२०७६ असोज २ गते

सुविधाका लागि फारम भरिसकेका अस्थायी शिक्षकले पुनः परीक्षा दिन नपाउने

 


काठमाडौं ।  यसअघि नै सुविधाका लागि फारम भरिसकेका अस्थायी शिक्षकले पुनः परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।  आयोगको परीक्षा समेत निर्धारित मितिमै हुने शिक्षा मन्त्रालयले जनाएको छ ।


परीक्षामा असफल हुने अस्थायी शिक्षकलाई सुविधा दिने भनेर अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीच सहमति भएपनि त्यो सहमति परीक्षाको फारम भर्ने शिक्षकहरुका लागि मात्रै लागुहुने शिक्षासचिव शान्तबहादुर श्रेष्ठले बताए ।


'सुविधा रोज्ने शिक्षकले त रोजी सके नि उनीहरुलाई आगामी आर्थिक वर्षमा सुविधा दिएर बिदा गर्ने प्रक्रिया शुरु गर्छौ ।' शिक्षासचिव श्रेष्ठले भने –'परीक्षा रोज्नेहरुलाई भने सहमति अनुसार कार्यान्वयनका लागि शिक्षा ऐन संशोधनको प्रक्रिया अगाडी बढाउँछौं । अस्थायी शिक्षकको माग पनि यही नै हो ।'


भदौको परीक्षा अघि नै ऐन संशोधन हुन्छ त ? भन्ने एजुकेशनपाटीको प्रश्नमा शिक्षा सचिव श्रेष्ठले भदौअघि ऐन संशोधन सम्भव नभएको बताए ।


'ऐन संशोधनका लागि अस्थायी शिक्षक, मन्त्रालय र शिक्षक महासंघ सहितको कार्यदल बनाएका छौं । कार्यदलकै सुझावका आधारमा ऐन संशोधनको प्रक्रिया पनि अघि बढ्छ ।' श्रेष्ठले भने– 'ऐन अनुसार परीक्षा रोक्न वा खारेज गर्न पनि मिल्दैन, संशोधन पनि तत्काल हुँदैन । त्यसैले परीक्षा निर्धारित मितिमै हुन्छ ।'

पहिले परीक्षा र सुविधा मध्ये एकमात्र रोज्ने व्यवस्था हुँदा धेरै अस्थायी शिक्षकले सुविधाका लागि फारम भरेका थिए ।  परीक्षामा फेल भए सुविधाको रकम नपाउने भयका कारण धेरै शिक्षकले सुविधाका लागि फारम भरेकाले उनीहरुले अब परीक्षामा सहभागी हुने मौका गुमाउने भएका छन् ।

Comments: