्यमिककालका कविताको पूर्णाहुति मानेका छन्। तारानाथ शर्माले रतिरागसम्बन्धी कवितामा ठूलो भुइँचालो ल्याएको उल्लेख गरेका छन्। शरद्चन्द्र शर्माले माध्यमिककालको अन्त्यको युगान्तकारी घटना र घटराज भट्टराईले शृंगारिक धाराको पूर्ण रूप मानेका छन्। कुमारबहादुर जोशीले राणाकालीन वातावरणमा सांसारिक भोगबिलास, मोजमज्जा र आमोदप्रमोदलाई नै यसले मूल विषयवस्तु बनाएको बताएका छन्। वासु रिमाल यात्रीले शृंगारिक आन्दोलनले उग्र रूप लिएको बेला श्लीलता र अश्लीलताको लक्ष्मणरेखा नाघ्ने ग्रन्थ जन्मेको टिप्पणी गरेका छन्। रत्नध्वज जोशीले शृंगारका कविता सूक्तिसिन्धुमा पराकाष्ठामा पुगेर टुंगिएको कुरा साँचो होइन भनेका छन्। चूडामणि बन्धुले यसलाई माध्यमिककालीन कविताको चरमोत्कर्ष मानेका छन्। राजेन्द्र सुवेदीले नेपाली समाजलाई यथास्थितिभन्दा पनि पछिल्तिर धकेलिदिएको भनी आलोचना गरेका छन्। भरतराज पन्तले नारीवर्गको वार्तालापको स्वाभाविक चित्रण बताएका छन्। शिवप्रसाद सत्यालले यो पुस्तक कण्ठस्थ गर्नेले नै बाहिर प्रतिबन्ध लगाएको विचार व्यक्त गरेका छन्। गणेशबहादुर प्रसाईंले प्रतिबन्धको घटनाको भित्री कारण दुई दरबारी पण्डित राममणि आ. दी. र हेमराज शर्माबीचको द्वन्द्वलाई मानेका छन्।

 समष्टिमा भन्दा सूक्तिसिन्धुभित्र कामभावना, भोगबिलास र मनोरञ्जनमा आधारित भोगवादी जीवनदृष्टि भएका कविताहरूको बाहुल्य छ। प्रायः कविताले शासक वर्गका मनोकामना पूरा गर्ने र कामोत्तेजित पार्ने लक्ष्य लिएका छन्। जनताको चेतना अत्यन्त निम्नस्तरको र कुण्ठित अवस्थामा भएकाले मनोरञ्जनका साधनको अभावमा उनीहरू सस्तो शृंगारिकताप्रति नै बढी लहसिएका थिए। त्यसैले मनोविनोदका लागि उनीहरू पनि हलुका किसिमको शृंगारिक साहित्यमा निर्भर हुन्थे। मानिसको यही सस्तो रूचिलाई नै यी कविताले सम्बोधन गरेका छन्। यस संग्रहमा उच्च, मध्यम र सामान्य गरी तीन स्तरका कविता छन्। लेखनाथको 'कुञ्जवर्तिनी विप्रलब्धा', मोतीरामको 'पिकदूत', कृष्णप्रसाद रेग्मीको 'कुखुरा कराये'जस्ता उत्कृष्ट र लोकप्रिय कविता पनि यसमा छन्। यिनै कविता नै यस संग्रहका वास्तविक प्राप्ति हुन्। यो पुस्तक आफैमा न क्रान्तिकारी हो न क्षयोन्मुखी नै। यो त शृंगारिक धाराको उत्कर्षलाई सबैभन्दा राम्ररी प्रतिनिधित्व गर्ने ऐतिहासिक मूल्य बोकेको पुस्तक हो। त्यसैले सय वर्षपछि पनि सूक्तिसिन्धुका कुखुरा यसरी कराइरहेका छन्–

सिन्दूर लत्पत छ कज्जल पुछ प्यारी

अल्सी हटाऊ अब केश समाल सारी

शोभाविहीन भई चन्द्र पनि बिलाए

प्यारी! उठौँ कि अब ता कुखुरा कराए।

 (कृष्णप्रसाद रेग्मी)

पद्मा अर्यालले नागरिक दैनिकमा लेखेकी छन् ।

Comments: