२०७६ कार्त्तिक २७ गते

चार दशकदेखि निरन्तर विव्यस अध्यक्ष

बागलुङ  । जिल्लाको निसीखोला–२ स्थित रत्नराज्य माविमा चार दशकयता थुप्रै विद्यार्थी फेरिए । शिक्षकको पनि एउटा पुस्तै फेरिइसक्यो । तर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भने ४३ वर्षदेखि एकै व्यक्ति छन् । अभिभावक नै हरेकपटक उनैलाई निर्विरोध अध्यक्ष चुन्छन् ।

२०३१ सालमा पहिलोचोटि अध्यक्ष बनेका स्थानीय भवीन्द्र कुँवर त्यसयता कहिल्यै टुटेका छैनन् । उक्त विद्यालय कुँवरका बुवाले २०२० सालमा सञ्चालनमा ल्याएका थिए । बुवाले जग्गादान गरेर खोलेको विद्यालयमा कुँवरले पनि आफ्नो सबैथोक अर्पिएका छन् । आफ्नो नाउँको २ रोपनी ८ आनाको २० मुरी धान आउने जमिनै विद्यालयका नाममा गरिदिए । शिक्षा नियमावलीमा तीन वर्षमा अध्यक्ष फेरिने प्रावधान रहे पनि कुँवरको योगदानकैकारण स्थानीय उनको विकल्पखोज्न चाहँदैनन् ।

समिति पुनर्गठन गर्ने समय आएपछि बस्ने हरेक भेलाले सर्वसम्मत अध्यक्ष चुनिरहेपछि काम नगरी सुखै नपाएको कुँवरले बताए । ‘मेरा छोराछोरी पढुन्जेल त अभिभावक थिएँ, अध्यक्ष बने पनि सुहायो,’ कुँवरले भने, ‘अहिले कोही छैनन् र पनि छोड्न पाएको छैन ।’ २०४९ सालमा गाविस उपाध्यक्ष हुँदा पनि विद्यालयको जिम्मेवारी छोड्न नपाएको बताए । उनकै पहलमा प्राथमिक तहको विद्यालय मावि बन्यो । अहिले विभिन्न दाता खोजेर झन्डै एक करोड रुपैयाँ लागतमा १० कोठे पक्की भवन बनाइएको छ । कुँवरले आमा कृष्णकुमारी, बुवा खलबहादुर, छोरा यामबहादुर र श्रीमती रुद्रमायाका नाममा जग्गादान गरेपछि १ लाख ११ हजार रुपैयाँका दरले दुईवटा अक्षयकोष पनि खोलिदिएका छन् । ‘जग्गा सहयोग गर्ने, भवन बनाउन रकम खोजिदिने र विद्यालय सुधारमा निरन्तर खटिदिने अध्यक्ष भएकै कारण हामीलाई सजिलो भएको छ,’ प्रधानाध्यापक भक्त केसीले भने, ‘अरूले दाबी पनि गरेका छैनन्, उहाँले निरन्तर सहयोग गरिरहनुभएको छ ।’ कुँवर परिवारबाटै अहिलेसम्म विद्यालयलाई करिब पाँच रोपनी जग्गा प्राप्त भइसकेको उनले बताए ।

एसएलसी उत्तीर्ण भएपछि राजनीतिमा लागेका कुँवर पञ्चायती शासकले पक्रन खोजेपछि उच्च शिक्षा अध्ययनका लागि जान पाएनन् । गाउँमै लुकेर बसे । त्यही क्रममा स्थानीयले विद्यालय सञ्चालनमा सघाउन आग्रह गरेपछि उनी खटिएर लागे । स्थापनाकालमा विद्यालयको अध्यक्ष उनकै बुवा थिए । सर्वसम्मत रूपमा उनी नजिकैको शिवशक्ति प्रावि र शिवशक्ति बालविकासको पनि अध्यक्ष छन् । निसीखोला गाउँ कार्यपालिकाको सदस्यसमेत छन् । विद्यालयलाई चाहिएको थप तीन रोपनी जमिन किन्दा पनि उनले सहयोग गरेको अभिभावक खिमबहादुर कुँवरले बताए । उनै गाविस उपाध्यक्ष भएकै समयदेखि संकलित रकमले विद्यालयमा ६० लाखको अक्षयकोष पनि जम्मा भएको छ ।

यो कोषबाट विद्यालयले मावि र निमावि तहका निजी स्रोतका ७ शिक्षकलाई तलब खुवाउँछन् । गाउँका मुद्दा मिलाएर आएको जरिवाना रकम विद्यालयको खातामा जम्मा गर्ने चलन कुँवरले बसालेका छन् । सशस्त्र द्वन्द्वमा उनको चल सम्पत्ति भने सबै लुटिएको थियो । ६ सय विद्यार्थी रहेको विद्यालयमा अहिले कम्प्युटर शिक्षा, अंग्रेजी माध्यमबाट पढाइ थालिएको कुँवरले बताए ।

प्रकाश बरालले कान्तिपुरमा लेखेको खबर

Comments: