नसोचेको कुरा

एजुकेशन पाटी

Byएजुकेशन पाटी

११ श्रावण २०७७, आईतवार
चन्द्र कान्त पण्डित

प्रत्येक मानिस वाध्यताहरुको सागरमा डुबुल्की मारिरहेको हुन्छ । उ हरेक दिन आफु र आफ्नो परिवारलाई कसरी सुख र सम्वृद्धिको शिखरमा पुर्याई यश आरामको जीवन बिताउन सकिन्छ भन्ने सोचमा लागेको हुन्छ तर पनि उसले सोचे जस्तो सरल र सहज जीवन हुन सक्दैन । सँगै पढेको साथी अध्ययनमा अव्वल देखिन्छ, त्यही अनुसार विभिन्न परीक्षाहरु दिन्छ सफल हुन्छ, जेनतेन जीउने आधार खडा गरेको हुन्छ । त्यही ठाउँमा अर्को साथी हुन्छ, उ आफु समय बलवान छ भन्ने कुरा बिर्सन्छ, आफ्ना कमिकमजोरीलाई ढाक्दछ र आफु कमजोर भएको कुरा बिर्सन्छ, आफुले दिएको परीक्षाको नतिजा पनि बिर्सन्छ, सधै अरुलाई दोष दिन्छ, र त्यही दोष दिनमा उ हराउँछ र अन्तमा उ गन्तव्य बिहीन भइसकेको हुन्छ, समयले नेटो काटिसकेको हुन्छ, हिजो आफुले गरेको गलत निर्णयको भागिदार, अरुलाई बोकाउन खोज्छ, र गन्तव्य बिहिन यात्रामा हिड्न खोज्छ तर त्यही स्थानमा अर्को पात्र छ यद्दपि उसको पनि समयले नेटो काटेको छ, उसले यसलाई अवसरको रुपमा लिएको छ । आत्मवल दरो बनाएको छ र देखिएको चुनौतिलाई हाँस्दै स्वीकार गरेको छ । जो मानिस आफुलाई चिन्दछ र आफ्नो मूल्यांकन सही रुपमा गर्दछ, त्यही मानिसले दुखका क्षणमा पनि रमाउन सक्छ ।

हो प्रत्येक मानिसले बुझ्न सक्नुपर्छ, आफ्नो कारणले भएको निर्णयलाई अरुलाई दोष दिने काम सरासर गलत नै थियो । गलत बाटोबाट यात्रा शुरु गरेको मानिसको गन्तव्य नै अनिश्चित हुन्छ । आफु गन्तव्यहिन यात्रामा लाग्ने र गन्तव्यमा पुग्न सकिन भनेर अरुलाई दोष दिने काम गलत रह्यो वा सही आफ्नो अन्तर आत्मालाई सोध्नुहोला । ३० औं वर्ष अगाडि काठमाडौं छिरेको मानिस कहीं कतै जागिरमा अल्झन्छ, आफ्नो क्षमतालाई तिखार्न विर्सन्छ, शैक्षिक योग्यता यद्दपी कुनै स्थानमा प्रवेशको लागि दिइने प्रमाणपत्र मात्र हो तापनि समय समयमा यसले ठूलो भुमिका खेलेको हुन्छ, यसको पहिचान समयमा हुँदैन । आफैले क, ख सिकाएको वालक विद्यावारीधि लिइसकेको हुन्छ, उ आफुलाई विर्सन्छ र सगौरभ भन्ने गर्छ मेरो छोरा वा छोरी, भाइ वा विद्यार्थी वा अन्य केही । तर पनि उसलाई विगतमा गर्नु पर्ने समयको उपयोगको वारेमा यादै हुँदैन, आफुलाई तिखारेको हुदैन अनि उसैको सवैभन्दा नजिकको साथी, जहाँ उ छ नेतृत्वमा रहेको हुन्छ, तर पनि उसलाई अन्य थप जिम्मेवारी दिन सक्दैन । किनकि उ सँग हतियार छैन । विना हतियारको मानिस शिकार खेल्न सक्दैन । उ बिर्सन्छ, उसलाई उसैको साथीले धोका दियो भनेर ।

कस्तो दुर्भाग्य हुदोरहेछ, आत्मग्लानी पनि । नेतृत्वमा रहनु र नेतृत्वभन्दा बाहिर हुनुमा धेरै फरक पर्दोरहेछ । समयले मानिसलाई परिवर्तन गरिदिदोरहेछ । हिजोको दिनसम्म यसो गरेमा यो संस्था अगाडि बढ्छ, यो देशले फड्का मार्नसक्छ भन्नेहरु, परिवारका मान्छे भरिए भन्नेहरु पनि छेपारा बन्नमा ढिलो गर्दारहेनछन र विरोधमा नै आवाज उठाउँदा रहेछन् । सहीलाई सही भन्न नसक्नेहरुको जमात बढी नै हुदोरहेछ । सँगै छिरेको मानिस, एकै चोटी बाहिरिनुपर्दा पनि आफुलाई बढी घायल देख्दोरहेछ । सँगै एउटै टेवलमा चिया पिएको सहयात्रीलाई विर्सदोरहेछ । र उ सोच्न थाल्छ, अन्याय उसैलाई मात्र भएको छ भनेर । यति मात्र हो र उ भन्न थाल्दोरहेछ सवैकुरो यसैलाई दिए, सर्वोपरी ठाने, आज समयले नेटो काट्यो, कहाँ जाने विचल्लीमा परे । उ विर्सिरहेको छ उमेर छिप्पिएकाले पनि आफ्नो बाटो खोजे यात्रा शुरु गरे र हाँस्न थाले । भर्खरै भित्रिएकाले पनि आफ्नो अब्बलता देखाए र आफ्नो बाटो चुन्न सके । कुनै संघ, संस्थाले त्यही बस्नको लागि अनुरोध कहिल्यै गरेन । धान्न सक्ने अवस्थासम्म धान्यो, सहानुभुति पनि देखायो । विगतमा कहिल्यै नदेखाएको सहानुभुति अहिले देखायो तर पनि साधुवाद भन्नुको सट्टा सरापिन पर्दोरहेछ । आयोगमा भिडेर सरकारी जागिरेको पनि भर हुँदैन यदि उसले निर्दिष्ट गरेका कार्यहरु नगरेमा । संस्थाले दिएन भन्नुभन्दा संस्थाको लागि के दिए भनेर सोच्नु पर्ने पनि हो कि ।

कुनै संस्थाले संस्थाको हितको लागि गरिएको निर्णयलाई कुनै अमुक व्यक्ति तगारो बन्नु हुँदैन । चाहिने र नचाहिने दुवै थरिका व्यक्तिहरु हट्नुपर्दोरहेछ । प्रत्येक सम्वन्धित व्यक्तिले बुझ्न सक्नु पर्दोरहेछ । बुझ्नै पर्दछ कुनै मानिसले कसैलाई आरोप गनुभन्दा पहिले आरोपको लागि ठीक छ वा गलत । त्यो बुझ्न सक्नुपर्दछ । त्यही बुझाइले नै नयाँ बाटो खोजिरहेको हुन्छ । कुनै पनि वच्चालाई आमा वावुविनाको जीवन सम्भव छैन जस्तो लाग्छ तर त्यो होइन रहेछ भनेर विस्तारै बुझ्न थाल्दछ । कुनै व्यक्तिलाई कुनै संघ संस्थामा बस भनेर वाध्य पारेको हुँदैन । व्यक्ति पनि आफ्नो आवश्यकता पुरा गरेपछि छोडेर जान्छ ठीक त्यसरी नै संघ संस्थाले पनि आफुलाई नचाहिने जनशक्ति हटाउन सक्छ । एक पटक तगारो वनेर वस्नुभन्दा आफै प्रति, प्रति प्रश्न पनि गर्ने हो कि ? विद्यालयमा काम गरियो वच्चा अरुलाई दिइयो, वैंकमा काम गरियो ऋण वा वैंकको कारोवार अरुमा गरियो, कपडा उध्योगमा काम गरियो, कपडा वजारमा किनियो भने कतिको न्याय गरियो त्यतातिर पनि हेर्ने हो कि ।

ठीक त्यस्तै गरी आमा वावुलाई पनि आफ्ना सन्तान भविष्यका लागि जिउने आधार हुन । तर यथार्थतामा हामी जे सोचिरहेका छौ, त्यो चाहि व्यवहारिक जीवनमा मेल खादोरहेनछ । सन्तानको वाध्यता एकातिर, आमा वावुको सोच अर्कोतिर । मेरो बाले धर्ति छोडेको दुई दशक बितिसक्यो । आमा हुनुहुनुहुन्छ । उहाँलाई सहाराको आवश्यकता छ । बुझ्दछु । साथमा दाजुभाउजु पनि हुनुहुन्छ । उहाँको रेखदेखको लागि पनि समस्या छैन तर पनि विहान –आमा म गए साँझ आमाम म आए यति मात्र सुनाउन पाए पनि कति खुसी हुनेथियो होला त्यो बृद्ध शरीर भित्र बास गरेको आत्माले । तर समयले त्यो प्रदान गर्न सकेन किनकि म बेचिएको छु ज्यालाको लागि, म स्वतन्त्र छैन चाहेको समयमा मेरो खुशीले उपस्थिति जनाउन सक्दिन कहीँ पनि, मैले चाहेको सवै कुराहरु म गर्न सक्दिन किनकि पहिलो मेरो सानो परिवार छ डेरामा उनीहरुको जीउने हकको सुनिश्चितता दिनु छ, दोस्रो हाम्रो विद्यालय छ जहाँ सवैको आवाजको प्रतिनिधित्व गर्नु छ । हिजो शिक्षक हुँदा ४ वजेपछि घर फर्कन्थिए तर अहिले काम गर्दै जाँदा साँझको ७ वा साढे सात सामान्य हुन थालेको छ । त्यसैले मानिस स्वतन्त्रताको खोजिमा छ जुन असम्भव छ । हामी जे छौ,त्यो सव समयको उपज हो । समय वलवान छ र समयको चुनौतिलाई स्वीकार्दै हाँस्दै अगाडि बढ्नुपर्छ ।

तपाईंलाई जे अन्याय लागेको छ, अर्को आँखाबाट हेर्नुहोस्, सोच्नुहोस् र तपाईंभित्रको अन्तरआत्मालाई सोध्नुहोस् तपाइलाई अन्याय भएको हुँदैन । यदि तपाइले आफैलाई केन्द्रित पारेर हेर्न थाल्नुभयो भने तपाइले आफै माथि अन्याय गरेको ठहरिने छ । समाज हेनुहोस् । तपाइको अनुपस्थितिले तपाइले काम गरेको संस्थामा तपाइको कामको याद आउछ भने त्यो संस्थाले फेरी वोलाउन सक्छ । त्यो अवस्थामा आफुलाई राख्नुभएको छ कि छैन । कुनै समयमा गरिएको तपाइलाई लागेको गलत निर्णय तपाइको जीवन सवैभन्दा सुन्दर समय बन्न सक्ने छ किनकि तपाइ स्वतन्त्र हुनुभएको छ र यसले तपाइलाई आवश्यकताको पहिलोपटक महशुश गराएको छ । व्यक्तिको पछि लाग्नुको साटो आफ्नो शिपको वृद्धीतर्फ लाग्नु पर्छ र लाग्नुहोस् पनि । त्यो तपाइ भित्र लुकेको शिपलाई उजागर गर्नुहोस् । यहाँ एक रोचक घटना पस्कन चाहन्छु ।

एक दिनको कुरो हो कक्षामा एक शिक्षकले कक्षा १० का आफ्नो विद्यार्थीलाई दिइएको गृहकार्यमा आफ्नो १० वर्षको योजनाको वारेमा निवन्ध लेख भन्दा एक गरीब विद्यार्थी जसको गृहकार्य गर्नको लागि कपि हुँदैनथियो, उसले लेखेछन आउदो १० वर्षभित्रमा ५ उद्योगको मालिक जहाँ हजारौ मानिस काम गरुन, ५ रोपनी जग्गामा वनेको महल, ५ वटा महगां गाडि सर्व सम्पन्न परिवार हुनेछ भनि लेखेछन तर शिक्षकले पुनरलेखन गर्न लगाए तर उनले आमाको सल्लाह अनुसार पुनरलेखन गरेनन् र त्यसैलाई आफ्नो भावी योजना वनाए । दश वर्ष पनि विते । ती युवाले दश वर्षको समयमा सवै प्राप्ती गरेछन् । छैटौ उद्योग खोल्नेवेलामा उद्योग उद्यघाटनको लागि आफ्ना ती गुरु जसले उनको योजना पुनरलेखन गर्न लगाएका थिए उनैलाई बोलाए, दंग पर्दै निम्तो स्वकिारे तर सोच्न थाले को रहेछ मलाई यसरी स्थान दिएर मुख्य अतिथि वनाइ उद्योगको उदघाटन गराउन लगाउने । थाह पाएनन् । उद्योग उदघाटन पनि भयो । अन्तमा उनले गुरुलाई सम्झाएर भने गुरु म त्यही हजुरको आज्ञाको अवज्ञा गर्ने अटेरी विद्यार्थी जसले आफ्नो योजनाको वारेमा गुरुको अवज्ञा गरको थियो, त्यही हु, आज म माफी चाहन्छु । यति सुनेपछि गुरुका आँखा रसाए र सम्झिए ती हजारौ विद्यार्थीहरु जसको महत्वकांक्षालाई उजगार गर्न असफल भएका थिए ।

अन्तमा भन्नैपर्छ, एक ठाउँको विछोड विनासको लागि होइन, उन्नती र प्रगतिको लागि नै हो । नयाँ अवसरको खोजिको समय हो । छोरी बढ्छिन्, पढ्छिन्, ठुली हुन्छिन्, तर समय भएपछि उनलाई डोलिमा अन्माएर पठाइएको हुन्छ, अपवाद वाहेक सवैको जिन्दगी सहजै देख्छौ । तर यो त्या भन्दा सरल छ । सलाइ कोर्न नसक्ने हातहरु आज विभिन्न चुलोमा खाना पकाउन सफल भएका छन, लेख्न नजान्नेहरु कम्प्यूटमा खेल्ने भएका छन् । हिड्नेहरु गुड्ने भएका छन् । वास तपाइ ढुक्क हुनुहोस्, समयले तपाइलाई अवसर दिलाउने छ तर अवसरको खोजिमा जुट्नुहोला । जसरी नसोचेका दुखद क्षणहरु हातमा आइपर्छन्, त्यसरी नै अवसर पनि नसोचेकै रुपमा आउछन् । आशा गरौ र आशामा न जिऔं । यसैमा सवैको भलो हुनेछ ।

२०७७ ।०४।१० शनिबार बिहान ३ः३५

-निमित्त प्रधानाध्यापक
श्री पशुपति मित्र मा.वि. चाबहिल

प्रतिकृया दिनुहोस्