२०७६ मंसिर २९ गते

एसईईमा लापरबाही : सैद्धान्तिकमा ई ग्रेड, प्रयोगात्मकमा शतप्रतिशत नम्बर

काठमाडौँ । एसईई परीक्षामा सामाजिक विषयमा सैद्धान्तिकतर्फ ग्रेड ‘ए’ अर्थात् ६५ अंक ल्याएकी विराटनगरकी एक छात्रालाई प्रयोगात्मकमा ‘ए प्लस’ अर्थात् २५ नम्बर दिइएको छ । सोही विषयको सैद्धान्तिक परीक्षामा ग्रेड ‘ई’ अर्थात् २० भन्दा कम अंक प्राप्त गर्ने धनकुटाका अर्का परीक्षार्थीलाई पनि प्रयोगात्मकमा २५ मा २५ नम्बर अर्थात् ‘ए प्लस’ ग्रेड दिइएको छ ।


सैद्धान्तिक ७५ र प्रयोगात्मक २५ गरी १०० पूर्णाङ्कको सामाजिक विषयको परीक्षाको यो एउटा उदाहरण मात्रै हो । परीक्षा नियन्त्रण कार्यालयसँग शिक्षकहरूले परीक्षार्थीलाई हचुवाका भरमा प्रयोगात्मकमा जथाभावी नम्बर दिएका हजारौं प्रमाण छन् । प्रयोगात्मक परीक्षा भएका विषयमा लापरबाहीपूर्ण तरिकाले शिक्षकहरूले नम्बर दिएका हुन् । ‘सैद्धान्तिकतर्फ १० नम्बर ल्याउने विद्यार्थीलाई प्रयोगात्मकमा पूर्णाङ्ककै नम्बर दिएको पनि भेटियो,’ कार्यालयका प्रवक्ता डिल्ली लुइँटेलले भने ।

कार्यालयले यस वर्षबाट गणितबाहेक सबै ७ वटा विषयमा प्रयोगात्मक परीक्षा पनि लिएको थियो । शिक्षकहरूले भने सैद्धान्तिकतर्फ न्यूनतम ग्रेड पनि प्राप्त नगरेका विद्यार्थीलाई प्रयोगात्मकतर्फ पूर्णाङ्क नम्बर ‘ए प्लस’ ग्रेड दिएका छन् । प्रयोगात्मक परीक्षामा अधिकांश विद्यार्थीलाई ए प्लस, ए, बी प्लस र बी ग्रेड दिइएको भेटिएको हो ।

नेपाली विषयमा सैद्धान्तिकतर्फ ‘डी’ ग्रेड (२० देखि ३०) अंक ल्याउने ओखलढुंगाका एक विद्यार्थीलाई २५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षामा ‘ए प्लस’ नम्बर दिइएको छ । अन्य विषयमा समेत सैद्धान्तिक नम्बर थोरै भए पनि प्रयोगात्मकतर्फ ‘ए प्लस’ ग्रेड कायम गरिएको छ । जसले गर्दा उनले प्राप्त गरेको कुल जीपीएमा नै फरक परेको छ । सैद्धान्तिकमा कम नम्बर प्राप्त गरे पनि प्रयोगात्मक नम्बरका कारण ग्रेडसिटमा उनी मध्यम विद्यार्थीका रूपमा दरिएका छन् । अधिकांश विद्यार्थीको नतिजाको प्रकार उनीहरूको जस्तै छ ।

सामुदायिकभन्दा निजी विद्यालयले नतिजा राम्रो देखाउन विद्यार्थीलाई पूर्णाङ्क दिएर पठाउने गरेका छन् । नतिजा प्रकाशनमा संलग्न परीक्षा नियन्त्रण कार्यालयका एक कर्मचारीले भने, ‘प्रयोगात्मक परीक्षामा पूर्णाङ्क नम्बर दिने सामुदायिकभन्दा निजी विद्यालय बढी छन् ।’ उनका अनुसार २५ पूर्णाङ्कमा २० भन्दा कम नम्बर ल्याउने विद्यार्थी ज्यादै न्यून छन् । ‘विद्यालयले कुन विषयमा के कस्तो प्रयोगात्मक परीक्षा गरे ? परीक्षा लिए कि लिएनन्, कुनै जानकारी छैन,’ उनले थपे, ‘नम्बर भने मनपरी तरिकाले दिइएको भेटियो ।’ कार्यालयका प्रवक्ता लुइँटेलका अनुसार प्रयोगात्मक परीक्षामा बढी नम्बर दिएका कारण गत वर्षको भन्दा एसईई परीक्षाको नतिजामा सुधार भएको देखिएको छ । सबै विषयमा गरेर कम्तीमा १७५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षामा पूर्णाङ्क नम्बर दिँदा नतिजा सुधार भएको देखिएको हो । जसका कारण यस वर्षको एसईई परीक्षाको नतिजामा ‘ई’ ग्रेड ल्याउने विद्यार्थीको संख्या ज्यादै न्यून छ ।

परीक्षा नियन्त्रण कार्यालयले प्रयोगात्मक परीक्षा सञ्चालन गरेर परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक पठाउन विषय शिक्षक र विद्यालयहरूलाई जिम्मेवारी दिएको थियो । विद्यालयको नतिजा सुधार भएको देखाउन जथाभावी नम्बर दिइएको लुइँटेलले बताए । ‘पहिलोपटक यसरी परीक्षा लिएका हौं, यसलाई सुधार गर्नुपर्ने देखियो,’ उनले भने । शिक्षकहरू जिम्मेवार नहुँदा एसईईको प्रयोगात्मक परीक्षामा जथाभावी नम्बर दिइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।

‘शिक्षकहरूले जिम्मेवारी बोध गर्न सकेनन्,’ उनले भने, ‘यस्तो पद्धति सुधार गरेर वैज्ञानिक ढंगबाट नम्बर दिने व्यवस्था लागू गर्नुपर्छ ।’ कक्षा ११ र १२ को परीक्षामा फेल हुने विद्यार्थीलाई पनि प्रयोगात्मक परीक्षामा पूर्णाङ्क दिएको भन्दै आलोचना भइरहेका बेला माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा पनि त्यस्तै प्रावधान लागू गरेको हो । कक्षा ११ र १२ को प्रयोगात्मक परीक्षा सुधार गर्न देशभरका शिक्षक र केन्द्राध्यक्षको गोष्ठी सञ्चालन गरिएको भन्दै पौडेलले बोर्डको बचाउ गरे । ‘प्रयोगात्मक परीक्षा सञ्चालन गर्न बाह्य निरीक्षक पठाउँदा पनि सुधार भएन,’ उनले भने, ‘वैज्ञानिक मापदण्ड लागू गर्नुपर्छ भनेर योजना बनाउँदै छौं ।’

परीक्षा नियन्त्रण कार्यालय र राष्ट्रिय परीक्षा बोर्ड शिक्षक र विद्यालयलाई दोष दिएर पन्छिएका हुन् । तर त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टंकनाथ धमलाले प्रयोगात्मक परीक्षा गर्न शिक्षकलाई मात्रै जिम्मेवारी दिने निर्णय नै गलत रहेको बताए । ‘सैद्धान्तिक नम्बरको ख्याल नगरी प्रयोगात्मकतर्फ जथाभावी नम्बर दिनु अत्यन्तै गलत हो,’ उनले भने, ‘शिक्षकलाई दोष दिनुभन्दा पनि एउटा गतिलो प्रणालीको विकास गर्नुपर्छ ।’ यदि शिक्षकलाई नै जिम्मेवारी दिने हो भने सैद्धान्तिक नम्बर हेरेर प्रयोगात्मक नम्बरमा घटबढ गर्ने प्रणाली विकास गर्न सकिने उनको तर्क छ ।

सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: