२०७६ असोज २९ गते

श्रमिकका छोराछोरी सामुदायिकमा

अन्तैबाट

लमजुङ  । बेंसीसहरमा बजारबाट मनाङ जाने बाटोमाथि पर्छ चनौटेको ढाँडे गाउँ । गाउँमा तीन दशकदेखि सञ्चालित छ चनौटे प्रावि ।

चनौटे क्षेत्रभित्र ढाँडे, आलेगाउँ, राउतगाउँ जस्ता बस्ती छन् । तर, सामुदायिक विद्यालय मजदुरका छोराछोरीको भरमा चलेको छ । स्थानीयका सन्तान बोर्डिङ स्कुलमा पढ्छन् । कक्षा ३ सम्म पढाइ हुने चनौटे प्राविमा १९ जना बालबालिका छन् । मजदुरका छोराछोरीसँगै विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गा राउतकी छोरी, उनको देवरकी छोरी र अर्को एक स्थानीयकी छोरी पनि पढ्छन् । बाँकी १६ जना बाहिरबाट मजदुरी गर्न आएकाहरूका सन्तान रहेको प्रधानाध्यापक जानकी थापा पहाडीले बताइन् ।

गोरखा घर भई हाल चनौटे बस्दै आएकी उषा तामाङका अनुसार बजारबाट नजिकै भए पनि स्थानीयले आफ्नै गाउँको स्कुलमा बालबच्चा पढाएका छैनन् । ‘हामी त दिनभरि काम गर्नुपर्छ । यहींको स्कुलमा छोराछोरी नपठाई के गर्ने,’ उनले भनिन् । एक दशकदेखि चनौटे बस्दै आएकी धादिङका सुशीला तामाङले अभिभावकले नै आफ्ना बालबच्चालाई गाउँको स्कुल नलाने गरेको बताइन् । ‘यहाँकाले सन्तान बोर्डिङ पढाउँछन्, सरकारी स्कुलमा हाम्रा केटाकेटीमात्रै भए,’ उनले भनिन्, ‘हामी बोर्डिङमा पढाउन सक्दैनौं ।’

गाउँबाट १५ मिनेटदेखि आधा घण्टामा पुगिने बेंसीसहरको जनविकास मावि टाढा भएको र साना बालबालिकालाई असहज हुन्छ भन्ठानेर स्थानीयले २०४६ सालमा चनौटे प्रावि स्थापना गरेका थिए । त्यतिबेला गाउँलेले जग्गादान र श्रमदान गरी बनाएको स्कुललाई अहिले मजदुरका छोराछोरीले जोगाएको स्थानीय कृष्णबहादुर आलेले बताए । स्थानीयकै बेवास्तामा परेपछि विद्यालयमा सम्बद्ध निकायको पनि ध्यान पुगेको छैन ।

२०७२ वैशाख १२ को भूकम्पबाट विद्यालय भत्किएको थियो । पुनर्निर्माण भएको दुईकोठे भवनमा यतिबेला पढाइ हुन्छ । दुईजना शिक्षक र एक कार्यालयले सहयोगीले विद्यार्थीलाई सिकाउँदै आएका छन् । प्रधानाध्यापक पहाडीका अनुसार अहिलेको आवश्यकतालाई ध्यान दिँदै अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरिएको छ ।

कान्तिपुरमा खबर छ ।

Comments: