२०७६ कार्त्तिक २९ गते

आँगनमै शिक्षा कार्यालय, बालबालिकाले भने स्कुल टेक्दैनन्

सिरहा । जिल्ला शिक्षा कार्यालय सिरहाको मुख्यद्वारअगाडि मुसहर जातिको बाक्लो बस्ती छ । प्रत्येक वर्ष नयाँ शैक्षिक सत्र आएपछि विद्यालय भर्ना अभियान सञ्चालन हुन्छ । तर यो बस्तीका बालकालिका कहिल्यै विद्यालय जाँदैनन् ।

६० घर मुसहर परिवार रहेको बस्तीका ११ वर्ष उमेरका एक सय २३ जना बालबालिकाले अहिलेसम्म विद्यालय टेकेका छैनन् । शिक्षा कार्यालयअगाडि रहेको मुसहर बस्तीमा अहिलेसम्म कसैले पनि ५ कक्षा उत्तीर्ण गर्न नसकेको स्थानीय चलितर सदायले बताए । शिक्षा कार्यालयअगाडि रहेको बस्तीमा कसैको आँखा पुग्न नसकेको स्थानीय अशोक यादवले बताए ।

शिक्षा कार्यालय सिरहाले विद्यालय भर्ना अभियान अझै चलाइरहेको छ । कार्यालयको अनुहारअगाडिको मुसहर बस्तीका बालबालिका विद्यालय नगएको पत्तै छैन । ‘हामीलाई स्कुल जानुपर्छ भनेर कसैले भन्दैन,' १० वर्षीय धर्मेन्द्रकुमार सदायले भने । घर कुर्नु, साना भाइबहिनीलाई खेलाउनु र गाई, बाख्रा चराउँदैमा उनीहरूको दिन बित्छ । छोराछोरीलाई किन स्कुल नपठाएको भनी प्रश्न गर्दा बौका सदा भन्छन्, ‘सबैले सोध्छन्, छोराछोरीलाई स्कुल किन नपठाको भनेर तर कसैले देख्दैनन् किताब कापी नभएको ।' गरिबीका कारण छोराछोरीलाई विद्यालय पठाउन नसकेको अभिभावकको भनाइ छ ।

लालपुर १ स्थित मुसहर बस्तीमा विद्यालयको बलेसीबाट झरेको पानी बगेर पुग्छ तर त्यहाँका ५५ घर परिवारका एक सयभन्दा बढी विद्यालय उमेरका बालबालिका विद्यालय जानबाट वञ्चित छन् । औरही ८ स्थित प्राथमिक विद्यालयछेउकै मुसहर बस्तीका एक सय ५० बालबालिकाले विद्यालय टेकेका छैनन् ।

ऋषिकुल सदाय कल्याण समाजका अभियानकर्ता कप्लेस्वर सदाय भन्छन्, ‘सत प्रतिशत मुसहर जाति भूमिविहीन छन्, उनीहरू दैनिक न्यून ज्यालामा कृषि मजदुरको रूपमा काम गर्छन् । कसरी बालबालिकालाई पढाउन सक्छन् ?' विद्यालय खोलेर मात्र सरकारको शैक्षिक दायित्व पूरा नहुने उनको भनाइ छ । उनका अनुसार मुसहरजस्तो गरिब वर्गका बालबालिका पढाउने सम्पूर्ण जिम्मेवारी सरकारले बोक्नुपर्छ । सदायले जिल्लामा तीन सय ५८ मुसहर बस्ती रहेको र कुनै पनि बस्तीका मुसहर बालबालिका विद्यालय जान नसकेको बताए ।

स्थानीय जोगिया सदायका अनुसार आफ्नो जग्गाजमिन नभएकाले प्रत्येक बिहान उठेर कोही बजारमा त कोही मालिकको घरखेतमा काम गर्न जान्छन् । आआफ्ना बालबालिकालाई बच्चा खेलाउन र घरको हेरचाह गर्न दिनभरि घरमा राख्नुपर्ने यनीहरूको बाध्यता छ । ‘दैनिक मजदुरी नगरे पेटमा चारो कसरी हाल्ने ?' उनी प्रश्न गर्छन्, ‘ठूलाबडाका छोराछोरी मात्र पढ्छन्', गुलाबदेवी सदायले भनिन्, ‘हामी त ठूलाबडाको काम गर्ने हौं ।'

दलितले शिक्षा सम्बन्धी चेतना नभएर छोराछोरी पढाउन ध्यान नदिएका होइनन् । सिरहामा दुई लाखभन्दा बढी दलित जातिको बसोबास छ । त्यसमध्ये मुसहर जातिको जनसंख्या ७५ हजार जति रहेको ऋृषिकुल सदाय कल्याण समाज सिरहाले जनाएको छ ।
 
सरकारी मात्र होइन गैरसरकारी क्षेत्रबाट शैक्षिक उत्थानका लागि भएका प्रयास पनि प्रभावकारी हुन सकेको छैन । सेभ द चिल्ड्रेनको सहयोगमा इन्दे्रणी सेवा समाज जमदह नामक गैससले जिल्लाको उत्तरी क्षेत्रका १३ गाविसमा दलित बालबालिकालाई विद्यालय पठाउने उद्देश्यले आधारभूत प्राथमिक शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । तर विद्यालय जाने दलित बालबालिकाको संख्या बढ्न सकेको छैन ।

दलित जनकल्याण युवा क्लब लहानको सर्वेक्षणअनुसार सिरहामा मुसहर समुदायमा जम्मा चार प्रतिशत मात्र साक्षर छन् । जिल्लाका ५ जना मुसहर युवाले मात्र स्नातक उत्तीर्ण गरेका छन् । ९५ प्रतिशत मुसहर भूमिहीन छन् । उनीहरू मालिकले दिएको जग्गा वा ऐलानीमा घर बनाएर बसेका छन् ।
श्रमिक प्रावि असनपुरका प्रधानाध्यापक तुलाराम तामाङका अनुसार विद्यालय भर्ना अभियानअन्तर्गत भर्ना भएका बालबालिकामध्ये मुसहर बालबालिका पाँच प्रतिशत छन् ।

त्यसमध्ये पनि प्रावितह पार गर्दानगर्दै अधिकांशले पढाइ छोड्छन् । । मावि तहसम्म पुग्नेको संख्या औंलामा गन्नुपर्ने हुन्छ । स्थानीय दलित अधिकारकर्मी शिवकुमार रामका अनुसार पहिलो त उनीहरू कृषि मजदुरको रूपमा काम गर्ने भएकाले न्यून आय हुनु र बर्सेनी बच्चा जन्माउने कारणले पनि बालबालिकालाई विद्यालय पुर्‌याउन सकिरहेका छैनन् । उनीहरूका बालबालिकालाई विद्यालय पुर्‌याउन सरकारी स्तरबाट नया योजना ल्याउनुपर्छ । अन्नपुर्णपोष्टमा खवर छ ।

Comments: