२०७७ जेष्ठ १६ गते

बच्चालाई विद्यालय पठाउने कि खेदाउने ?

सुशील चापागाईं



हामी अभिभावक, चलाख बनाउने होडबाजीमा बच्चालाई अस्वस्थ र अप्राकृतिक बनाईरहेका छौं ।  ब्रह्माण्डमा हरेक कुराको आफ्नै नियम हुन्छ स्वभाविक प्रक्रिया हुन्छ । बच्चालाई स्वभाविक वृद्धि  र विकासको साटो उनीहरुलाई जबर्जस्ती किताब घोकाईरहेका छौं । हामी सबैमा आफ्नो बच्चालाई बाठो, सिपालु अनि चतुर बनाउने ब्यग्र चाहाना छ । त्यसैले हामी बालबालिकालाई सानै उमेरमा विद्यालय भर्ना गरिदिन्छौं ।


विद्यालयले पनि सानै उमेरमा  भर्ना गरोस् भन्ने अपेक्षा स्वरुप बिभिन्न भर्ना अभियानहरु सञ्चालन गर्छन् । अनेक प्रलोभनमा पार्छन् । प्रायः निजी विद्यालय  पैसा कमाउने उद्देश्यले खोलिएका छन् । सानो उमेरमा बच्चालाई विद्यालय भर्ना गर्दा विद्यार्थीमा पर्न सक्ने मनोबैज्ञानिक असर बारे हामी धेरैलाई थाहा छैन् ।

हामीलाई बच्चाले सानै उमेरमा  धेरै कुरा जानोस् भन्ने मात्र थाहा छ । कुनै समय अध्यापनको क्रममा एक अभिभावकले मसँग कुरा गर्दै भनेको सम्झन्छु उहाँ आफ्नो तीन बर्षको बच्चा विद्यालय जान नमान्ने अनि जबर्जस्ती विद्यालय पठाउने गरेको र बच्चा आधा रातमा बिउझिएर रुदँै ‘ ममि म भोलि स्कुल जान्न  नि ल ?’ भन्ने गरेको सुनाउनुहुन्थ्यो ।

बच्चालाई विद्यालय जानू को पीडा र तनाव ठुलो छ । यो त एउटा प्रतिनिधि परिदृश्य मात्र हो । यस्ता कयौं घटनाहरु गुपचुप छन् । हाम्रो बुझाईमा विद्यालयले बच्चालाई जान्ने, बुझ्ने, तिक्ष्ण बनाईदिन्छ । तर, हामी कहिल्यै सोच्दैनौ कि एउटा सिङ्गो कक्षामा प्रत्येक विद्यार्थीको  जिज्ञासा एउटामात्र शिक्षक वा शिक्षिकाले मेटाउन सक्दैन भनेर । बच्चाको विकास र सिकाइ कक्षाकोठाको चार दिवार भित्र मात्र सिमित छैन भन्ने कुरा हामी कहिले बुझ्ने ?

ज्ञान आर्जन गर्नको लागि बच्चालाई विद्यालय नै पठाउनु पर्छ भन्ने कुराको अन्त्य जबसम्म हुँदैन तब सम्म अल्बर्ट आईन्स्टाइन, थोमस एल्वा एडिसन जस्ता विश्वलाइ योगदान दिन सक्ने व्यक्ति हामीले पाउन सक्दैनौं । खेल्ने, रमाउने, घुम्फिर गर्ने उमेरमा स्कुल खेदाएर बच्चालाई हामीले शिक्षाको नाममा कैदी बनाईराखेका छौं । बच्चालाई कम उमेरमा विद्यालय पठाउनुको धेरै कारणहरु पाइन्छ समाजमा । कोहि अरुको बच्चाले आफ्नोले भन्दा धेरै र चाडो कुराहरु सिक्ने भयो भन्ने भाव, कसैलाई दिनभर स्याहारसुसार  गर्नुको बिकल्प लाग्दो होला  त कसैलाई पर्याप्त ज्ञानको अभाव ।  

यसो भनिरहँदा, बच्चालाई विद्यालय पठाउनै हुँदैन भन्न खोजेको होइन ।  औपचारिक शिक्षा चाँहिदैन भन्ने पनि होइन । तर, नेपालको शिक्षा प्रणाली, शिक्षण विधिको अवस्थालाई हेर्दा विद्यालयमा भन्दा घरमा बच्चाले धेरै कुरा सिक्न सक्छ ।

सानो उमेरमा बच्चाको शारीरिक र मानसिक विकास छिटो छिटो भइरहेको हुन्छ । तिब्र विकासको उमेरमा बच्चालाई सिर्जनात्मक हुन दिनुपर्छ । विद्यालयमा विद्यार्थीहरु निश्चित पाठ्यक्रममा आधारित निर्धारित पाठहरु घोक्न बाध्य हुँदा उनीहरुमा विद्यालय र शिक्षक प्रति नकरात्मकता बढेर जान्छ । फलस्वरूप विद्यालय जान नमान्ने, रुने  जस्ता परिस्थिति जन्मिन्छन् ।

हामी सबै अभिभावकलाई आफ्नो बच्चा सफल बनाउनु छ । यसको नतिजा भोग्न हामी विवस छौं । देशमा भ्रष्टाचार ब्याप्त छ । हामीले आफ्ना सन्तानलाई सफल बनायौं तर असल बनाउन  सकेनौं ।

बच्चाहरु ज्बर्जस्ती विद्यालय त जान्छन् बल्ल–तल्ल बानी पनि हुन्छ त्यसपछि विद्यालयको नियमित परीक्षा भुत बनेर आउँछ उनीहरुको जीवनमा । अभिभावकको लागि उत्कृष्ट नतिजा ल्याइदिनु छ ।  फलानोको छोरालाई जित्नु छ ।

सन्सारकै उत्कृष्ट शिक्षा प्रणाली रहेको फिनल्यान्डमा निश्चित मापदण्ड तोकिएको परीक्षा प्रणाली छैन । वास्तवमा परीक्षा भनेको के सिक्यो मात्र नभएर कसरी सिक्यो पनि हो । विद्यार्थीको घोक्ने क्षमता मापन गरेर सफल र असफल विद्यार्थी छुट्याउन विवश हाम्रो देशको शिक्षामा समानता र समता कहिले आउला ?

हाम्रो विद्यालयहरुले बच्चालाई परीक्षामा अरुलाई हराउदै उत्कृष्ट अङ्क ल्याउन प्रतिस्पर्धाको लागि प्रोत्साहन गर्छ ।  जित्नको लागि अरुलाई हराउनै पर्छ भन्ने छैन भन्ने हामीले बुझेका छैनौं । सबैले सँगै जित्न सकिन्छ भन्ने कुरा कहिल्यै सिकाएनौं । विद्यालयले प्रतिस्पर्धा होइन सहयोग गर्न सिकाओस् ।



Comments: